राष्ट्र हितमा समर्पित

बम बिस्फोटमा परि नेपाल प्रहरी र म्यादी प्रहरी घाइते

बुधवार, १३ मंसिर 8:26 AM

तुलसीपुरमा मंगलबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने सभालाई लक्षित गरी बम विस्फोट हुँदा म्यादी प्रहरीसहित नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।
देउवा हेलिकोप्टरबाट टरिगाउँ विमानस्थलमा अवतरण गरी गाडीमा सभालाई सम्बोधन गर्न जाँदै गर्दा तुलसीपुर उपमहानगरपालिका–५ घ लाईनमा बम विस्फोट भएको थियो । सभास्थल अरनीको मैदान विस्फोट भएको ठाउँबाट करिब ५ सय मिटर टाढा थियो । विस्फोटपछि देउवा हतार हतार सम्बोधन गरी हिँडेका थिए । विस्फोटबाट म्यादी प्रहरी तुलसीपुर–१२ उरहरीका २३ वर्षीय विनोद चौधरी, सर्वसाधारण १९ वर्षीय विनोद चौधरी, तुलसीपुर–७ डाँडापातुकी २२ वर्षीया जेनी डिसी, तुलसीपुर–१७ मानपुरका ४० वर्षीय बोमराज सुनार, शान्तिनगर गाउँपालिका–२ अमुवाका ५० वर्षीय हिमलाल राम्जाली, बबई गाउँपालिका–६ पञ्चकुलेका ३६ वर्षीय नेपबहादुर खत्री, बबई–६ बुड्कवाकी १८ वर्षीया सुनिता चौधरी, बागचौर नगरपालिका–२ थारमारे सल्यानकी ४० वर्षीया देवी डीसी र सल्यान ढोरचौर गाउँपालिका–२ चाख्लीघाटकी ४५ वर्षीया नरभूमी बुढाथोकी घाइते भएका छन् ।
गम्भीर घाइते म्यादी प्रहरी चौधरीका साथै सर्वसाधारण नेपबहादुर खत्री, जेनी डिसी र देवी डिसीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेहरुको अञ्चल अस्पताल तुलसीपुरमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । केही अपरिचित व्यक्ती ग्रिनेट बम फालेर भागेको प्रहरीले जनाएको छ । घटनापछि तुलसीपुरमा व्यापक सुरक्षाकर्मी परिचालन भएका छन् । घटनाबारे अनुसन्धान गरी बम विस्फोट गराउनेको तीव्ररुपमा खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताएकी छिन् ।