राष्ट्र हितमा समर्पित

किन गर्नु भयो ओलीले ग्रेटर नेपालको उपेक्षा ।

बुधवार, १३ मंसिर 10:01 AM

फणीन्द्र नेपाल

नेकपा ( एमाले ) निकट एकजना चर्चित पत्रकारबाट नेकपा ( एमाले ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के पी शर्मा अोलीसँग भेट्नका निम्ति सम्पर्क व्यक्ति फेला परेपछि उहाँले दिएको समय हिजो मङ्सिर १२ गते मङ्गलबार म दिनको १:०० बजे लगनखेल बसपार्कमा अायोजित वामगठबन्धनको अामसभा स्थलमा पुगेँ । त्यहाँ पुग्नेबित्तिकै सम्पर्क व्यक्तिलाई त्यहाँ पुगिसकेको जानकारी गराएँ । उहाँले अाफूहरू त्यहाँ अाइपुग्न लागेको बताउनुभयो ।


दिउँसो १:०० बजे वाम गठबन्धनको अामसभा सुरु हुने भएकाले त्यहाँ उभिएरै पर्खनुको विकल्प थिएन । पर्खिने क्रम लम्बिँदै गएकाले मैले बिचमा पनि फ‍ोन सम्पर्क गरिरहेँ । तर २:३५ बजेसम्म पनि अामसभाका प्रमुख अतिथिसमेत रहनुभएका अध्यक्ष अोली अाइनपुगेपछि ३:०० बजे नयाँ वानेश्वरको अर्को अामसभामा उहाँ जाने कार्यक्रम रहेको थाहा पाएकाले अब यता नअाई वानेश्वरतिरै जानुहुने रहेछ भन्ने लागेर म त्यहाँबाट के हिँड्न लागेको थिएँ उहाँ गाडीबाट झर्नुभयो ।


सभास्थल प्रवेश गरेको केही बेरमै मैले सम्पर्क अधिकृतलाई अाफू पर्खेर बसिरहेको जानकारी गराएँ । त्यतिबेला पनि उहाँले `हुन्छ म मिलाउँछु´ भन्नुभयो । केपी अोलीलाई सम्बोधन भाषणका निम्ति बोलाइयो । भाषणपछि भेट्ने व्यवस्था मिलाइएको होला भन्ने लाग्यो तर भाषणको समापनपछि तत्कालै बानेश्वरको कार्यक्रमका लागि प्रस्थान गर्नुभयो ।

म त तीनछक परेँ । बिहानदेखि दिउँँ सोको २:४० सम्म गरी मैले ६ पटक सम्पर्क गर्दा भेट्न संभव छैन भन्ने खबर पाएको भए म बाटो लागिहाल्थेँ । सम्पर्क अधिकृतले अध्यक्षसँग परामर्श नगरी भेट्ने समय दिएको त होइन होला ।

म के पी शर्मा अोलीलाई ग्रेटर नेपालबारे ज्ञापनपत्र बुझाउने प्रयोजन लिएर त्यहाँ गएको थिएँ ।

 

मैले उभिई उभिई करिब ३ घन्टा अध्यक्ष अोलीलाई पर्खिएँ अनि उहाँले भेट्न अस्वीकार गरेपछि नेपालका अधिकांश नेताहरूका निम्ति ग्रेटर नेपाल त डरलाग्दो हाउगुजी पो बनिसकेको रहेछ भन्ने सोचेर मनमनै हाँस्तै घर फर्किएँ ।

म हिजो यो देशका पूर्व प्रधानमन्त्री तथा नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा अोलीलाई भेट्तै छु भनेर गएको थिएँ तर यो देशका जनताले सबैभन्दा ठूलो राष्ट्रवादी व्यक्ति मानेको फणीन्द्र नेपाल मलाई भेट्न अाएको हो भन्ने उहाँलाई लागेनछ ।

स्रोत: फणीन्द्र नेपालको फेसबुकबाट