राष्ट्र हितमा समर्पित

राष्ट्रपतिले राष्ट्रिय सभा अध्यादेशको विषयमा अझै छ्लफल गर्ने ।

आइतवार, ९ पौष 7:46 AM

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा अध्यादेशको विषयमा केन्द्रित दलहरुसँग परामर्श गर्न लागेको बताईन्छ । शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उक्त अध्यादेशबारे आश्वस्त तुल्याएको सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले बताइरहेका बेला राष्ट्रपतिले थप परामर्श गर्न लागेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

सरकारले उक्त अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेश गरेको दुई महिना भन्दा बढी भइसकेको छ।

सत्तारुढ कांग्रेस र एमालेबीच विवाद चर्किरहंदा उक्त अध्यादेशबारे राष्ट्रपति कार्यालय सहमतिमा जोड दिंदै त्यसबारे टुंगोमा पुगेको छैन । राष्ट्रपतिले एमाले, कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफल गरिसकेकी छन्
हालैको चुनावबाट राष्ट्रिय पार्टी बनेका पाँच दलमध्ये तीन दलसँग परामर्श गरिसकेकोले बाँकी रहेका तराईकेन्द्रित दलहरुसँग राष्ट्रपतिले परामर्श गर्ने उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बीबीसीलाई बताए।

उनले भने, ”राजनीतिक दलबीच विवाद नहोस् र सबैमा समझदारी कायम हुँदै मुलुक एउटा निष्कर्षतर्फ लागोस् भन्ने राष्ट्रपतिको चाहना छ। सोही बमोजिम बाँकी रहेका राजनीतिक दलसँगपनि उहाँले परामर्श गर्नुहुन्छ। आवश्यक पर्दा अन्य विज्ञसँगपनि परामर्श गरेर एउटा टुङ्गोमा पुग्ने मनस्थितिमा राष्ट्रपति हुनुहुन्छ।”

सो क्रममा आइतवार राष्ट्रपतिले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्ने बताइएको छ। उक्त दल र राष्ट्रिय जनता पार्टी नेपाल कांग्रेसकै जस्तै धारणा राख्दै अहिलेकै अवस्थामा अध्यादेश जारी हुनुपर्ने पक्षमा देखिएका छन्।

यसअघि शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवा कानुनमन्त्रीका साथै पार्टीका अन्य नेताहरु लिएर राष्ट्रपतिलाई भेट्न पुगेका थिए। उनीहरुले राष्ट्रपतिले अध्यादेश र सरकार गठनका विभिन्न पक्षबारे जिज्ञासा राखेको र गतिरोध अन्त्यका लागि राष्ट्रपति आश्वस्त भएको बताएका थिए ।