राष्ट्र हितमा समर्पित

रुदी खोलाको उत्पादन फागुनदेखि

आइतवार, ९ पौष 10:08 PM

कास्की र लमजुङको सिमानामा रहेको रुदीखोलामा निर्माणाधीन ८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजनामा फागुनदेखि विद्युत् उत्पादन हुने भएको छ।
‘निर्माणको काम झन्डै ९० प्रतिशत सकिएको अवस्था छ,’ आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर इन्जिनियर सरोज भट्टराईले भन्नुभयो। उहाँका अनुसार पावरहाउसको सिभिल स्ट्रक्चर (भौतिक संरचना) निर्माण कार्य लगभग सकिएको छ। इलेक्ट्रोमेकानिकलतर्फ टर्बाइन र जेनेरेटरको जडान थालिएको छ।
बाँधको निर्माणकार्य ८५ प्रतिशत सकिएको छ। पेनस्टक पाइप जडानको कार्य अन्तिम चरणमा पुगेको छ। लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ सिङ्दी र कास्कीको मादी गाउँपालिका ८ सिङ्दीबेंसीमा डयाम (बाँध) निर्माण गरिएको छ। उक्त ठाउँबाट ६ किमिको पेनस्टकबाट पानी ल्याएर मादी ९ बालुवाबेंसीमा निर्माण गरिएको पावरहाउसमा पानी ल्याई विद्युत् उत्पादन गरिनेछ। पेनस्टक जडान गर्न अब करिब १ किमि मात्रै बाँकी छ।
आयोजनाको सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन, हाइड्रोमेकानिकलतर्फ नर्थ हाइड्रो एन्ड इन्जिनियरिङ र इलेक्ट्रोमेकानिकलतर्फ तोसिबा प्लान्ट सिस्टम एन्ड सर्भिस कर्पोरेसनले निर्माण गरिरहेको छ। आयोजनाले मादी गाउँपालिका ९ मुंग्रीबेंसीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनसम्म ३.८ किमि लामो ३३ केभीको डबल सर्किट ट्रान्समिसन लाइन आफैं निर्माण गरेको छ। उक्त ट्रान्समिसन लाइनको ५ सय मिटर तार टाँग्न मात्रै बाँकी रहेको भट्टराईले बताउनुभयो। ‘इलेक्ट्रोमेकानिकलको काम गर्न बढीमा ३ महिना लाग्ने भएकाले हामी फागुन महिनाभित्रै विद्युत् उत्पादन गरिसक्छौं,’ उहाँले भन्नुभियो, ‘अन्य काम अबको २ महिला आसपास सबै पूरा हुन्छ।’