राष्ट्र हितमा समर्पित

कांग्रेसमा महासमिति बोलाउन माग

सोमवार, १७ पौष 8:32 AM

काठमडौं । नेपाली कांग्रेसका सात युवा नेताहरुले तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन् ।
जननायक वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पुस १६ कै दिन पारेर चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापासहितका सात युवा नेताले पाँचबुँदे संयुक्त वक्तव्य जारी गरेका हुन् ।
सात नेताले स्वतन्त्र र निश्पक्ष निर्वाचन गरेकोमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । तर, निर्वाचन परीणाम कांग्रेसका लागि दुःखद भएको वक्तव्यमा उल्लेख छ ।
नेपाली जनताको अपार स्नेह, विश्वास र समर्थन हुँदा हुँदै परीणाम किन यस्तो आयो ? यस विषयले गहिरो चिन्ता छाएको छ, सात नेताले पार्टी नेतृत्वप्रति प्रश्न गरेका छन्, हाम्रो कमजारी कहाँ भयो ? निर्वाचनको सम्भावित परीणामबारे पूर्वआभार हुँदा हुँदै नेतृत्व किन समयमै सचेत हुन सकेन ?

निर्वाचनका क्रममा विपक्षीले लगाएका आरोपको प्रतिवाद गर्न नसकेको भन्दै नेताहरुले पार्टी नेतृत्वको सरकारको कामकारबाही र गठबन्धनबारे पनि प्रश्न गरेका छन् । सात युवा नेताले भनेका छन्, हामीले गरेको भनिएको लोकतान्त्रिक गठबन्धनलाई किन राष्ट्रब्यापी, भरपर्दो र कसिलो बनाउन सकिएन ?

यस्तै थुप्रै प्रश्नहरु रहेको भन्दै सात नेताले चुनावको गम्भीर र निर्मम समिक्षाका लागि तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन माग गरेका छन् ।
आजका चुनौतीहरु सामना गर्न कांग्रेसमा गम्भीर आत्मचिन्तन र विशेष तयारी आवश्यक रहेको युवा नेताहरुको ठहर छ । यसका लागि पार्टीभित्र बृहत्तर एकताको सुत्रमा बाँधनुपर्छ । पार्टीका साथीहरुलाई न्यायको अनुभूति दिलाउन सक्नुपर्छ , उनीहरुले भनेका छन् ।
आपसी दोष, गुटगत भावना र आग्रह पूर्वाग्रहबाट माथि उठेर सुदृढ र आधुनिक कांग्रेसको बलियो आधारशीला खडा गर्ने संकल्प गर्नु पर्ने समेत युवा नेताहरुको ठहर छ ।