राष्ट्र हितमा समर्पित

राप्रपालाई पुर्व पन्चहरुको ब्रान्डबाट मुक्त गर्न पार्टीको नाम नै परिवर्तन गर्नु पर्छ: अध्यक्ष रिमाल

मङ्गलवार, १८ पौष 9:43 PM

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमालले हालै सम्पन्न निर्वाचनमा पार्टीको लज्जास्पद हार भएको हुँदा अब पार्टीलाई नयाँ रणनीतिद्वारा अघि लान राप्रपालाई पुर्व पन्चहरुको ब्रान्डबाट मुक्त गर्नु पर्ने बताए । उनले यसका लागी पार्टी नाम नै परिवर्तन गर्नु पर्ने प्रस्ताव केन्द्रिय समितिको बैठकमा राख्ने जानकारी दिएका छन् ।
पार्टीको केन्द्रिय सम्पादन समितिको कार्य निति, कार्यशैली र कार्ययोजना असफल भएको भन्दै पार्टीको केन्द्रिय सम्पादन समिति पनि भंग गर्नुपर्ने माग युवा संगठनको तर्फबाट रिमालले राख्ने भएका छन् ।


पार्टी कार्यालय धुम्बाराहीमा आज युवा संगठनका अध्यक्ष प्रकाश रिमाको अध्यक्षतामा बसेको युवा संगठनको बैठकले निर्वाचनको परिणामलाई समिक्षा गर्दै पुष १९ गतेदेखि हुने पार्टीको केन्द्रिय समिति बैठकमा उक्त विचारहरु राख्ने बताईएको छ ।
संगठनको तर्फबाट केन्द्रिय बैठकमा युवा संगठनका अध्यक्ष तथा पार्टीका केन्द्रिय सदस्य समेत रहेका रिमालले हालै सम्पन्न निर्वाचनमा ३ प्रतिशत नल्याउने क्षेत्र तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य तथा केन्द्रिय पदाधिकारीहरुलाई तत्काल जिम्मेवारीबाट मुक्त गर्नु पर्ने, ३ प्रतिशत नल्याउने जिल्ला कार्यसमितिलाई तत्काल विघटन गर्नु पर्ने तथा ३ प्रतिशत मत नल्याउने संसद तथा मन्त्रीलाई प्रमुख जिम्मेवारीबाट मुक्त गर्नु पर्ने गरि बैठकमा माग राख्ने बताए । युवा संगठनको बैठकमा उठेका विषयलाई समेत रिमालले केन्द्रिय बैठकमा राख्ने बताएका छन् ।


त्यस्तै गत स्थानीय निर्वाचनमा उमेदवारी दिन नसक्ने केन्द्रिय सदस्यलाई पद मुक्त गर्नु पर्ने, राप्रपा पार्टी पुर्व पन्चहरुको ब्राण्डको रुपमा रहेको र पन्चहरु मिल्न सक्दैन भन्ने सन्देश पटक पटक गएको हुँदा पार्टीको नाम समेत परिवर्तन गर्नु पर्ने जस्ता प्रस्ताव समेत राख्ने बताए ।
पार्टी भित्र व्यापक सुधार नगरे पार्टी नै समाप्त हुने हुँदा नेतृत्व तहमा पुर्व पन्चहरु रहेको र उमेर तथा दम्भका कारण प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको हुँदा केन्द्रिय सम्पादन समितिमा ५० बर्ष भन्दा मुनीको ४० प्रतिशत युवालाई प्रतिनिधित्व गराउनु पर्ने तथा वर्तमान सन्दर्भमा पार्टी नेतृत्वप्रती अविश्वास बढेको, सत्ता लिप्साको आरोप लागेको हुँदा पार्टीको एजेन्डा प्राप्ति नभएसम्म वा पार्टीले नै नेतृत्व गर्न सक्ने अवस्था नबनेसम्म सरकारमा नजाने प्रतिबद्धता समेत व्यक्त गरि जनविश्वास र कार्यकर्ताको भावनालाई जित्नु पर्ने बताए ।
साथै रिमालले पार्टीले धार्मिक संघ संगठन तथा राजावादीहरुसग छ्लफल गरि विश्वास जित्ने र उक्त क्षेत्रका आफ्नो पार्टी हो भन्ने आवश दिलाउने गरि निर्णय गर्नु पर्ने र वर्गीय संगठनहरु नाम मात्र भएको हुँदा काम समेत गर्ने गरि जिम्मेवारी तोक्ने, जिम्मेवारी पुरा नगर्नेलाई तत्काल पद मुक्त गर्ने विचार र प्रस्ताव केन्द्रिय समिति बैठकमा राख्ने राष्ट्रिय समाचारलाई बताए ।