राष्ट्र हितमा समर्पित

भारतले फेरी नेपालको सिमा अतिक्रमण गर्‍यो

बिहिवार, २० पौष 8:04 PM

सीमावर्ती जिल्ला झापामा सीमास्तम्भ उखेलेर नेपाली भूमि तीव्र दरले अतिक्रमण भइरहेको पाइएको छ । दशकअघिको तथ्यांकले १९ वटा स्तम्भ हराएको देखाएकामा अहिले त्यो संख्या १ सय ९४ पुगेको छ ।

नेपाल–भारत सीमाअन्तर्गत झापा जिल्लाको सीमारेखा १ सय ४६ किमि छ । यो दूरीमा रहेका तीन प्रकारका सीमास्तम्भ हराउने क्रम बढिरहेको नापी विभागका पूर्वमहानिर्देशक सीमाविद् बुद्धिनारायण श्रेष्ठले जनाए । सीमामा मुख्य, सहायक र सानो गरी तीन किसिमका स्तम्भ छन् । सीमा सुरक्षा कार्यालय झापाका अनुसार मुख्य स्तम्भ ७६, सहायक स्तम्भ १ सय २१ र सानो स्तम्भ ७ सय १ वटा गरी ८ सय ९८ वटा रहेकामा १ सय ९४ वटा हराएका हुन् । तिनमा मुख्य ५, सहायक २३ र सानो स्तम्भ १ सय ६६ वटा छन् । एकदेखि दुई किमि दूरीमा रहेका मुख्यस्तम्भ भारतीय पक्षले जबर्जस्ती सार्ने गरेको श्रेष्ठको आरोप छ ।

जिल्लाका स्तम्भमध्ये ३ सय ४१ वटा मात्र सग्लो रहेको सीमा सुरक्षा कार्यालय, झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए । त्यस्तै, ३ सय ३४ वटा मर्मत र २९ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थाका छन् । अढाई वर्षयता क्षेत्र छुट्टयाएर स्तम्भ मर्मत भइरहेको सीमाविद् श्रेष्ठले बताए । भारतले जोर अंक र नेपालले बिजोर अंकका स्तम्भ मर्मत गर्ने र बनाउने सहमति छ । झापामा दुई सातापछि काम सुरु गरिने कार्यालयले जनाएको छ ।

बाहुनडाँगीका १७, १८ र २८ नम्बर, मेचीनगरका ४६ र ५३, ज्यामिरगढीका ५५, ६७, ७०, ९२, ९४ र ९५ तथा भद्रपुरका ११२ र ११३ नम्बरका स्तम्भ हराएका छन् । त्यस्तै, महेशपुरको १०२, पाठामारीको १०९, घेराबारीको १२७, महाभाराको १३८, कोरोबारीको १४५ र खजुगाछीको १५२ नम्बर स्तम्भ अहिले देखिँदैनन् । श्रेष्ठका अनुसार बाहुनडाँगीदेखि भद्रपुरसम्म सीमास्तम्भको नम्बर १७ देखि १२० सम्म छ । महेशपुरबाट १०१ बाट सुरु गरी मोरङको सिमानासम्म १५२ नम्बरसम्म छ । अधिकांश स्तम्भ खोलाले बगाएको तथा भारतीयले उखेलेको स्थानीय बताउँछन् ।

२६१ बिघा मिचियो

झापासँग सीमा जोडिएको क्षेत्रमा २ सय ६१ बिघा अर्थात् १ सय ७४ हेक्टर भूमि अतिक्रमण भइसकेको सीमाविद् श्रेष्ठले जनाए । देशका ७१ ठाउँमा गरी ६ सय ६ वर्गकिमि मिचिएको छ । सीमावर्ती बासिन्दाका अनुसार जग्गाको लालपुर्जा आफूसँग रहे पनि खेती भने भारतीय नागरिकले गर्दै आएका छन् । भारतले झापाका ८ स्थानमा भूमि मिचेको प्रस्टै थाहा हुने श्रेष्ठको भनाइ छ । उनका अनुसार मेची नदी र भद्रपुर मावि नजिकको १ नम्बर जंगे पिल्लरलाई मुख्य स्तम्भ मान्न भारत तयार छैन । यसो हुँदा २७ हेक्टर जमिन अतिक्रमणमा परेको छ । ‘त्यत्रो ठूलो खम्बालाई मेन पिलर होइन भन्नु विडम्बनापूर्ण छ,’ श्रेष्ठले भने, ‘यसैबाट भारतले हाम्रो जमिन मिच्छ र मिचेको छ भन्ने पुष्टि हुन्छ ।’

त्यस्तै, कोरोबारी २ र ४ नम्बर वडामा रहेको १४० नम्बरको सीमास्तम्भ सारेर भारतले ४१ हेक्टर जमिन आफ्नोतिर पारेको छ । पाठामारीमा नयाँ सीमास्तम्भ गाढेर १० हेक्टर, महेशपुर २ डोलगाउँपूर्व १० हेक्टर, ज्यामिरगढी १ र २ क्षेत्रमा १० हेक्टर, मेचीनगर ११ मा ४१ हेक्टर जमिन भारतले अतिक्रमण गरेको श्रेष्ठले बताए । मेचीनगर नकलबन्दा क्षेत्रमा ४६ नम्बर जंगे पिल्लर छेउ १५ हेक्टर र बाहुनडाँगीको पाटापुर क्षेत्रमा २० हेक्टर मिचिएको छ । ‘अन्यत्र पनि भूमि मिचिएको हुन सक्छ,’ श्रेष्ठले भने, ‘मैले नक्साका आधारमा जमिन भिडाउँदा झापामा १ सय ७४ हेक्टर मिचिएको पाएँ ।’ मेची नदी किनारको क्षेत्र बढी विवादित रहेको उनको भनाइ छ । महेशपुर २ मा रहेको २ नम्बर जंगे पिल्लर जीर्ण भइसकेको छ । त्यस क्षेत्रमा नेपाली भूमि मिचेर भारतले ७ वर्षअगाडि इन्दिरा आवास योजना बनाएको श्रेष्ठले बताए । झापाका अतिक्रमित भूभागको जग्गादर्ता प्रमाणपत्र झन्डै ६५ नेपाली परिवारसँग रहे पनि जोतभोग गर्नबाट वञ्चित छन् ।

अधिकांश सीमा नाकामा भारतीय सीमा सुरक्षा बल जंगे पिल्लरसँगै ‘नो मेन्स लेन्ड’ क्षेत्रभित्र पोस्ट बनाएर बसेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि देशका नागरिक ‘नो मेन्स लेन्ड’ भित्र बस्न मिल्दैन । झापाका केही दसगजा क्षेत्रभित्रै भारतीय बस्दै आएकाले जिल्लाको क्षेत्रफल खुम्चिने क्रममा रहेको पीडित बताउँछन् । जिल्लाको कुल क्षेत्रफल १ हजार ६ सय ६ वर्ग किमि रहेकामा पुन: रेखांकन गर्दा घट्ने सम्भावना रहेको एक सर्भेयरले जनाए ।

२०४५ सालमा खोला, नदी जता बगे पनि सिमाना स्थायी मान्नुपर्ने र विवाद स्थायी रूपमै समाधान गर्ने दुई देशबीच समझदारी थियो । तर, भौगोलिक हिसाबले नदी पश्चिमतिर सर्दै आएपछि सीमा मिचिने क्रम तीव्र छ । सीमा विवाद बल्झिँदै जाँदा २०५३ मा मेचीदेखि महाकालीसम्म नयाँ स्तम्भ निर्माण र भत्किएकाको मर्मत गरी व्यवस्थित पारे पनि भारतले अतिक्रमण नरोकेको श्रेष्ठको भनाइ छ ।
ई-कान्तिपुरबाट