राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राप्रपा केन्द्रिय बैठकले सुझाव पेश गर्न समिति गठन गर्‍यो

शुक्रवार, २१ पौष २०७४ २०:३५

राप्रपाले चुनावमा पार्टीको अप्रत्याशित परिणामको कारण र आधारबारे विस्तृत अध्ययन अनुसन्धान गरी भविष्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न समिती गठन गरेको छ ।

गत पुष १९ गतेदेखि काठमाडौंमा बसेको केन्द्रिय समिती बैठकले डाक्टर विष्णु भण्डारीको संयोजकत्वमा निर्वाचन समीक्षा तथा अध्ययन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य गोविन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धनबहादुर बुढा, प्रकाश रिमाल, विजयलक्ष्मी सिंह र श्याम शाही सदस्य हुनुहुन्छ ।
राप्रपाको सम्पन्न केन्द्रिय बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार कम उठाउनु, संविधान संशोधनबारे पार्टीले स्पष्ट अडान लिन नसक्नु लगायतलाई पनि चुनावी हारको कारण मानेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति पार्टी विरुद्ध लाग्नु र सरकारमा सहभागिताबारे जनतामा भ्रम रहेको र त्यसलाई चिर्न नसकेको कारणले पनि हार व्यहोर्नु परेको निष्कर्ष बैठकले निकालेको छ ।
पुष १९ गतेदेखी बसेको राप्रपा केन्द्रिय समिति बैठकले आगामी माघमा देशका सम्पूर्ण जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा फागुनको दोस्रो हप्तामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय अधिवेशन गर्ने निर्णय पनि गरिएको छ । त्यस्तै निर्वाचनमा झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नवनिर्वाचित पार्टी महामन्त्री राजेन्द्र लिङ्देनलाई बैठकले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

मुलुक र पार्टीको सामुन्ने विद्यमान चुनौतीको सामना गर्दै राप्रपालाई देशको अग्रणी शक्तिका रुपमा स्थापित गर्ने क्रममा पार्टीको वैचारिक एवं सांगठनिक कार्यदिशा, रणनीति र कार्यक्रम तयार गर्न केन्द्रीय परिषद्को बैठक आगामी फागुनको अन्तिम हप्ता वीरगञ्जमा आयोजना गरिने भएको छ । साथै बैठकले पृथ्वी जन्यतीमा राप्रपाको माग बमोजिम सार्वजनिक विदा गर्न मन्त्री परिषदले गरेको निर्णयप्रती प्रधानमन्त्री शेरबहादुर देउवा समेत धन्यवाद ज्ञापन गरेको छ ।

थप जानकारी