राष्ट्र हितमा समर्पित

पृथ्वीनारायण शाहको योगदान र सम्मानको विषयलाई कुनै राजनितिक व्यवस्थासँग गाँसेर हेर्न नहुने: कमल थापा

शुक्रवार, २८ पौष 1:30 PM

काठमाडौं । राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले पृथ्वीनारायण शाहको योगदान र सम्मानको विषयलाई कुनै राजनितिक व्यवस्थासँग गाँसेर हेर्न नहुने बताउनुभएको छ ।
२९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाद्वारा आयोजित चियापान समारोहमा उपस्थित अतिथिलाई स्वागत गर्दै अध्यक्ष थापाले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई कुनै पनि राजनीतिक आस्थासँग गाँसेर नहेर्न सबै पक्षसँग आग्रह गर्नुभयो ।
सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने घोषणा गर्दे सार्वजनिक विदा दिएको र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर सम्मान गरेकाले अब यो विषय विवादको विषय नरहेको समेत उहाँले बताउनुभयो ।
उक्त चियापान समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
चियापान कार्यक्रम सुरु हुनु अघि अध्यक्ष कमल थापाले सिंहदरबारको मूल गेट अगाडि रहेको श्री ५ पृथ्वीनमरायण शाहको शालीकमा माल्यार्पण गर्नुभएको थियो ।