राष्ट्र हितमा समर्पित

नविता र स्यान्टु च्याम्पियन

शनिवार, २९ पौष 6:50 PM

काठमाडौं – राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुआवे राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले जितेका छन् ।

दुवै खेलाडीले शनिबार भएको फाइनल खेलमा आफ्नै विभागका खेलाडीलाई पराजित गर्दै उपाधि जितेका हुन् । नविताको यो लगातार सातौं उपाधि हो भने स्यान्टुले लगातार दोस्रो उपाधि आफ्नो नाम गरे ।
स्यान्टुले फाइनलमा विनेश खानियाँलाई ११-५, ११-४, ११-९ र ११-९ को सोझो सेटमा पराजित गरे । उनले त्यसअघि सेमिफाइनलमा एपीएफका पुरुषोत्तम बज्राचार्यलाई पराजित गरेका थिए । विनेशले भने सेमिफाइनलमा पुलिसकै प्रदिप रोक्कालाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा महिलातर्फ पुलिसकी नविता श्रेष्ठले आफ्नै विभागकी एलिना महर्जनलाई १२-१०, ११-१, ११-२ र १२-१० सोझो सेटमा पराजित गरिन् । नविताले सेमिफाइनलमा आर्मीकी दीक्षा तामाङलाई हराएकी थिइन् । दीक्षा आर्मीकै स्वेच्छा नेम्वाङ्गलाई हराउँदै सेमिफाइनल पुगेकी थिइन् । एलिनाले सेमिफाइनलमा आर्मीकी रविना महर्जनलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएकी थिइन् ।
मिक्स्ड डबल्सतर्फ आर्मीका स्वेच्छा नेम्वाङ्ग र चन्दन शाहीको जोडीले एपीएफका अमरबहादुर मल्ल र सेलिशा खड्गीको जोडीलाई ११-६, ८-११, ११-७,र ११-९ ले पराजित गरे । सेमिफाइनलमा एपीएफकै पुरुषोत्तम बज्राचार्य र सिक्क सुवालको जोडीलाई हराएको आर्मी जोडीले त्यसअघि साविक विजेता दिप साउन र नविता श्रेष्ठको जोडीलाई परजित गरेको थियो । अमर र सेलिशाको जोडीले पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई पछि पार्दै फाइनलमा स्थान पक्का गरेका थिए ।
चार दिन चलेको प्रतियोगितामा ३ क्षेत्र र जिल्ला संघ गरेर २ सय ३५ खेलाडीले सहभागिता जनाएका थिए । पहिलो दिन पुरुष र महिलाको टिम इभेन्ट जितेको पुलिसले शुक्रबार महिला र पुरुषतर्फ डबल्सको पनि उपाधि जितेको थियो । डबल्समा पुरुषतर्फ स्यान्टु श्रेष्ठ र दिप साउन तथा महिलातर्फ एलिना महर्जन र नविता श्रेष्ठ विजयी रहेका थिए ।