राष्ट्र हितमा समर्पित


किन संसदमा भेटौला भनेका थिए राजेन्द्र लेङ्देनले रमेश लेखकलाई

बुधवार, ३ माघ 7:00 PM

राजनीतिमा उच्च पद पाउँदैमा धर्ती छोडेर आकासिएको व्यवहार गर्नुहुँदैन भन्ने कुराको उदाहरण रमेश लेखकजस्तो सत्जन मानिने राजनीतिकर्मीमा समेत लागू भएको छ ।

कुरा एक वर्ष अगाडिको हो, प्रचण्डको प्रधानमन्त्रीकालमा यातायातमन्त्री रहनुभएका नेपाली काङ्ग्रेसका नेता रमेश लेखक चारआली–केचना सडक शिलान्यास गर्न झापा पुग्नुभएको थियो । साथमा थिए, नेता कृष्णप्रसाद सिटौला र केही सांसदहरू । आफ्नो गाउँठाउँमा सडक बन्ने भएपछि शिलान्यास समारोहमा स्थानीयको बाक्लो उपस्थिति थियो । नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी, राप्रपालगायत प्रायः सबै दलसम्बद्ध मानिस थिए । शिलान्यास समारोहलाई सम्बोधन गर्ने व्यक्तित्वहरूमा प्रायः सांसदहरू थिए ।

म पनि बोल्न पाउनुपर्छ भनेर कहीँ कतै नभन्ने राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले उक्त समारोहमा आफूले पनि मन्तव्य राख्ने इच्छा व्यक्त गरे । राजेन्द्रतर्फ हेर्दै यातायातमन्त्री लेखकले ‘बोल्नका लागि त सांसद हुनुपऱ्यो नि’ भनेर फ्याट्ट भनिदिए । मन्त्रीको कुराले अपहेलित महसुस गरेका लिङ्देनले लेखकलाई भने, ‘मेरो नाम राजेन्द्र लिङ्देन हो, अहिले राप्रपा नेपालको महामन्त्री छु, ठीकै छ, मेरो आफ्नै ठाउँमा बोल्न पनि मैले सांसद हुनुपर्ने भएछ । संसद्को चुनाव भयो भने म कोसिस गर्छु, संसद्मै भेटौँला नि त है…’ उनको कुरा सुनेर लेखकले केही भनेनन्, तर कृष्ण सिटौलाको अनुहार त्यसबेला रातिएर हेर्न लायक बनेको थियो ।

एक वर्षपछि यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले दिएको चियापानमा अतिथिहरूलाई अध्यक्ष कमल थापाले स्वागत गरिरहेका थिए । पार्टीका एक मात्र निर्वाचित सांसद भएका कारण राजेन्द्र लिङ्देनलाई बधाई भन्नेको ताँती लागेको थियो । त्यत्तिकैमा नेता कमल थापाका सम्धीको देहावसान भएको खबर आएपछि थापाले लिङ्देनलाई अतिथि स्वागत–सत्कारको जिम्मा लगाएर त्यहाँबाट हिँडे ।

थापा हिँडेलगत्तै समारोहमा आइपुगे रमेश लेखक । चुनावमा पराजित रमेश लेखकलाई विजयी सांसद राजेन्द्र लिङ्देनले स्वागत गर्दै गरेको देखेर राप्रपाका नेताहरूलाई एक वर्षअघिको घटना याद आयो, जुन घटनाका बारेमा कार्यकर्ताहरूले पार्टी कार्यालयमा एक–अर्कालाई सुनाएका थिए । समारोहमा राजेन्द्रले हार्दिकतापूर्वक हात बढाएर स्वागत गर्दै भने, ‘म राजेन्द्र लिङ्देन, चिन्नुभयो ?’ जवाफमा रमेश लेखकले ‘किन नचिन्नु, म चिन्छु नि तपाईंलाई’ भने ।

रमेश लेखकले त शायद गत वर्षको घटना बिर्सिसकेका थिए, तर घटनाबारे जानकारी राख्नेहरूले भने अनौठो महसुस गरे । तीमध्येकै एकले टिप्पणी गरे, ‘पदासीन भइयो भन्दैमा कसैले कसैलाई होच्याउनुहुँदैन, आखिर पालो जसको पनि आउन सक्छ ।’ त्यसबेला राजेन्द्रले ‘ठीकै छ, संसद्मा भेटौँला नि त’ भनेका थिए, तर लिङदेन र लेखकको संसद्मा भेट भने नहुने भएको छ ।

घटना र विचार अन्लाईनबाट