राष्ट्र हितमा समर्पित


सशस्त्रलाई आन्तरिक शसक्त अंगको रुपमा विस्तार गर्छौ-:प्रधानमन्त्री

मङ्गलवार, ९ माघ 10:10 PM

माघ ९, सशस्त्र प्रहरीले १७ औं स्थापना दिवस मनाएको छ।गृहमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा ‘सत्रौं सशस्त्र प्रहरी दिवस २०७४’ विशेष समारोहमा सहभागी भएका छन् । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरी बल नेपालले स्थापना कालदेखि नै मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै सशस्त्र प्रहरी जनताको मन मस्तिष्कमा बसिसकेको उल्लेख गरे ।सशस्त्रले सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानहरुको सुुरक्षा, विपद व्यवस्थापन लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति सुरक्षार्थ परिचालन देखि हालै सम्पन्न विभिन्न चरणका निर्वाचनमा महत्वपूर्ण योगदान पुरयाको दाबी गर्दै प्रधानमन्त्री देउवाले भविष्यका सम्भावित सुरक्षा चुनौतीहरुलाई सामना गर्न तमतयार रहन निर्देशन समेत दिए ।

प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरी बल नेपाललाई आन्तरिक सुरक्षाको सशक्त अंगको रुपमा विस्तार गर्दै लगिने उल्लेख गरे।फौजी मूल्यमान्यता र सेवा विशिष्टकरणको अवधारणा बमोजिम अगाडी बढिरहेको संगठनका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु आउदो दिनमा देश र जनताको सुरक्षार्थ अझै उच्च मनोवलका साथ लाग्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा स्थापनाको छोटो अवधिमै सशस्त्र प्रहरी बल नेपाल देश र जनताप्रतिको सेवा र समपर्णका कारण जनमानसमा परिचित रहेको चर्चा गर्नुहुँदै संगठनले यस अवधिमा स्थापनाको औचित्य पुष्टि गरिसकेको उल्लेख गर्नुभयो ।सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा मंगलवार सशस्त्र प्रहरी दिवस विशेष समारोहका प्रमुख अतिथि समेत रहेका प्रधानमन्त्री देउवाले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पगुच्छा चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।

प्रधानमन्त्री देउवाले उक्त विशेष समारोहमा उत्कृष्ट गण रनिङ्ग अवार्ड प्राप्त गर्नुहुने सशस्त्र प्रहरी बल नेपाल दक्षिणकाली गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कुवँर र उत्कृष्ट सीमा सुरक्षा कार्यालय रनिङ्ग अवार्ड प्राप्त गर्नुहुने सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ऋषीदेव कार्कीलाई अवार्ड प्रदान गर्नुभयो।सोही समारोहमा संगठनमा लामो समय सेवा गरी अनिवार्य अवकाश ग्रहण गर्नुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्नुभयो।

समारोह पश्चात सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले विभिन्न मितिमा अनिवार्य अवकाश प्राप्त गर्नुभएका सशस्त्र प्रहरी अधिकृतहरुलाई स–सम्मान विदाई गर्नुभयो । त्यसवअवसरमा बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका १७ जना परिवारलाई कदरपत्र तथा सशस्त्र प्रहरी बल नेपालमा वर्षभरी उत्कृष्ट कार्य गर्ने ११ जना राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै विभिन्न समयमा नेपाल सरकारबाट विभिन्न विभूषण द्वारा विभूषित ३० जना एपीएफ अधिकृत तथा जवानहरुलाई उक्त विभूषणद्वारा शुशोभित गर्नुभयो ।अमर सशस्त्र प्रहरी कर्मचारीका ३२ जना सन्ततीहरुलाई सोही अवसरमा जनही २४ हजार रुपैयाँको दरले छात्रवृत्ति रकम प्रदान गरिएको छ ।