राष्ट्र हितमा समर्पित

भारतको गणतन्त्र दिवसमा सिमानामा कालो झण्डा

शनिवार, १३ माघ 2:45 PM

`भारतको गणतन्त्र दिवसका दिन भारतलाई नै लक्ष्यित गरी नेपाल – भारत सीमास्तम्भमा कालो झन्डा राख्न नदिनू भन्ने हाकिमको अादेश छ, जबरजस्ती कालो झन्डा राख्नुभयो भने म तपाईंलाई पक्राउ गर्न बाध्य हुनेछु ।´ भन्दै हुनुहुन्थ्यो एकजना प्रहरी अधिकृत । तर ग्रेटर नेपालको तर्फबाट हामी नेपालको ५० बिगाहा भन्दा बढी जमिन भारततिर पार्ने गरी छप्कैयामा गाडिएको ३९२ नंबरको स्तम्भमै कालो झन्डा राख्न र गाड्न दृढतापूर्वक डट्यौँ ।
म कालो झन्डा समातेर स्थानीय व्यक्तिहरूसँग पिलरमा उभिएँ । ज्योतिकिरणजी प्रहरीलाई सम्झाउँदै हप्काउँदै हुनुहुन्थ्यो । अाखिर हामीले कालो झन्डा देखाएरै छाड्यौँ । प्रहरीले माथि सम्पर्क गर्दा पक्रने अादेशको स्वर वाकीटकीमा स्पष्ट रूपमा सुनेर पनि हामी दृढतापूर्वक कालो झन्डा फहराउँदै उभिइरह्यौँ । केही समयपछि मैले मिचिएको नेपाली भूभागमा कालो झन्डा गाडेँ । प्रहरी अधिकृत केही बेर अवाक् भए । अनि भन्न थाले यी सबै झन्डा लिएर जानुहोस् , हामीलाई अप्ठ्यारोमा नपार्नुहोस् । अनि हामीले भन्यौं , हामी त कालो झन्डै गाड्न भनेर काठमाडौंदेखि अाएका , तपाईंहरू जे गर्नुपर्ने हो गर्नुस् ।
अनि प्रहरी अधिकृतले अन्त्यमा भन्नुभयो , यहाँ द्वन्द्व बढ्न सक्छ , धेरैबेर नबसिदिनुहोस् ।

पक्रने अादेश पाएर पनि हामीलाई त्यसै छाडिदिने प्रहरी अधिकृत निश्चय नै भित्री मनदेखि नै राष्ट्रवादी हुन् । हामी उनलाई स्यालुट गरेर त्यहाँबाट फर्कियौँ ।

ग्रेटर नेपालका अभियानता फणीन्द्र नेपालको फेसबुकबाट