राष्ट्र हितमा समर्पित

यसरी ठगिन्छ शिक्षामा

शनिवार, २७ माघ 5:31 PM

काठमाडौँ । उपभोक्तालाई ठगी गरेको जनगुनासोहरू बढ्दै गएपछि अनुगमनमा लागेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ठगी गर्ने अस्पतालदेखि गाडी विक्रेताउपर कारवाही प्रक्रिया सुरु गरिरहँदा अब चर्को शुल्क असुल्ने विद्यालयहरूउपर पनि छानविन सुरु गरेको छ । अभिभावकहरूसँग विभिन्न शीर्षकमा चर्को शुल्क लिने १६ वटा ठूला स्कुलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा स्कुलहरूले अभिभावकहरूसँग लिनै नपाइने शुल्क लिएको फेला पारेको छ । नियमविपरीत भर्ना शुल्कदेखि विभिन्न शुल्क लिएकाले विभागले ठगीमा कारवाही अगाडि बढाउने भएको छ । विभागले प्रधानमन्त्री पत्नी आरजु देउवाको युल्नेस स्कुल सातदोबाटोदेखि कनकमणि दीक्षितकी श्रीमती शान्ता दीक्षितले सञ्चालन गरेको पाटनढोकाको रातोबंगला स्कुलसम्मको अनुगमन गरेको छ । बानेश्वरको पाठशाला एजुकेशन फाउन्डेसन, ललितपुर धापाखेलको जेम्स स्कुल, खुमलटारको प्रिमियर स्कुल, नयाँबानेश्वरको नोबेल एकेडेमीमा पनि अनुगमन गरेको छ । शिक्षाक्षेत्रमा अभिभावकहरूसँग विभिन्न शीर्षकमा लिनै नमिल्ने शुल्क लिएको गुनासोपछि विभागले अनुगमन गरेको हो । पहिलो चरणमा १६ वटा ठूला स्कुलको अनुगमन भएको छ । काठमाडौँ रविभवनको लिंकन स्कुलले विभागको टोलीलाई अनुगमन गर्न स्कुलभित्रै प्रवेश गर्न दिएन । अनुगमनका क्रममा एउटै स्कुलले वार्षिक ५ करोड रूपैयाँसम्म भर्ना शुल्क लिएको पाइएको विभागका महानिर्देशक कुमार दाहालले बताएका छन् । यसरी नीति नियमविपरीत अभिभावकहरूसँग कानुन विपरीत शुल्क लिएर स्कुल सञ्चालकहरूले हाइड्रोपावरमा लगानी गरेको समेत पाइएको विभागले जनाएको छ । यसरी भर्नादेखि विभिन्न शुल्कका नाममा ठगी गर्ने १६ स्कुलहरूलाई पनि ठगीमा मुद्दा चलाउन प्रहरी परिसर काठमाडौँ र ललितपुरमा पठाउने महानिर्देशक दाहालले जानकारी दिए । स्कुलहरूको नियमन गरी मनपरी शुल्क लिनेमाथि कारवाही गर्नुपर्ने दायित्व शिक्षा मन्त्रालय र शिक्षा विभागको हो । तर शिक्षाका नाममा अभिभावकहरूसँग चर्को शुल्क लिने र भर्नादेखि अन्य शीर्षक राखेर ठगी गरेको उजुरीपछि आपूर्ति व्यवस्थापन विभागले अनुगमन गरेको छ ।