राष्ट्र हितमा समर्पित
बिहिवार, चैत्र १५, २०८०

विश्वकपमा सम्झनलायक रोमाञ्चक खेल

सोमवार, ३२ आषाढ २०७५ १२:३८

एजेन्सी, मस्को, असार ३२ गते । विश्वकप फुटबल प्रतियोगितामा फाइनल खेललाई सधैँ सम्झना गरिन्छ । एक महिना लामो विश्वकपमा अन्य यस्ता पनि खेल हुन्छन्, जसलाई हामी भुल्नै सक्दैनौँ । विश्वकप–२०१८ मा पनि सम्झन लायक धेरै भिडन्त भए । त्यसपछि शीर्ष पाँचमा परेका रोचक खेलको यहाँ चर्चा छ ।

स्पेन–३ पोर्चुगल–३

विश्वकप फुटबल सुरु हुनु दुई दिनअघि स्पेनले आफ्ना प्रशिक्षक युलेन लापेटिगुईलाई बर्खास्त गरे । जसले स्पेनी टिमको मनोबल खस्कने अनुमान गरियो । अझ विश्वकपमा स्पेनको पहिलो खेल युरो च्याम्पियन पोर्चुगलसँग थियो । दुवै हेभिवेट टिमले गजबको खेल देखाए ।
पोर्चुगलले दुई पटक अग्रता बनाएर पनि जित हात पार्न सकेन । स्पेनले दुई गोलले पछाडि परेर पनि अन्ततः ३–२ ले अग्रता बनाएर जिततर्फ अग्रसर भयो । स्पेन पनि अन्तिम मिनेटमा गोल बेहोरेर जितबाट वञ्चित भयो । सो खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकसहित लालमोहर लगाए । डिएगो कोस्टाले पनि स्पेनका लागि दुई गोल गरे ।
यस खेलमा दुवै टिम जितको नजिक थिए तर खेल बराबरीमा सकियो ।

जर्मनी–२ स्विडेन–१

समूह ‘एफ’को यो खेल पनि अविस्मरणीय रह्यो । गतविजेता जर्मनीलाई प्रतियोगितामा आफ्नो सम्भावना कायम राख्न जित्नैपर्ने बाध्यता थियो तर अग्रता स्विडेनले बनायो । जर्मनीका मार्को रेयुसले बराबरी गोल गरेर जर्मनीको आशा कायम राखे । यद्यपि खेलको ८२औँ मिनेटमा जेरोमी बोयटाङले रातोकार्ड पाएपछि एक खेलाडीको बेफाइदामा पुगेपछि जर्मनी जितविहीन हुने पक्का जस्तै भयो । इन्जुरी समयमा टोनी क्रुजले फ्रिकिकमा शानदार गोल गरी जर्मनीलाई जित दिलाए भने स्विडेन हिस्स प¥यो ।

फ्रान्स–४ अर्जेन्टिना–३

अर्जेन्टिनालाई विश्वकपबाट बिदा गरेको यो खेल फ्रान्सका किशोर उमेर पार नगरेका किलियन एमबापेको प्रदर्शनले पनि सम्झिरहनेछ । एमबापेले दुई गोल मात्र गरेनन् आफूलाई रोनाल्डो, लियोनेल मेसी र नेमारको उत्तराधिकारीका रूपमा पनि प्रस्तुत गरे । मेसी भने एमबापेको छायाँमा परे । एमबापेले दुई गोल गर्नुका साथै एक पेनाल्टी पनि जितेका थिए । खेलको ४८औँ मिनेटमा अर्जेन्टिना २–१ ले अगाडि थियो । फ्रान्सले हार मानेन र लगातार तीन गोल गरी स्कोर ४–२ पा¥यो । अर्जेन्टिनाले अन्तमा एक गोल फर्काएर गोल अन्तर कम पारेको थियो ।

बेल्जियम–३ जापान–२

यस प्रिक्वाटर फाइनलमा ठूलो उलटफेरको सम्भावना देखिएको थियो । जापानका हारागुची र इनुईको गोलले जापान खेलको ६९औँ मिनेटसम्म पनि दुई गोलले अगाडि थियो । जुन स्थितिले बेल्जियमको विश्वकप यात्रा समाप्तको सम्भावना देखाउँथ्यो । बेल्जियमले शानदार पुनरागमन गर्दै अन्तिम ३० मिनेटमा तीन गोल ग¥यो । अन्तिम गोल इन्जुरी समयमा आएको थियो । यो खेलको पूरै समय दुवैले आक्रामक रणनीति अपनाउँदा पनि यो खेल सम्झनलायक बनेको थियो । विशेषतः जापानले दुई गोलले अगाडि छँदा पनि थप गोलको खोजीमा आक्रामक रवैया कायम राखेको थियो ।

रुस–२ क्रोएसिया–२ (क्रोएसिया पेनाल्टी सुटआउटमा ४–३ ले विजयी)

आयोजक प्रतियोगिताबाट बिदा भएको यस शानदार खेलमा उतारचढावको कमी भएन । डेनी चेरिसेभले प्रतियोगिताकै सर्वश्रेष्ठमध्ये एक गोल गरेर रुसलाई अगाडि पारेका थिए तर एन्द्रिज क्रामानिचले पूर्वाद्र्धमा नै खेल बराबर गरे । त्यसपछि निर्धारित समयको खेल बराबरीमा सकियो । अतिरिक्त समयमा डढोमागोज भिडाले हेड गोल गरेपछि क्रोएसियाले अब खेल जित्ने सोच्यो । ११५औँ मिनेटमा रुसका मारियो फर्नान्डेजले बराबरी गोल गरी खेलमा नाटकीय मोड ल्याउने काम गरे । त्यसपछि टाइब्रेकरमा क्रोएसिया विजयी भएको थियो ।

थप जानकारी