राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

एसियाली खेलकुद आजदेखि शुरु

शनिवार, २ भाद्र २०७५ ९:४६

जकार्ता (इण्डोनेसिया), भदौ २ गते । ओलम्पिक्स विश्वको सबभन्दा ठूलो खेल मेला हो तर सङ्ख्या र खेलको हिसाबले एसियाली खेलकुद अझ माथि छ ।  इण्डोनेसियाको जाकार्ता र पालेङबाङमा हुने एसियाली खेलकुदमा ११ हजार ५०० खेलाडीको सहभागिता रहनेछ । जुन रियो ओलम्पिककै हाराहारीमा रहेको छ । अझ विविधताका लागि एसियाली खेलकुदमा अ‍ोलम्पिक्समा नदेखिएका खेल पनि समावेश हुने गर्दछन् । १८ औँ एसियाली खेलकुदमा पनि भारतको कवड्डी, उज्वेकिस्तानको कुराँस (परम्परागत मार्शल आर्ट्स्) र इण्डोनेसियाको मार्शल आर्ट्स् पेनकाक सिलाट पनि खेलिनेछन् । समयको मागअनुसार इ–स्पोर्ट्सलाई पनि प्रदर्शनी खेलका रूपमा राखिएको छ भने जेट स्की पनि खेलको सूचीमा रहेका छन् ।

शनिबार सुरु भएर सेम्टेम्बर २ तारिखमा सकिने एसियाको सबभन्दा ठूलो खेल मेलामा स्पोर्ट्स क्लाइम्बिङ र स्टेकबोर्डिङलाई पनि समावेश गरिएको छ । सन् २०२० मा टोकियो ओलम्पिक्समा पनि यी दुवै खेल रहेका छन् । भन्नलाई त टोकियो ओलम्पिक्सकै तयारीका लागि यी खेल एसियाडमा राखिएको हो भन्ने पनि छन् । अझ तासको खेल ब्रिज गेम प्रतिस्पर्धा पनि एसियाडमा हुनेछ । जसमा यस प्रतियोगिताकै सबभन्दा पाको उमेरका खेलाडी भएको जनाइएको छ, जसको उमेर ८१ वर्ष रहेको छ ।  हामीले एसियाली खेलकुदको सफल आयोजना गर्न निकै मिहिनेत गरेका छौँ, मलाई लाग्छ हामी तयार छौँ, स्थानीय आयोजक कमिटीका महासचिव इरिस हेर्यान्टो भन्छन् ।

तयारीका लागि समय कम
विगतमा अन्य आयोजक राष्ट्रले जस्तो इण्डोनेसियाले यसपटक तयारीका लागि पर्याप्त समय पाएको थिएन । सुरुमा १८ औँ एसियाली खेलकुदको आयोजना भियतनाममा गरिने भनिएको थियो तर भियतनामले आर्थिक समस्या देखाएर आयोजनाबाट नाम फिर्ता लिएपछि चार वर्षअघि मात्र इण्डोनेसियालाई आयोजकको जिम्मेवारी दिइएको थियो ।
यसपालि धेरै इभेन्ट राखेकोले इण्डोनेसियालाई थप समस्या हुन सक्छ तर ओलम्पिक काउन्सिल अफ एसियाले इण्डोनेसियालाई यस आँटका लागि वृmतज्ञता व्यक्त गरेको छ ।

जामको समस्या
जाकार्ता विश्वकै सबभन्दा बडी ट्राफिक जाम हुने सहरमध्ये एक हो । त्यसैले खेलाडीलाई समयमै खेलस्थलसम्म पुग्न समस्या हुन सक्छ । एसियाडका लागि जाकार्तामा दुई हप्ता विद्यालय बन्द हुने निर्णय भइसकेको छ । केही बाटो पनि सार्वजनिक यातायातका लागि बन्द गरिएका छन् । यसैगरी ट्राफिक समस्या कम गर्न जोड, बिजोड नम्बर प्लेटका गाडी पालैपालो चलाउने नियम पनि लागू गरिनेछ । तर आयोजकले कसैलाई पनि घर बस्न भनेको छैन ।

हामी सबैलाई घरबाट बाहिर निस्केर खेल हेर्न उत्साहित गरिरहेका छौँ तर उनीहरूलाई सार्बजनिक यातायातका साधनबाट रङ्गशाला आउन अनुरोध गरेका छौँ, यो बानी सुधार्ने र देशले आयोजना गरेको यस ठूलो प्रतियोगितामा सहयोगको मौका पनि हो, हेरयान्टोको भनाइ छ ।

सुरक्षा व्यवस्था
एसियाली खेलकुदका लागि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । आयोजकले एक लाख प्रहरी र सेना परिचालन गरेको छ भने थप एक लाख विकल्पमा रहेको जनाइएको छ । इण्डोनेसियाले आफूलाई ओलम्पिक देश मान्छ । कारण हो, यसको जनसङ्ख्या । इण्डोनेसियाको जनसङ्ख्या २६ करोड छ । चीन, भारत र अमेरिकापछि इण्डोनेसिया विश्वको सबभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्र हो । इण्डोनेसियामा १३ हजार ५०० त टापूमात्र छन् ।

सहभागी टिम
एसियाली खेलकुद यस क्षेत्रका राष्ट्रको खेल सशक्त देखाउने मञ्च हो । चीन, जापान र दक्षिण कोरिया बढी पदक जित्ने दबाबमा हुनेछन । ओलम्पिकमा पदक जित्न नसक्ने एसियाका साना राष्ट्रले पनि यस प्रतियोगितामा आफ्नो झण्डा फहराउने अपेक्षा लिएका हुन्छन् । एसियाली खेलकुदमा अफगानिस्तान, बहराइन, बङ्गलादेशदेखि उज्वेकिस्तान, भियतनाम र यमनसम्म गरी ४५ राष्ट्रले भाग लिएका छन् । एसियाका सबभन्दा सानो राष्ट्रमध्ये एक सिङ्गापुरको टिममा पौडीबाज जोसेफ स्कुलिङका रूपमा ठूलो खेलाडी छ । सिङ्गापुरका स्कुलिङ ओलम्पिकमा स्वर्ण जित्ने खेलाडी हुन् । उनले दुई वर्षअघि रियो डि जेनेरियोमा भएको अ‍ोलम्पिक्समा सय मिटर बटरफ्लाईतर्फ माइकल फ्लेप्सलाई हराएर स्वर्ण पदक जितेका थिए ।

एसियाडमा चीनको सबभन्दा ठूलो टिम
१८ औँ एसियाडमा सबभन्दा ठूलो टिम चीनको हुनेछ । चीनको टिममा ८४५ खेलाडी रहेका छन् तर चीनले यसपटक युवा टिम इण्डोनेसिया पठाएको छ । ८४५ मध्ये २१४ जनासँग मात्र ओलम्पिक अथवा एसियाली खेलकुदको अनुभव छ । सो टिममा ओलम्पिकमा स्वर्ण जित्ने १९ खेलाडी मात्र छन् । चीन ओलम्पिकमा पनि शीर्ष स्थानको दाबेदार राष्ट्र हो । चीनको टिममा सबभन्दा लोकप्रिय खेलाडी तीन पटकको ओलम्पिक स्वर्ण पदकधारी पौडी खेलाडी सुन याङ हुन् ।

दक्षिण कोरिया र जापान पनि खासै पछाडि छैनन् । दक्षिण कोरियाली टिममा ८०७ खेलाडी छन् । जसमा उत्तर कोरियाका ३८ खेलाडी पनि सामेल छन् । यी दुई कोरियाले संयुक्त टिम बनाएका छन् । जापानले पनि ७६८ खेलाडीसहित इण्डोनेसियाको भ्रमण गरेको छ । सन् २०१६ मा भएको रियो ओलम्पिक्समा भन्दा जापानको यो दोब्बर टिम हो । सन् २०२० मा आफ्नै घरमा हुने टोकियो अ‍ोलम्पिक्सको तयारीका रूपमा जापानले एसियाली खेलकुदलाई लिएको छ । टोकियो ओलम्पिक्समा जापानले ३० स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ ।
एपी

थप जानकारी