राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

अनुगमनमा  बाधा पुर्‍याउने व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी

मङ्गलवार, ५ भाद्र २०७५ ९:३०

काठमाडौं – नेपाल सरकारले बजार अनुगमनको क्रममा बाधा पुर्‍याउने व्यापारीको दर्ता नै खारेजी गर्ने तयारी गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनमा बाधा पुर्‍याउने व्यापारीको दर्ता नै खारेज गर्ने तयारी गरेको जानकारी दिएको छ । नागरिक ठग्ने र बजार अनुगमनमा बाधा पुर्‍याउने व्यापारीलाई कारबाहीको लागि मंगलबार मन्त्रिस्तरीय बैठक बस्ने तयारी रहेको मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।

सोमबार कालिमाटीमा भएको घटनाबाट मन्त्रालय गम्भीर बनेको भन्दै मंगलबार निर्णय गरेर अनुगमनको विरोध गर्ने व्यापारीको दर्ता नै खारेज गर्ने र थप कारबाही गरिने ढकालले जानकारी दिनुभयो ।

कालिमाटी तरकारी बजारको सिन्डिकेट तोड्न अब सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै प्रवक्ता ढकालले ठग्नुपर्छ भनेर आन्दोलन गर्ने व्यापारीको साथ नलाग्न पनि अन्य व्यापारीलाई आग्रह गर्नुभयो ।

यस्तै सरकारी अनुगमनको विरोधमा नेपाल फलफूल तथा तरकारी व्यवसायीले मंगलबारदेखि तरकारी र फलफूल नै नबेच्ने घोषणा गरेका छन् । सोमबार सरकारले कालिमाटी तरकारी बजारको अनुगमन गर्दा हुँदै नभएका नियमको भरमा आफ्ना नेता पक्राउ गरेको भन्दै  नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले मंगलबारदेखि तरकारी र फलफूल नै नबेच्ने जनाएको छ ।

सरकारले पक्राउ परेका व्यापारी रिहा गर्नुपर्ने र जफत भएको २ गाडी तरकारी पनि फर्काउनुपर्ने माग गर्दै व्यापारीले विरोध जनाएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कालीमाटी तरकारी तथा फलफूल बजारमा बील विजक नभएको भन्दै २ वटा तरकारी बोकेका गाडी नियन्त्रणमा लिएको हो ।

त्यसपछि व्यापारीले नाराबाजी गर्दै अनुगमन टोलीलाई नै थुनेपछि प्रहरीले तरकारी तथा फलफूल व्यवासायी महासंघका भरत खतिवडालाई पक्राउ गरेको थियो ।

थप जानकारी