राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

विप्लवका प्रवक्ता प्रकाण्ड रिहा, प्रहरीले अब पक्राउ नगर्ने

मङ्गलवार, ९ आश्विन २०७५ २०:१०

काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सर्वोच्च अदालतको आदेशपछि मंगलबार रिहा भएका छन् ।

विश्वकर्मालाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गरेर सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलसँग भएको वार्तापछि फेरि पक्राउ नगर्ने सहमति बनेको स्रोतले जनाएको छ । सर्वोच्चको आदेशमा रिहा भएपछि माइतीघर मण्डलामा पुगेका उनलाई त्यहाँ विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले स्वागत गरेका छन् ।

प्रकाण्डलाई स्थानीय तथा प्रतिनिधि सभाको निर्वाचनका समयमा देशका विभिन्न जिल्लामा भएको विस्फोट तथा अन्य आक्रमणका घटनामा मुख्य अभियुक्त बनाउँदै प्रहरीले पक्राउ गरेको थियो ।

सुरुमा काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट पक्राउ गरिएका विश्वकर्मा विभिन्न जिल्लाका अदालतमा चलेको मुद्दाका आधारमा प्रहरीले अड्डासार गर्दै लगेको थियो ।

७ करोड बढी चन्दा जबरजस्ती असुलेको अभियोगमा पक्राउ गरिएका उनलाई काठमाडौँ, काभ्रे, नुवाकोट, दाङ, भोजपुरसहितका जिल्लामा लगेर मुद्दा चलाइएको थियो ।

त्यसबीचमा उनका छोरा तथा भाइले पटक पटक सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए । ती रिटमा सुनुवाइ गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिए पनि प्रहरीले तत्कालै पक्राउ गर्ने गरेको थियो ।

सरकारले विप्लवका सयौँ कार्यकर्तालाई देशका विभिन्न जिल्लाबाट पक्राउ गरेर हिरासतमा राखेको छ । हिंसात्मक गतिविधि गर्ने आशंकमा उनीहरुलाई नियन्त्रणमा लिएर फरक फरक मुद्दामा म्याद थप गर्दै हिरासतमा राखिएको छ।

थप जानकारी