राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

साफ यू–१५ फुटबल: पाकिस्तान सेमिफाइनल प्रवेश

शनिवार, १० कार्तिक २०७५ १५:३८

काठमाडौँ, कात्तिक १० गते । पाकिस्तान साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो । समूह चरणको दोस्रो खेलमा पाकिस्तानले आज भूटानलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएका खेलमा खेलको २४ औँ मिनेटमा मुद्दसर नजरले गोल गर्दै पाकिस्तालाई शुरुआती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि इफ्तिखर अहमेदले पाकिस्तानको अग्रता दोब्बर पारे । ३३ औँ मिनेटमा मोइन अहमेदले तेस्रो गोल थपे । पहिलो हाफको अन्तिम समयमा मोइनले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई फराकिलो जित दिलाए ।

पहिलो हाफमा चार गोल खाएको भूटान दोस्रो हाफमा खेलमा फर्किन सकेन । पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरे पनि भूटानले गोल गर्न सकेन ।

पहिलो खेलमा पाकिस्तानले बलियो प्रतिद्वन्द्वी भारतलाई बिहीबार भएको उद्घाटन खेलमा २–१ ले हराएको थियो । समूह ‘बी’मा पाकिस्तानको छ अङ्क जोडेको छ । भूटान र भारत अङ्कविहीन छन् । समूह चरणको अन्तिम खेलमा भारत र भूटानले आइतबार खेल्नेछन् ।

आजै हुने दोस्रो खेलमा बङ्गलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा नेपालसँग पराजित माल्दिभ्सलाई अघिल्लो चरण पुग्न बङ्गलादेशलाई पराजित गर्नुपर्ने दबाब छ ।

आयोजक नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बङ्गलादेशसँग खेल्दैछ । यसअघि नेपालले बिहीबारै भएको पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’मा भारत, भुटान र पाकिस्तान छन् ।

सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो । प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो ।  (रासस)

थप जानकारी