राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

पारा ओलम्पियनलाई आजीवन भत्ता

शनिवार, १ मंसिर २०७५ २१:११

काठमाडौँ, मङसिर १ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विशंखेलाई गत साउनदेखि कात्तिक महिनासम्मको मासिक रु तीन हजारका दरले जनही रु १२ हजार राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रदान गर्नुभयो ।

एथलेटिक्सका विक्रमले लन्डन र ब्राजिल पारा ओलम्पिक, पौडीकी लक्ष्मी कुँवरले ब्राजिल पारा ओलम्पिक तथा एथलेटिक्सकी मैयाले लन्डन पारा ओलम्पिकमा सहभागिता जनाएका थिए । गत असोजमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको राखेपको ११० औँ बोर्ड बैठकले पारा ओलम्पिकमा सहभागी खेलाडीलाई पनि गृष्मकालीन ओलम्पिकमा सहभागी खेलाडीसरह आजीवन मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको थियो ।

सन् १९६४ एता गृष्माकालीन खेलकुदमा सहभागी ५९ खेलाडीलाई राखेपले मासिक रु तीन हजारका दरले साउनदेखि भत्ता उपलब्ध गराउन थालेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले जानकारी दिनुभयो ।

रकम हस्तान्तरण कार्यक्रमा सदस्य सचिव विष्टले केही प्राविधिक कारणले पारा ओलम्पियन खेलाडीलाई भत्ता दिन ढिलाइ भएको बताउँदै आगामी दिनमा रकम वृद्धि गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । सदस्य–सचिव विष्टले रकम सानै भएपनि यसले खेलाडीलाई प्रोत्साहन गर्नुका साथै मनोबल बृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  (रासस)

थप जानकारी