राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

आँधी र पहिरोमा परी फिलिपिन्समा एक सय २६ को मृत्यु

आइतवार, २२ पौष २०७५ १४:३३

मनिला,  पुस २२ गते । क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।  आँधीपछि आएको बर्षा र बर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरुको संख्या १ सय २६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । आँधी र पहिरोले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ ।

राजधानी मनिलादेखि दक्षिण पूर्वमा पर्ने बिकोलमा मात्रै झण्डै सय जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । क्रिसमसको बिदामै रहेका बेला प्रभावित भएका धेरैलाई अन्यत्र स्थानान्तरण गरिएको छ । स्थानीयवासीको शब्दमा “उस्मान” भनिने यस आँधी निकै खराव खालको भएको बताइएको छ ।

घटनास्थलमा बेपत्ता भएका तथा प्रभावित भएकाहरुको खोजी कार्य अझै पनि जारी रहेको छ । उद्धार तथा खोजीकालागि पहिरो र त्यसले ल्याएको माटो ठूलो समस्याका रुपमा रहेको छ । यस आँधी र पहिरोका कारण झण्डै एक लाख ५२ हजारलाई अन्यत्र सारिएको हो । घटनामा परी अहिले सम्म ७५ जना घाइते भएका विवरण प्राप्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापन सम्वन्धी निकायले जनाएको छ ।

राष्ट्रपति रोड्रिगो डुटेर्टेले शुक्रबार घटनास्थलको निरिक्षण गर्नु भएको छ । उहाँले प्रभावितहरुलाई तत्काल उपयुक्त ठाँउमा बसोबासको व्यवस्थापन गर्दै आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिनु भएको छ । प्रभावितहरुलाई विभिन्न विद्यालयहरुमा अस्थायी शिविर बनाएर राखिएको छ ।

आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक, पुललगायतका भाैितक संरचनाहरु पनि भत्किएका छन् ।

फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा सामुद्रिक आँधी आउने गर्दछन् । यी आँधीका कारण हरेक वर्ष सयौं व्यक्तिको मृत्यु हुनुका साथै लाखौं मानिसलाई घरवारबिहिन हुने गरेका छन् ।

सन् २०१३ मा आएको शक्तिशाली ‘हाइयान’ आँधी अहिलेसम्म सबैभन्दा ठूलो भएको अनुमान गरिएको छ । यो आँधीबाट सात हजार तीन सय ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । (रासस/एएफपी)

थप जानकारी