राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

आर्सनल प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो

मङ्गलवार, १९ चैत्र २०७५ ११:५२

१९ चैत । न्युकाशल युनाइटेडलाई पराजित गरी आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

यसक्रममा उसले म्यान्चेस्टर युनाइटेड र उत्तरी लण्डनको प्रतिस्पर्धी टोटनह्यामलाई पछि पारेको छ ।

घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनलले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । एरोन राम्से र लाकाजेट्टेले गोल गरेका थिए ।

३०औं मिनेटमा राम्सेले करिव १५ यार्डबाट प्रहार गरेको ग्रास शट उत्कृष्ट गोलमा परिणत भएको थियो । त्यसअघि उनले एउटा अवसर खेर फालेका थिए ।

८३औं मिनेटमा अलेजान्द्रे लाकाजेट्टेले न्युकाशलको रक्षापंक्ति तोड्दै गोल गर्न सफल भए । जुन निर्णायक बन्यो ।

न्युकाशलका लागि सोलोमोन रोन्डोनले पाएको उत्कृष्ट अवसर आर्सनलका गोलरक्षक बन्र्ड लेनोले असफल पारिदिएका थिए । उनको लो शट लेनोले क्लियर गरेका थिए ।

फेब्रअरीको सुरुआतसम्म आर्सनल लिगमा टोटनह्यामसँग १० अंकले पछि थियो । तर, अहिले टोटनह्यामलाई उसले २ अंकले पछि छाडेको छ । लिगमा ७ खेल बाँकी रहँदा युनाइटेड र टोटनह्यामलाई पछि छाडेको छ ।

आर्सनलको ३१ खेलबाट ६३ अंक भएको छ । समान खेलबाट टोटनह्याम र युनाइटेडको समान ६१ अंक छ । गोलअन्तरका आधारमा युनाइटेड पछि छ ।

लिगको शीर्ष स्थानमा ७९ अंकसहित लिभरपुल छ । उसले ३२ खेल खेलेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ७७ अंक छ ।

थप जानकारी