राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

सरकारको विरोधमा नेविसंघको मसाल जुलुस

बिहिवार, २६ आषाढ २०७६ २०:३६

काठमाडौं– सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसको भातृसंगठन नेविसंघले बालाजु आसपासका क्षेत्रमा मसाल जुलुस निकालेको छ ।

सोही क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको अगुवाइमा राजधानीको बालाजु चोकबाट निकालिएको मसाल जुलुस बालाजु चौकी नजिक गएर समापन भएको थियो ।

जुलुसमा तरकारीसहित प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्ताले जनतालाई विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

विरोध प्रदर्शनका क्रममा भारतसित घुँडा टेक्ने केपी ओली नेतृत्वको सरकार नसच्चिए कडा संघर्ष गर्ने भन्दै नाराबाजी पनि गरेका थिए । केन्द्रीय सदस्य भट्टले कुनैपनि हालतमा विषादीको परीक्षण गरेर मात्रै भारतीय तरकारी आयातको व्यवस्था मिलाइनुपर्नेमा जोड दिए ।

नेविसंघको मसाल जुलुसमा बाइपासबाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गर्दा नेविसंघका १४ जना नेता/कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा निवर्तमान केस सुशील भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा ,सुबास घिमिरे, सुदिप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी, अनिल महर्जन रहेको महानगरीय प्रहरी वृत बालाजुका डीएसपी बालनर सिंह राणाले जानकारी दिए ।

यस्तै विद्यार्थी नेताहरु पवन थापा, बिजय ढुङ्गाना, अमृत लामिछाने, प्रदिप जङ साह भने सामान्य घाइते समेत भएको प्रहरीले जनाएको छ ।

सोमबार नेविसंघले देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।

थप जानकारी