राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

मिस युनिभर्सको चर्चा

शुक्रवार, १५ मंसिर २०७४ ६:४२

केही दिन अघि सम्पन्न मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी सुन्दरी डेमी ले नेल–पिटर्सले जितेकी छन्। लस भेगासको एक्सिस थिएटरमा गत आइतबार राति आयोजित प्रतियोगितामा ९१ जनालाई उछिन्दै २२ वर्षीया डेमी विजेता बनेकी हुन्। विजेता घोषणापछि अहिले उनी निकै चर्चामा छिन ।

बिजनेस म्यानेजमेन्टमा डिग्री सकेकी डेमीले न्युयोर्कमा सुविधासम्पन्न अपार्टमेन्ट र अन्य थुप्रै गिफ्ट हयाम्पर पनि जितिन्। यसअघि सन् १९७८ मा दक्षिण अफ्रिकाका लागि मार्गारेट गार्डिनरले मिस युनिभर्सको उपाधि पहिलो पटक जितेकी थिइन्। डेमिले ३९ वर्षपछि मिस युनिभर्सको उपाधी घर फर्काएकी हुन्।प्रतियोगिताको अन्तिम चरणमा स्टेभ हार्भेले सोधेको ‘तपाईंसँग त्यस्तो के क्षमता छ, जसमा स्वयंले गर्व महसुस गर्नुहुन्छ? र, त्यसलाई मिस युनिभर्स बनेपछिको समयमा कसरी सदुपयोग गर्नुहुन्छ?’ प्रश्नमा डेमिले भनेकी थिइन्, ‘मिस युनिभर्स भएपछि पनि एउटा व्यक्तिका रूपमा हुने एकखाले आत्मविश्वास कायमै हुनुपर्छ। र, एउटी मिस युनिभर्सले तमाम डरलाई पार गर्दै आएकी हुन्छे र त्यो अनुभवले अन्य महिलाको डरलाई हटाउन मद्दत गर्छ। म ठयाक्कै त्यस्तै महिला हुँ भन्ने लाग्छ।’कोलम्बियाकी सुन्दरी लाउरा गोन्जालेज फस्ट रनरअप भइन् भने जमैकाकी डेभिना बेन्नेट सेकेन्ड रनरअप बनिन्।

सन् १९५२ देखि सुरु भएको मिस युनिभर्समा कोलम्बिया, लाओस र नेपालले यसै संस्करणदेखि सहभागिता जनाएका थिए। नेपालका तर्फबाट नगमा श्रेष्ठले प्रतिस्पर्धा गरेकी थिइन्। तर उनी पहिलो राउन्ड पार गर्न पनि असमर्थ रहिन्। २०१२ की मिस नेपाल अर्थ नगमा प्रतियोगिताको ‘बेस्ट इन इभिनिङ गाउन’ सेसनमा उत्कृष्ट ९ मा पर्न सफल भएकी थिइन्। ग्रामी अवार्ड विजेता फर्गीले नयाँ गीत ‘अ लिटिल वर्क’ गाइरहँदा प्रतियोगीहरू रात्रिकालीन गाउन लगाएर मञ्चमा उत्रिएका थिए।

उत्कृष्ट पाँचमा परेका प्रतिस्पर्धीलाई प्रश्नोत्तर खण्डमा सोधिएको ‘महिलाले आफ्नो काम गर्ने कार्यालयमा सामना गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण समस्या कुन हो’ भन्ने प्रश्नमा डेमीले समान पारिश्रमिक नहुनुलाई मुख्य समस्या बताएकी थिइन्। ‘केही ठाउँमा उत्तिकै काममा पनि महिलाले पुरुषको तुलनामा ७५ प्रतिशत कम मात्र पारिश्रमिक पाउँछन् र यो मलाई ठीक हो जस्तो लाग्दैन,’ उनले थपेकी थिइन्, ‘मलाई लाग्छ, विश्वका सबै महिलाले समान कामको लागि समान पारिश्रमिक पाउनुपर्छ।’

बन्दुकको त्रासमा आफूलाई कसैले लुटेयता डेमीले महिलाका लागि आत्मरक्षासम्बन्धी तालिम र कार्यक्रमहरूमा सहयोग गर्दै आएकी छन्। त्यस घटनाको महिना दिनपछि नै उनले ‘मिस साउथ अफ्रिका’ को ताज जितेकी थिइन्। मिस युनिभर्स बनेपछि डेमीले आफ्नो कार्यकालमा एचआइभि/एड्स र आत्मरक्षा सम्बन्धी अभियान चलाउन चाहेको बताएकी छन्। कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग उनले भनेकी छन्, ‘मेरो देशमा एचआइभी/एड्स ठूलो समस्याको रूपमा रहेको छ, त्यसैले म यो विकराल अवस्थाबारे मुखर हुन चाहन्छु।’

थप जानकारी