काठमाडौं । बेलायतबाट प्रकाशित हुने प्रतिष्ठित दैनिक पत्रिका ‘द गार्जियन’ले एक समाचार प्रकाशित गर्दै नेपालमा हिन्दू धर्म समस्यामा परेको र पैसाले किनेर गरिब जनतालाई ईसाई बनाइएको तथ्य पेस गरेको छ ।
मकवानपुरको मनहरीबाट द गार्जियन दैनिकका पीट प्याटिसनले संप्रेषण गरेको समाचारअनुसार नेपालका गरिब जनताहरू समाजमा दलित भनेर पाखा पारिएपछि ईसाई धर्ममा लागेका छन् । उनीहरुमा पैसाको लोभमा परेर धर्म परिवर्तन गर्ने चलन देखिएको र यसले गर्दा हिन्दू बाहुल्य भएको नेपाललाई अप्ठेरो परेको समाचारमा उल्लेख छ ।
अहिले नेपालमा दश लाखभन्दा बढी नागरिकले आफूलाई ईसाई भनेर चिनाउने गरेको र तिनीहरूमध्ये पनि ६५ प्रतिशत दलित रहेको नेपाल ईसाई फेडेरेशनले जनाएको छ । नेपालले आफूलाई हिन्दू राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्रको रुपमा संविधानमा परिवर्तन गरेपछि अन्य धर्ममा लाग्नेको संख्या बढेको सो समाचारमा उल्लेख गरिएको छ ।
समाचारको मुख्य सारचाहिँ अहिले अरु धर्मबाट ईसाई धर्ममा परिवर्तन हुने देशहरूमा नेपाल अग्रस्थानमा भए पनि यो बदलाव केवल पैसाको कारण भएको हो, धार्मिक आस्थाको कारण होइन भन्ने छ । ईसाई धर्म प्रचारका लागि कति पैसा खन्याइएको छ भन्ने एक उदाहरणस्वरूप द गार्जियन लेख्छ, ‘मनहरीजस्तो सानो बजारमा दुईवटा मस्जिद, पाँचवटा गुम्बा र १० वटा मन्दिर छन् भने चर्चचाहिँ ३५ वटा पुगिसकेका छन् ।’
मनहरी क्षेत्रमा चर्च बढ्नुको कारण भूकम्पपछिको सहयोगमा क्रिश्चियन मिशन धेरै सक्रिय रहनुलाई मानिएको छ । इटालिएन मानवशास्त्री डायना रिबोलीका अनुसार भूकम्पपछि चर्चको संख्या अत्यधिक बढेर गएको छ र यो क्षेत्रमा धेरैजसो चर्चका अगुवा चेपाङ जाति रहेका छन् ।
पूर्ण बहादुर प्रजा नामक एक धामीको भनाइ उद्धृत गर्दै द गार्जियन भन्छ, ‘ती लोभी हुन्, भूकम्पपछि तिनीहरूलाई चर्च बनाउन बाइबल, चामल, लुगा, कम्बल र पैसा प्राप्त भयो । चर्चका पास्टर (पुजारी) हरूले मोटरसाइकल पाए । यस्ता व्यक्ति सधैं ई–मेलमा विदेशीसँग पैसा माग्ने काम गर्छन् ।’
स्थानीय बजारमा इलेक्ट्रोनिक्स पसल थापेर बसेका एक चेपाङ पास्टर महिबल प्रजाले पूर्ण बहादुर प्रजाको कुरामा असहमति जनाए पनि उनले चर्चमा प्रार्थनाको समयमा आफैंले पैसाको कुरा प्रमाणित गरेको पत्रिकाले उल्लेख गरेको छ । महिबल प्रजाले भनेका छन्, ‘धेरै व्यक्तिले ईसाई धर्मका नाममा निकै पैसा कमाएका छन्, तर ती सच्चा ईसाई होइनन् ।’
उनले यो कुरा चर्चमा सम्बोधन गर्दा बोलेको पत्रिकाले लेखेको छ । महिबल प्रजाले अगाडि भनेका छन्, ‘यो चर्चलाई नयाँ भवन चाहिएको छ । भगवान ! कृपया गरेर नयाँ भवन देऊ ।’ चर्चमा उभिएर भगवानसँग चर्चका लागि भवन मागेको कुराले पनि आस्थाभन्दा पैसाले बढी ठाउँ पाएको देखाउँछ ।
बाह्रखरीबाट