काठमाडौं : विशेष अदालतले गुन्डागर्दीलगायत आपराधिक गतिविधिबाट अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा गुन्डा नाइके गणेश लामालाई दोषी ठहर गरेको छ । उनले आपराधिक गतिविधिबाट १ करोड ४० लाख ५० हजार बराबर अवैध सम्पत्ति कमाएको ठहर गर्दै विशेष अदालतले एक वर्ष कैद र बिगो बराबरको सम्पत्ति जफत हुने फैसला गरेको छ ।
अदालतले अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठह¥याइएका लामा पहिलो गुन्डा नाइके हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र रत्नबहादुर वागचन्दको संयुक्त इजलासले बिहीबार लामालाई दोषी ठहर गरेको हो । सम्पत्ति शुद्धीकरण विभागले गुन्डागर्दी र आपराधिक गतिविधिबाट लामाले २७ करोड १ लाख ६१ हजार ५८ रुपैयाँ ६० पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो । अदालतले लामाकी पत्नी लक्ष्मी, बाबु पाल्साङ, आमा रञ्जु तथा भाइहरू विनोद र राकेशलाई भने सफाइ दिएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । लामाले सम्पत्ति नातेदारको नाममा समेत राखेको अभियोग थियो ।
सम्पत्ति शुद्धीकरण नियमावली २०६४ लागू हुनुपूर्व लामाले आर्जन गरेको सम्पत्ति यस मुद्दामा समेट्न नमिल्ने देखिएकाले १ करोड ४० लाख ५० हजार बिगोसम्म अभियोग दाबी बमोजिमको कसुर पुष्टि भएकाले बिगोबराबर सम्पत्ति जफत हुने फैसला भएको प्रवक्ता पोखरेलले बताए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा विभागले २०७० साल जेठ ५ मा मुद्दा दायर गरेको थियो । लामासँगै मुद्दा दायर गरिएका अन्य चार जनाले सम्पत्तिको स्रोत खुलेपछि सफाइ पाएका थिए । लामाले आफ्नो र परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा लगानी गरेको पाइएको छ । उनले काठमाडौं, भक्तपुर र ललितपुरमा दुई सय रोपनीभन्दा धेरै रोपनी जग्गा खरिद गरेको अभियोगपत्रमा विभागले उल्लेख गरेको थियो ।
एक करोड ४० लाख ५० हजार कमाएको ठहर।एक वर्ष कैद र बिगो बमोजिमको सम्पत्ति जफत२७ करोड १ लाख ६१ हजार ५८ रुपैयाँ अभियोग दाबी
महान्यायाधिवक्ताको कार्यालयले प्रतिवादी लामाको हकमा २०६७ साल असार २० गते सम्पत्ति शुद्धीकरणको मुद्दा नचल्ने निर्णय गरेको थियो । अपराधबाट जोगिन विभिन्न राजनीतिक दलको सदस्यता लिने गरेका लामालाई प्रहरीले पछिल्लो पटक २०७४ फागुन ३० गते राजधानीको गौशालास्थित पशुपति भिजन होटलबाट पेस्तोलसहित पक्राउ गरेको थियो । होटलमा गोली चलेपछि महानगरीय प्रहरी वृत्त गौशालाले लामालाई एक थान पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । उनले होटलभित्र पसेका दुई युवाले आफूमाथि गोली चलाएर फरार भएको बयान दिएका थिए ।
चैत २ गते कांग्रेसको काभ्रेपलाञ्चोक जिल्ला सभापति मधु आचार्यले पत्रकार सम्मेलन गरी लामा निर्दोष भएको दाबी गर्दै रिहा गर्न माग गरेका थिए । प्रहरीले उनलाई सुनियोजित रूपमा पक्राउ गरेको भन्दै चैत ३ गते बनेपा गोदामचोकमा कांग्रेस कार्यकर्ताले मसाल जुलुससहित विरोध प्रदर्शन गरेका थिए ।
लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र १ अन्तर्गत प्रदेशसभा २ का कांग्रेसका उम्मेदवार थिए । उनी एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए । यसअघि उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य थिए । गच्छदार कांग्रेसमा विलय भएपछि उनी पनि कांग्रेसमा समाहित भएका थिए ।
अन्नपूर्णपोष्टबाट