राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

के हो शिव तत्व एवं शिव लिंग ?

आइतवार, २७ साउन २०७५ २३:३३

-आचार्य श्री सुजन शास्त्री

संसारमा सवै प्राणि आनन्द को खोजीमा लाग्दछ। चाहे कमिलो होस् या हात्ती सवै आनन्द सुख नै चाहन्छन्। तर प्रश्न छ कतिले प्राप्त गरे त सुख? हो यहि सुखको वास्तविक स्वरूप भनेकै शिव तत्व हो। हामि मानवहरु पनि ऋषि-मुनिहरूद्वारा आर्जित  यज्ञ,दान,तप,योग, नामजप आदिलाई आफ्नो जीवनको आधार मानेर  विविध प्रकारका अनुष्ठान गर्दछौं।

वैदिक सनातन धर्ममा अत्यन्त उच्च मनोवैज्ञानिकता पाईन्छ।वैदिक परम्मपरा नै सृष्टिसञ्चालनको आधार हो। विविधता र व्यापकता अङ्गालेको वैदिक परम्परामा सामाजिक जीवन यापनको पनि तेत्तिकै महत्व र वैशिष्ट्य देखिन्छ। अनेक देव देवादिको उपासना आराधना गर्ने गरिन्छ। धर्म ,अर्थ, काम, मोक्ष यी चार पुरुषार्थ मानव जीवनको ध्येय हो। प्रारब्धवस हुने अनेक वाधा व्यवधानमा मनलाई एकाग्र गर्नको लागि वेद एवं पुराणहरुमा भगवान शिवको उपासनालाई प्रधान मानिएको छ। चार पुरुषार्थको अन्तिम प्राप्तव्य पुरूषार्थ मोक्ष प्राप्त गर्न ज्ञान नै साधन मानिएको छ। उपनिषद मा वाक्य आऊछन् “ऋते ज्ञानान्न मुक्तिः,ज्ञानादेव तु कैवल्यम् ” अर्थात् ज्ञान विना मुक्ति प्राप्त संभव छैन र ज्ञान द्वारा नै परमान्दको स्वरुप मोक्ष सम्भव छ । त्यसैले ज्ञान प्राप्ति स्वयंप्रकाश भगवान शिवद्वारा नै हुन्छ। शास्त्रहरुको उद् घोष छ “विद्याकामस्तु गिरिशम्” “ज्ञानमिच्छेन्महेश्वरात्”।

“शिव” यो दुई अक्षर कल्याणस्वरुप हो अद्वैत शक्तिको नाम नै शिव हो। भनिएको छ’-
“यतः सर्वं समुत्पन्नं निर्गुणात् परमात्मनः।
तदेव शिवसंज्ञं हि वेदवेदान्तिनो विदुः ।।”
वास्तवमा भन्ने हो भने शिव तत्वको महिमा श्रुतिः, स्मृति, पुराणादिमा वर्णन गरिएको छ।यजुर्वेदले शिव तत्वको स्पष्टरुपमा वर्णन गरेको पाईन्छ। शुक्ल यजुर्वेदको सोह्रौं अध्यायमा पुरै 66मन्त्र केवल शिव तत्वको एकल महिमा छ। ऋग्वेदले पनि अग्नी शब्दद्वारा महेश्वर(शिव) तत्वलाई नै वर्णन गरेको छ।माण्डूक्य-जाबालि आदि उपनिषद् हरुले पनि  शिव तत्वलाई उजागर गरेको कुरा अध्ययन गर्दा भेटिन्छ। वस्तुतः ब्रह्मा, विष्णु, महेश्वर सवै एउटा तत्वको नाम हो जसलाई शिव तत्व भनिन्छ।

वेदप्रतिपादित शिवतत्वको उपासना आराधनाको विस्तार शिवमहापुराणमा 24000 श्लोकहरुमा पाईन्छ। मर्यादा पुरूषोत्तम भगवान् रामचन्द्र, त्यसैगरि लीलापुरुषोत्तम भगवान् श्रीकृष्णले पनि शिवतत्वको तात्विकता प्रतिपादिद गर्नुभयो। चाहे त्यो भगवान् श्रीरामले रामेश्वरम् को स्थापना गरेर होस् या भगवान् श्री कृष्णले महारास मण्डलमा शिवतत्वलाई आह्वान गरेर गोपेश्वरको आराधना गरेर होस्। आखीर यो संसार अझ ब्रह्माण्ड नै शिवतत्व रहेछ भन्ने कुरा यी सवै घटना परिघटनावाट उजागर हुन्छ। द्वैतको , भेदको दृष्टि नै अशिव हो र अद्वैतको दृष्टि नै “शिव” हो शिव तत्व हो। एउटै शिवतत्व आफ्नो कार्यभेदको कारणले अनेक नामले हाम्रो लागि उपास्य बन्दछन्।

शिवको साकार स्वरुपमा अनेक नाम र ज्योतिर्लिंगहरुको वर्णन शास्त्रमा पाईन्छन्। द्वादश ज्योतिर्लिंग। एऊटै शिवका पांच मुख “वामदेव,सद्योजात,अघोर,तत्पुरूष,ईशान यी सवै उपासनाको निम्ति हुन्।

शिवलिंगको विधिवत् पूजन गर्नाले समस्त कामनाहरु पूर्ति हुनेछ। शिव स्वरुपलाई नै शिवलिंग भनिएको हो। केहि नास्तिक अबुझहरुले लिंग शब्दको गलत ब्याख्या गरेको पाईन्छ। वास्तवमा “लिंग”  शब्द चिन्ह अर्थमा हो न कि जननेन्द्रिय अर्थमा। भनिएको छ–“लीनार्थगमकं चिन्हं लिंगमित्यभिधीयते।” अर्थात् अव्यक्तावस्थापन्न वस्तुलाई इङ्गित गरिने चिन्हलाई लिंग भनिन्छ। तेस्तै विभिन्न आर्षग्रन्थहरुमा समेत लिंग शब्दले चिन्ह, स्वरुप, लक्षण नै जनाएको पाईन्छ। न्यादर्शनमा गौतम मुनिले लिंग शब्दको अर्थ लक्षण या स्वरुप वताऊनु भएको छ। जस्तै मनको लक्षण–“युगपज्ज्ञानानुत्पत्तिर्मनसो लिंगम्”(न्यायदर्शन 1-16)”। तेस्तै  वैशेषिक दर्शनमा पनि पाईन्छ। अतः यी सवै दार्शनिक प्रमाणद्वारा स्पष्ट हुन्छ लिंग शब्दको अर्थ चिन्ह, लक्षण, स्वरुप, निशान,अनुमापक आदि आदि।

यसरी शिवस्वरुप शिवलिंगको पूजा आराधना सवै प्राणि जाति ले गर्न सक्छन्। भनिएको छ-
“ब्राह्मणःक्षत्रियो वैश्यः शूद्रो वा प्रतिलोमजः।
पूजयेत् सततं लिङ्गं तत्तन्मन्त्रेण सादरम्।।”

आजको यस विकराल परिस्थितिमा छट्पटाहटको जीवन यापन गर्ने समस्त मानव जातिले शिवोपासना गरेर आफ्नो कल्याण गर्न सक्दछन्। किन की शिवोपासना “सत्यं शिवं सुन्दरम्” को स्थानको पहिचान प्राप्त गर्ने माध्यम हो। ॐ अस्तु।

थप जानकारी