राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

सार्क कै नमुना गाँउ, लमजुंगको घले गाँउ

शनिवार, ६ आश्विन २०७५ १३:४७

गिरीराज पुरुष, लमजुंग जिल्लाको सदरमुकाम वेसीशहर देखि उत्तर पश्चिममा रहेको घले गाँउ समुद्रि सतह देखि करिव २१०० मिटर उचाईमा रहेको छ। घले गाँउ कोलासोतारा गाउँपालिकाको वर्डा नम्वर ३ मा पर्दछ। पर्यटकिय दृष्टिकोंणले निकै सुन्दर घले गाउँको पुर्व तर्फ सिमपानी, दक्षिण तर्फ दुरा,पश्चिम तर्फ पास र उत्तर तर्फ गानपोखरा गाँउहरू रहेका छन। सार्क स्तरमा नमुना गाँउको रूपमा रहेको परिचित घले गाँउ भिन्न संस्कृति,जाती,पेशा,व्यवसाय र रहनसहनको रूपमा परिचित छ। ऐतिहासिक रूपमा भुरे राज्य अन्तर्गत घलेहरूलाई दौडमा पराजित गरी वि.स. १६५९को भाद्र महिनामा गोरखा राज्यको स्थापना भएको इतिहांस पाईने हुनाले घलेहरूको पहिचानको रूपमा घलेगाँउ रहन गएको हो। घले र गुरूंगहरूको बाक्लो बस्तिरहेको घले गाउँमा तिव्वति,भोटवर्मेली,गुरूंग लवजको भाषा र आफ्नै मौलिक सांस्कृतिक पहिचान रहेको छ।

प्राकृतिक सौन्दर्यताले भरिपुर्ण घलेगाँउ अन्न पुर्ण संरक्षण क्षेत्र आयोजना भित्र पर्दछ। अनुपम प्राकृतिको मनमोहक छटाले भरिएको घलेगाँउ बाट सेताम्य हिमालहरूको अवलोकन गर्न पाईन्छ।यहाँ देखि माछापुछ्रे,अन्नपुर्ण, लमजुंग,डा.हर्क गरूंग हिमचुली,मनास्लु,लास्मा,बुद्ध लगायतका हिमालहरू देख्न पाईनुका साथै पोखरामा रहेको शान्ती स्तुपा समेत देख्न सकिन्छ।विहानि पख उदाएको सुर्यको किरँणले स्पर्श गरेका हिमालका छातिहरूमा झल्किएको सुन्दरताले जो कसैको पनि मन लोभ्याउन गर्दछ। मनोरम प्राकृतिले भरिएको घलेगाँउमा उत्तर कन्या मन्दिरको दर्शन गर्न पाईनुका साथै मन्दिर परिसरमा उत्तर तर्फ फर्केको सप्तकुवाको पनि दर्शन गर्न पाईन्छ। त्यस मन्दिरमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा ठुलो मेला लाग्ने गर्दछ।

आफ्नै भाषा,संस्कृति,भेषभुषा,रितिरिवाज र परम्परा भएको यस घले गाउँ परम्परागत गुरूंग रहनसहन,घाटु नाच,कृष्णचरित्र,सेर्को नाचहरू हेर्न पाईन्छ।गुम्वा,परम्परागत सभास्थल र गुरूंग संग्राहलय रहेको यस घले गाँउ सांस्कृतिक विविधताले पनि भरिपुर्ण रहेको पाईन्छ। करिव १२५ घरधुरी रहेको यस घलेगाँमा विभिन्न जातजातीका मानिसहरू बसेवास गर्ने गरेको पाईन्छ।यसरी विभिन्न जातजातीहरूको बसोवास रहेको घलेगाउँमा आएका पर्यटकहरूलाई साँझको ८ बजे देखि १० बजे सम्म घाटुनाच तथा लोकदोहोरीका मिठा भाकाहरूले मनोरंजन गराउने गरिन्छ।त्यसका लागि उनिहरूले केहि शुल्क पनि लिने गर्दछन। त्यहाँको सांस्कृतिक कार्यक्रमहरू हेर्न चाहेको खण्डमा विदेशी पर्यटकहरूका लागि रू १०,००० तथा स्वदेशि पर्यटकहरूका लागि रू ५,००० शुल्क तोकिएको छ भने विधार्थिहरूका लागि केहि छुटको व्यवस्था पनि गरिएको छ।

ग्रामिण पर्यटनको दृष्टिकोणले सार्ककै नमुना गाउँका रूपमा रहेको घलेगाँउ वेसीशहर देखि करिव ३-४ घण्टा(यातायात) र ७-८ घण्टाको पैदल यात्रा पछि पुगिन्छ। चण्डी डाँडा, विम्दावेसी,पुमा,बागलुंगपानी,कपुर गाँउ,हुंदै घले गाँउ पुग्न सकिन्छ।वेशिसहर देखि घलेगाँउ सम्मको बाटो कच्चि,जोखिम पुर्ण तथा साँघुरो भएकोले ठुला सवारी साधनहरू जान सक्दैनन। मोटरसाईकल तथा साना सवारी साधनहरूहरूका लागि बाटो सहज छ। वेशीसहर देखि घलेगाँउ सम्म पुग्दा कतिपय बाटोका कति पए मोडहरूमा डरलाग्ने, बाटो अप्ठेरो भएकोले थकाई लाग्दछ।जव घलेगाँउ पुगिन्छ त्यहाँको वातावरणले सबै कुरा विर्सिएर एउटा छुट्टै आनन्द आउँछ। घलेगाँउ प्रवेश गरे लगत्तै त्यहाँका आमाहरू चामलको सेतो टिका, फुलपाती तथा विभिन्न किसिमका रंगीचंगी फुलहरू लिएर स्वागत गर्न आईपुग्छन । फर्किने बेलामा पनि त्यसैगरी विदाई गर्दछन।

पर्यटकहरूको राम्रो गन्तव्यको रूपमा रहेको यस गाँउमा दैनिक सयौँको संख्यामा आन्तरिक तथा बाहिह्य पर्यटकहरू आउने गरेका छन।यहाँको प्राकृतिक सुन्दरता हेर्न, अर्गानिक खानपान,कोदोको विभिन्न परिकार,सिस्नोको खोले,गुन्द्रुकको अचार तथा विभिन्न अर्गानिक खानाको स्वाद लिनको लागि युरोप,अमेरिका, जर्मन,चाईना तथा कोरिया जस्ता देशहरू बाट पर्यटकहरू आउने गरेका छन।खान तथा बस्नको लागि राम्रो सुविधाको व्यवस्था गरिएको छ। आधुनिक जीवनशैली अंगालेका पर्यटकहरूका लागि WiFi को राम्रो सुविधाको पनि व्यवस्था गरिएको छ। २१ औं शताब्दीमा आउँदा विश्व परिवर्तनशील भै राखेको अवस्थामा जो कोही व्यक्ति वा समुदाय आफु सुहाउँदो परिवर्तन खोज्ने गर्दछन भने घले गाउँका बासिन्दा उनीहरूको पुरानै रहनसहन,रीतिरिवाज संस्कृतिमा कुनै परिवर्तन आएको छैन। किनभने उनीहरूले त्यस क्षेत्र,समुदाय र संस्कृति जोगाउन र चिनाउनको लागि हरदम प्रयासरत छन।

मानिस सँधै एकै ठाँउमा बसिरहन मन पराउँदैन त्यसैले कहिले काही आफुलाई उपयुक्त हुने शान्त,रमणिय वातावरणको खोजी गरी केहि समयको लागि घुम्न निस्कन्छ। सहरी जीवनबाट दिक्क भएका मानिसहरू केहि समय तनाव मुक्त हुनको लागि गाँउ घुम्न जाने गर्दछन् त्यस्तै शान्त,रमणिय,प्राकृतिक छटाले युक्त वातावरणको लागि घलेगाउँ उपयुक्त हुनुका साथै त्यहाँको संस्कृतिमा रमाउने अवसर पाउन सकिन्छ।

थप जानकारी