राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

नौदुर्गामा निहित नौऔषधि र मनुष्यको शक्ति, सामर्थ, ज्ञान, वैराग्यको बृद्धि

बिहिवार, २५ आश्विन २०७५ १२:३८

हरि कौडिण्य । सनातनी धर्म संस्कारको गहिराई जति नाप्न खोज्यो त्यती नै कम लाग्दछ । एक श्लोकको अर्थ प्रस्ट्याउदा एक पुस्तक हुन पुग्दछ । यसैको एक सानो उदाहरणको नवदुर्गा साधना । हामीले काम, क्रोध, लोभ परित्याग गरि धर्म, मोक्ष हुने थाहा पाएको यो साधनालाई शास्त्रले औषधिय रुपान्तरण रहेको गुप्त रहस्य समेत छ ।

एक वर्षमा दुई गुप्त नवरात्र र दुई अगुप्त नवरात्र गरि चार नवरात्र रहेका हुन्छन् । नवरात्र मूलत नवदुर्गाको आराधना गर्ने मुख्य समय हो । नवदुर्गाको साधनाले मनुष्यको शक्ति, सामर्थ, ज्ञान, वैराग्यको बृद्धि गरि मोक्षको प्राप्ती मात्र हैन यसमा अनेक प्रकारका औषधिको गुण पनि निहित रहेको पाईन्छ ।

शास्त्रहरुमा उल्लेख भए अनुसार नवदुर्गाको नौ रुप नौ औषधिको रुपमा पनि कार्य गरि भक्तहरुको ताप हरण गर्दछ । सर्वप्रथम यस पद्दतिलाई मार्कण्डेय चिकित्सा पद्दतिको रुपमा दर्शाइएको भएता पनि यो गुप्त नै रहन पुग्यो । यस चिकित्सा प्रणालीको रहस्यलाई सृष्टिकर्ता ब्रह्माजी ले दुर्गाकवच नाम दिनुभएको छ । यसमा ब्रह्माजीले नौ प्रमुख दुर्गाको विवेचना गर्नुभएको छ । यि नवदुर्गाहरु दिव्य गुणधारी नौ औषधिहरु समेत हुन् ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी
तृतीयं चंन्द्रघण्टेति कुष्माण्डेती चतुर्थकम ।।
पंचम स्कन्दमातेति षष्ठं कात्यायनीति च
सप्तमं कालरात्रीति महागौरीति चाष्टम ।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिता ।।।

यो नवऔषधि प्राणीको समस्त रोग हर्ने र रोगबाट बचाईराख्नको निमित्त कवचको कार्य गर्दछ । प्राणीमात्रको पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियमा यो अत्यधिक प्रभावशिल रहेको छ । यसको प्रयोगबाट मनुष्यको अकाल मृत्यु बाट रक्षा भई पूर्ण आयु प्राप्त हुने हुन्छ । यि देविहरु प्राणीको रक्त विकार पैदा गर्ने सकल रोगाणुहरुको कालको रुपमा समेत रहेका हुन्छन् । नवदुर्गाको नाम अनुसारको औषधिय गुण निम्नानुसारको रहेको छ ः

नौदुर्गामा निहित नौऔषधि, मनुष्यको शक्ति, सामर्थ, ज्ञान, वैराग्यको बृद्धि

१. शैलपुत्री

प्रथमरुपको मानिएकी देवीलाई शैलपुत्रीको नामबाट चिनिन्छ । यिनलाई औषधिय भाषामा हिमावती (हरड) पनि भनिन्छ । यो आर्युवेदको प्रधान औषधि हो जो सात प्रकारको रहेको छ जो निम्नानुसारको रहेको छ ः
१. हरीतिका (हरी) – यो भय हर्ने भनिएको छ ।
२. पथया – यो हित गर्ने भनिएको छ ।
३. कायस्थ – यसले शरिरलाई बनाउँछ भनिएको छ ।
४. अमृता – यो तत्व अमृत समान भनिएको छ ।
५. हेमवती – यो तत्व हिमालयमा हुने भनिएको छ ।
६. चेतकी – यो तत्वले चित्तलाई प्रशन्न गर्ने भनिएको छ ।
७. श्रेयसी – यो तत्वलाई कल्याण गर्ने यशदाता शिवा भनिएको छ ।

२. ब्रह्मचारिणी

द्वितिय रुप ब्रह्मचारिणीलाई ब्राह्मी पनि भनिन्छ । दुर्गाको यस रुप आयु बृद्धि, स्मरण शक्ति बढाउन, रुधिर विकारको नाशक तथा स्वरलाई मधुर बनाउने कारक मानिन्छ ।
मन र मस्तिष्कलाई शक्ति प्रदान गर्ने भएकोले ब्राह्मीलाई सरस्वती पनि भनिन्छ । बायु विकार तथा मुत्र सम्बन्धि रोगको प्रमुख औषधिको रुपमा रहेकोले यो मुत्रको माध्यम द्वारा रक्त विकार शरिर बाहिर फाल्न समर्थ रहेको छ । अतः उल्लेखित रोगबाट पिडितहरुले ब्रह्मचारिणीको यत्न पूर्वक आराधना गर्नु पर्दछ ।

३. चन्द्रघण्टा

दुर्गाको तृतिय रुपमा रहेको चन्द्रघण्टा लाई चनदुसूर वा साधारण भाषामा चमसुर पनि भनिनेगरेको पाईएको छ । (चमसुर एक यस्तो पौधा हो जो धनियाँ समान हुन्छ र यस पौधाको पातहरुबाट तरकारी समेत बनाईन्छ)
यो कल्याणकारी औषधि मोटोपना घटाउने कारक भएकोले यसलाई चर्महन्ती पनि भनिन्छ । शक्ति बृद्धिकारक, खत शुद्ध गर्ने एवं हृदयरोग ठिक गर्ने चंद्रिका औषधी हो । अतः यि उल्लेखित विमारीबाट पिडीतहरुले चन्द्रघण्टाको पूजा गर्नु कल्याणकारी हुन्छ ।

४. कुष्माण्डा

दुर्गाको चौथो रुप कुष्माण्डा हो जसलाई कुम्हडा (कुभिण्डा) पनि भनिन्छ । यो पुष्टिकारक, विर्यलाई बल दिने, रक्तको विकारलाई ठिक गर्ने तथा पेटलाई सफा गर्ने छ । मानसिक रुपबाट कमजोर व्यक्तिको लागी यो अमृतनै हो । यसले शरीरको समस्त दोष हरेर हृदयको रोगलाई ठिक गर्दछ साथै रक्त पित्त तथा वायु नाशकको रुपमा पनि रहन्छ ।

५. स्कंन्दमाता

दुर्गाको पाँचै रुप स्कन्दमाता हो जसलाई पार्वती एवं उमा पनि भनिन्छ । औषधिको रुपमा यिनलाई अलसी भनि मानिन्छ । यो वाथ, पित्त, कफ आदि रोगको अचुक औषधी हो ।
यिनको बारेमा संस्कृतमा एक श्लोक निम्नानुसारको छः
अलसी नीलपुष्पी पावर्तती स्यादुमा क्षुमा ।
अलसी मधुरा तिक्ता स्त्रिग्धापाके कदुर्गरुः ।।
उष्णा दृष शुकवातन्धी कफ पित्त विनाशिनी ।

६. कात्यायनी

दुर्गाको छैठौं रुप कात्यायनी हो । आर्युवेद शास्त्रमा यसलाई कयौं नामले जानिन्छ जस्तै अम्बा, अम्वालिका, अम्बिका । कतै मोइया त कतै माचिका पनि भनिएको पाईन्छ । यो कफ, पित्त, अधिक विकार एवं कंठको रोगहरु नश गर्ने छ ।
यिनको बारेमा संस्कृतमा एक श्लोक निम्नानुसारको छः
प्रस्थिकाम्बष्ठा तथा अम्बा, अम्बालिका, अम्बिका
खताविसार पित्तास्त्र कफ कण्डामयापहस्य ।।

७. कालरात्रि

दुर्गाको सातौं रुप कालरात्रि हो जसलाई महायोगिनी, महायोगिश्वरी पनि भनिन्छ । औषधीको रुपमा यसलाई नागदौन भनिन्छ । सवै प्रकारका रोगहरु नाश गर्ने, सर्वत्र विजय दिलाउने तथा मन एवं मस्तिष्कका समस्त विकारहरुलाई भगाउने औषधिको रुपमा चिनिने भएकोले यसको पौधा सवैले घरमा लगाउन सवर्था उचित हुन्छ । यो सर्व सुखदायक तथा सर्व विष शमनकर्ता हो ।

८. महागौरी

दुर्गाको आठौं रुप महागौरी हो । औषधीको रुपमा यसलाई तुलसी भनिन्छ । तुलसी सात प्रकारको हुन्छ (सेतो, कालो, मरुता, दवना, कुढेरक, अर्जक तथा षटपत्र) । यि सवै प्रकारका तुलसी रक्त शुद्धिकरणकारक तथा हृदयरोग नाशक मानिन्छ ।
यिनको बारेमा संस्कृतमा श्लोक निम्नानुसारको छः
तुलसी सुरसा ग्राम्या सुलभा बहुमंजरी ।
अपेतराक्षसी महागौरी शूलघ्नी देवदुन्दुभिः ।।
तुलसी कटुका तिक्ता हुध उष्णाहाहपित्तकृत् ।
मरुदनिप्रदो हध तीक्षणाष्णः पित्तलो लघुः ।

९. सिद्धिदात्री

दुर्गाको नवौं रुप सिद्धिदात्री हो जसलाई नारायणी या शतावरी पनि भनिन्छ । औषधीको रुपमा शतावरीले बुद्धि, बल एवं विर्य बृद्धि गर्दछ । यो रक्त बिकार एवं पित्तशोध नाशक पनि हो । हृदयलाई बल दिने महाऔषधी हो ।

यस प्रकार मार्कण्डेय पुराणमा नौ दुर्गालाई नौ प्रकारका औषधिको रुपमा व्याख्या गरेको छ जसले प्राणिमात्रको कल्याणार्थ प्रत्येक रोगलाई निर्मुल गरि शरिरलाई स्वस्थ गर्दछ । अतः मनुष्यले दृढ संकल्पद्वारा यिनको अराधना तथा सेवन गर्नु पर्दछ ।

थप जानकारी