राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

राणाले सुगौली सन्धिपूर्वको जमिन फिर्ता लिन खोजेकाले राजा त्रिभुवनलाई दिल्ली लगिएको हो

मङ्गलवार, २० कार्तिक २०७५ १५:४२

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले राणाले सुगौली सन्धिपूर्वको जमिन फिर्ता लिन खोजेकाले राजा त्रिभुवनलाई दिल्ली लगिएको बताएका छन् ।

आफ्नो फेसबुकमा पोष्ट लेख्दै नेपालले राणा सरकारले सुगौली सन्धिपूर्वको जमिन फिर्ता लिने उद्देश्यले बेलायतसँग सन्धि गरेको देखेपछि यो घटनालाई विषयान्तर गर्न त्रिभुवनलाई दिल्ली लगेर नेपाली काँग्रेसलाई राणाविरुद्ध अान्दोलनमा उतारेको भनी दाबी गरेको छन् ।

नेपालले अाज नोभेम्बर ६ तारिख, ठिक अाजकै दिन सन् १९५० नोभेम्बर ६ । तत्कालीन राजा श्री ५ त्रिभुवन वनभोज जाने बहानामा नारायण हिटी राजदरबारबाट सपरिवार तत्कालीन भारतीय राजदूतावास शीतल निवासभित्र प्रवेश गरे र केही दिनपछि भारतीय राजदूतावासकै निगरानीमा दिल्लीतर्फ प्रस्थान गरेको बताएका छन् ।

उनी भन्छन् “धेरैलाई लाग्छ, राजा त्रिभुवन राणाशासनबाट वाक्कदिक्क भएर राणाहरूले खोसेको शासनसत्ता फर्काउन नेहरूसँग गुहार माग्न भनेर दिल्ली गएका हुन् । यो पनि एक प्रकारको अनुमान वा अड्कलबाजी हो । वास्तवमा त्रिभुवन अाफूखुसी दिल्ली गएकै होइनन् । राजालाई भारतीय सत्ताले अपहरणको शैलीमा जबर्जस्ती दिल्ली पुर्याएको थियोे ।”

नेपालले “दार्जिलिङ नेपालमा पुनः एकीकृत गर्नुपर्ने प्रस्ताव लिएर डम्बरसिंह गुरुङको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सन् १९४६ डिसेम्बर १ तारिखमा काठमाडौँ अाई तत्कालीन राणा सरकारलाई ज्ञापनपत्र बुझाएको विषयमा जानकार रहेको बेलायत सरकारले नेपालसँग सन् १९५० अक्टोबर ३० तारिखमा सन्धि गरी त्यसको प्रस्तावना र धारा ८ अनुसार सुगौली सन्धि रद्द गरेको थियो । यसरी राणा सरकारले सुगौली सन्धिपूर्वको जमिन फिर्ता लिने उद्देश्यले बेलायतसँग सन्धि गरेको देखेपछि यो घटनालाई विषयान्तर गर्न त्रिभुवनलाई दिल्ली लगेर नेपाली काँग्रेसलाई राणाविरुद्ध अान्दोलनमा उतारेको हो ।” भनी बताएका छन् ।
यसलाई पुष्टि गर्ने सामग्री परराष्ट्र मन्त्रालयमा रहेको नेपालले दाबी गरेका छन् ।

थप जानकारी