काठमाडौं । ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालले पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन उनको सम्मानमा बिदा नदिएर सरकारले क्रिस्चियन मिसनरीलाई खुसी पार्न खोजेको बताएका छन् ।
उनले अागामी वर्ष थपिएका राष्ट्रिय बिदाको सूचीमा पनि पृथ्वी जयन्तीको उल्लेख नभएको कारण पृथ्वीजयन्तीमा विदा नदिएर सरकारले क्रिस्चियन मिसनरीलाई खुसी पार्न खोजेको हो भन्न बाध्य भएको बताएका हुन् ।
नेपालले फेसबुकमा स्ट्याट्स लेख्दै भन्छन् , ” रसियामा जारहरूको शासन ढल्यो तर तिनका शालिकहरू ढालिएनन् । लेनिन र स्टालिनहरूले भने, जारहरूले रुसलाई एकताबद्ध गरेका हुँदा जारहरू राष्ट्रवादी हुन् । तर नेपालमा अाफूलाई अब्बल दर्जाका कम्युनिस्ट भन्नेहरूले पृथ्वीनारायण शाहको शालिक ढाले , शालिकको श्रीपेच घनले हानेर निकाले । पृथ्वीनारायण शाहको नाम जसले लिन्छ त्यो प्रतिगामी र परिवर्तनको विरोधी हो भने । बाबुले कमाएको सम्पत्ति भागबन्डा गरेर तिनै बाबुलाई सडकमा पुर्याउने कपूत जस्तो बनेका छन् नेपालमा अाफूलाई वरिष्ठ नेता भन्नेहरू । यिनको चरित्रको शैली देखेर अन्तर्राष्ट्रिय जगत् कति हाँस्तो हो ! ”
त्यस्तै ” भारतलाई अङ्ग्रेजहरूले एक गरिदिए तर राष्ट्रपिता भए महात्मा गान्धी । नेपाललाई एक गरे पृथ्वीनारायण शाहले तर उनलाई किन गरिस् पुन: एकीकरण ? भनेर भद्दा गाली गरियो । तैैँले पुन: एकीकरण गरेकाले हामी बेलायतीहरूका नोकर हुन पाएनौँ भनेर सराप्नेहरू पनि देखिएको नेपालले बताएका छन् ।
नेपालले अझै समय बाँकी छ, गल्ती सच्याउनु महानता हो भएको बताएका छन् भने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाल मार्फत सरकारलाई पुस २७ गते राष्ट्रिय दिवसका रूपमा पृथ्वी जयन्ती मनाउन र राष्ट्रिय रूपमै बिदा घोषणा गर्न समेत अाग्रह गरेका छन् ।