राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

प्राचीन प्रमाण पद्धति :डा निर्मलमणी अधिकारी

शुक्रवार, ४ माघ २०७५ २०:५२

मान्छे स्वाभाविक तवरलेनै शंकालु छ भनिन्छ । कसैले यसै हुन्छ भन्योभन्दैमा त्यत्तिकै स्वीकार नगरी जाँच-परख गर्न चाहन्छ ऊ । कुनैपनि तथ्य ठिक वा बेठिक साबित गर्नकालागि प्रमाण चाहिन्छ भन्नेमा प्रागैतिहासिक काल देखिनै दार्शनिकहरु सहमत छन् ।

आधुनिक विज्ञान त झन् प्रमाणको जगमा नै उभिएको छ । तर प्रमाण के-कस्तो हुनुपर्ने र कति हुनुपर्ने भन्ने पक्षमा दार्शनिकहरुको आ-आफ्नै मत रहेको थियो; र छपनि । प्राचीन दर्शन-पद्धतिहरुमा एक देखिलिएर नौओटासम्म प्रमाण मानिएको पाइन्छ ।

प्राचीन कालका भौतिकवादी चार्वाक फगत् एक प्रमाणमात्र मान्दछन्- प्रत्यक्ष प्रमाण । बौद्धले दुईओटा प्रमाण मान्दछन्- प्रत्यक्ष र अनुमान । यता वैशेषिक दर्शनले पनि प्रत्यक्ष र अनुमान गरी दुईओटै प्रमाण मान्दछन्; तर बौद्धको अनुमान प्रमाण र वैशेषिकको अनुमान प्रमाण फरक-फरक किसिमका छन् । सांख्य दर्शन यस संसारका सबै दर्शनहरुभन्दा पुरानो मानिन्छ र यसले प्रत्यक्ष अनुमान र शब्द- यी तीन प्रमाणहरु मानेको देखिन्छ । न्याय दर्शनमा चारओटा प्रमाणहरु मानिएका छन्- प्रत्यक्ष अनुमान उपमान र शब्द प्रमाण । मीमांसा-दर्शन अन्तर्गत प्रभाकरको मतमा पाँच प्रमाणहरु मानिएका छन्- प्रत्यक्ष अनुमान उपमान शब्द र अर्थापत्ति । वेदान्त दर्शन अनुसार प्रत्यक्ष अनुमान उपमान शब्द अर्थापत्ति र अनुपलब्धि गरी छ ओटा प्रमाणहरु रहेको देखिन्छ ।

यता मीमांसा दर्शनका आचार्य कुमारिल भट्टको मतमा पनि छ प्रमाण नै छन्- प्रत्यक्ष अनुमान शब्द उपमान अर्थापत्ति र अनुपलब्धि । पौराणिकले यी छओटामा संभव र ऐतिह्य दुई प्रमाण थपी जम्मा आठ प्रमाण मान्दछन्भने अर्को एक प्रमाण चेष्टालाई थप गरी आलंकारिकहरुले नौ प्रमाण मानेको देखिन्छ । दयानन्द सरस्वतीले सुत्यार्थ प्रकाशु पुस्तकमा आठओटा प्रमाणहरु उल्लेख गर्नुभएको पाइन्छ । ती हुन्- प्रत्यक्ष अनुमान उपमान शब्द ऐतिह्य अर्थापत्ति सम्भव र अभाव । पण्डित रुद्रमणि अधिकारीले “हिन्दू-धर्म मर्म-विचार” पुस्तकमा पाँच ओटा प्रमाणहरु- शब्द प्रमाण प्रत्यक्ष प्रमाण अनुमान प्रमाण युक्ति प्रमाण र कार्य प्रमाण- को आधारमा तथ्यको छानबिन गर्नुभएको देखिन्छ । प्रमाणका संख्या जतिओटा र जे-जस्ता प्रकृतिका भएतापनि यिनको मुख्य उद्देश्य कुनैपनि तथ्यको छानबिन गरी सत्य खुट्ट्याउने नै हो ।

प्राचीन धार्मिक-दार्शनिक पद्धतिमा प्रमाणसँग प्रमाण जुधाउनुको तात्पर्य “वादे वादे जायते तत्वबोधः” लाई सार्थक पार्नुनै थियो । तर समयक्रममा प्रमाण जुटाउने काइदामा परिवर्तन हुँदै आएको देखिन्छ । तर्कको आधारमा भन्दापनि मुढेबलको आधारमा आफ्नो पक्ष स्थापित गर्न चाहनेहरु हिजोपनि थिए आजपनि छन् र शायद भोलिपनि हुनेछन् । विचारका नाममा द्वन्द दुई किसिमका भएका देखिन्छन् । एकखाले द्वन्दमा के देखिन्छ भने नाम विचारको परेतापनि खासमा द्वन्दचािहं शक्ति हत्याउनका लागि भइरहेको हुन्छ । अर्कोखाले द्वन्दमा वास्तवमै विचारको द्वन्द भइरहेको हुन्छ र यसमा हिंसाको कुनै उपस्थिति नरहने हुन्छ । अधिकांशतः राजनीतिक व्यक्तिहरुका द्वन्द विचारको मुखौटो लगाएको भएतापनि वास्तवमा शक्ति हत्याउनका लागि भइरहेको हुन्छ । त्यसोहुँदा हिंसात्मक मनोवृत्तिलाई प्राथमिकता मिल्ने हुन्छ । उदाहरणार्थ कार्ल मार्कसको यो भनाइ हेरौं- आलोचनाको हतियारले अवश्यपनि हतियारद्वारा गरिने आलोचनाको ठाउँ लिन सक्दैन । यता आध्यात्मिक विचारकहरुका द्वन्दमा हार्दिकता हुन्छ र मैत्रीपूर्ण तवरमा “वादे वादे जायते तत्वबोधः” को मर्म आत्मसात् गरिएको हुन्छ ।

वैदिक परम्पराको दर्शनशास्त्रमा तथ्यको प्राप्ति अन्तदृ्रष्टिजन्य अनुभूतिद्वारा र पुष्टि तार्किक प्रमाणद्वारा हुने गरेको छ । तर पश्चिमी दर्शन-प्रकि्रया फरक छ । पश्चिमी विचारकहरुको विचार प्रकि्रया जसलाई हामी इन्द्रिय भन्दछौं तिनहरुमा निर्भर हुन्छभने भारतवर्षीय संस्कृतिमा आत्मज्ञानको तहसम्म विचारकहरु पुग्दछन् । तसर्थ प्राचीन प्रमाण पद्धतिमा पनि यो भेद हामी देख्न सक्छौं । किन पश्चिममा भौतिकशास्त्रको बढी विकास भयो भन्ने कुरालाई यसरीपनि स्पष्टतः बुझ्न सकिन्छ ।

भनिन्छकि मानव सभ्यताको उदयको धेरैपछिमात्र दर्शनशास्त्रको विकास भएको थियो । त्यसमापनि जतिखेर भारतवर्ष आर्यावर्तमा दर्शनशास्त्र आफ्नो उत्कर्षमा थियो त्यतिबेला पश्चिमाहरु त पाषाणयुगबाट उँभो लाग्ने छेकछन्द समेत थिएन भन्ने मत कतिपय इतिहासकारहरुको रहेको छ । अर्का खाले इतिहासकारहरु भन्छन्कि पूर्व र पश्चिममा दर्शनशास्त्रको समानान्तर विकास भएको हो । जे होस् प्राचीन कालदेखिनै मान्छेले जीवन र जगत्लाई अध्ययन गर्ने र त्यसका रहस्यहरुलाई बुझ्ने प्रयास गर्ने कार्यमा आफूलाई संलग्न गराउँदै आएको छ ।

एउटाको दृष्टिकोण र अर्कोको दृष्टिकोणमा विविधता रहेपछि मत मतान्तर थिपंदै गए । अनि आ-आफ्ना मतको पुष्टिकालागि प्रमाणपनि दिनैपर्ने भयो । वास्तवमा प्राचीन प्रमाण पद्धतिका सम्बन्धमा चर्चा गर्नुपर्दा तत्कालीन दार्शनिक पद्धतिहरुका बारेमा पनि चर्चा गर्नैपर्ने हुन्छ । कौटिल्यले दर्शन-शास्त्र आन्विक्षिकी-दर्शन अन्य सबै विधाकोलागि बत्ती जस्तो मार्गदर्शक भन्नुको तात्पर्य यहाँनेर स्मरणीय छ । अनि गीता- १०।३२ मा अध्यात्मविद्या विद्यानां वादः प्रवदतामहमू भनिनुको मानेपनि उही हो ।

बिना तर्क कुनै कुरा त्यसै स्वीकार नगर्ने विशेषता प्राचीनकालदेखिकै हो । “तस्मात्सर्वप्रमाणानां तर्कोऽनुग्राहकः स्थितः” अर्थात् सबै प्रमाणहरुको अनुग्राहक बनी तर्क रहेको छ भनिएको थियो । बीचमा- ऐतिहासिक कालमा- त्यसमा क्षय हुनाले अन्धविश्वास रुढीवाद पाखण्डले जरो गाड्न पाएको हो । आधुनिक कालमा वैज्ञानिकताको विकास सँगसँगै प्रमाणीकरणका वैज्ञानिक उपायहरुपनि हामीसँग छन् । प्राचीनकालदेखिनै चल्दै आएका प्रमाण पद्धतिलाई आधुनिक वैज्ञानिक चेतनाको मूलका रुपमा लिनुपर्ने हुन्छ । (स्पेसटाइम दैनिकमा आयोदधौम्य ‘निर्मल’ को नियमित स्तंभ “पृथक् विचार” मा प्रकाशित)

थप जानकारी