राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

संस्कृत मृत भाषा नै हो ?

शनिवार, १२ माघ २०७५ ११:२१

संसारकै जेठो भाषाका रूपमा पश्चिमाहरूले समेत संस्कृत भाषालाई चार हजार वर्षभन्दा पुरानो भाषा मान्छन् तथापि संस्कृतको उद्गमस्थल मानिने हाम्रै देशमा पनि संस्कृतको महत्ताबारे खासै सचेतना छैन । अझ केही नेपाली यसलाई मृत भाषाको संज्ञासमेत दिन पछि परेका छैनन् । देव भाषा पनि भनिने संस्कृत भाषा साँच्चै मृत भाषा हो, पश्चिमाहरू यो भाषालाई कसरी लिन्छन् तथा यस भाषामा कस्ता कृतिहरूको रचना भएको छ भन्ने सम्बन्धमा वरिष्ठ पत्रकार शिरीषबल्लभ प्रधानको रोचक लेख ।

विश्वका सबै भाषाहरूमध्ये जेठोमा गनिने संस्कृत भाषा चार हजार वर्षभन्दा पुरानो मानिन्छ । यस भाषाको महत्त्व अहिलेको आधुनिक युगमा पनि त्यत्तिकै छ । कसैले संस्कृतलाई मृत भाषा भनी संज्ञान दिन्छ भने कि त उसको चेतना निकै साँघुरो हुनपर्छ कि ज्ञानको कमीले त्यस्तो लागेको हुन सक्छ । यो भाषा जीवितमात्र नभई चलायमान, गतिशील र जीवन्त पनि छ । विश्वमा सायदै त्यस्तो कुनै भाषा होला जुन तीन/चार हजार वर्षसम्म पनि जीवित रहनुका साथै सान्दर्भिक र उपयोगी पनि बन्न सकेको छ ।

संस्कृतलाई देव भाषा भन्दा अतिशयोक्ति नहोला किनभने यसै भाषामा रचित वैदिक ऋचाहरूमा ईश्वरीय ज्ञान लुकेको छ, सृष्टिको रहस्य लुकेको छ, प्राचीन युगको आदर्शमय जीवनको पक्ष समाहित छ ।
सृष्टिबारे मानवको पहिलो घोषणा संस्कृतमा रचित ऋग्वेदका निम्नलिखित ऋचाहरूमा अझै सुरक्षित छन् ः
नासदासीन्नो सदासीत् तदानीं नासीद्रजो नो व्योमा परो यत्
किमावरीवः कुह कस्य शर्मन्नम्भः किमासीद्गहनं गभीरम् ।।१।।
न मृत्युरासीदमृतं न तर्हि न रात्र्या अह्र आसीत् प्रकेतः
आनीदवातं स्वधया तदेकं तस्माद्धान्यन्न परः किं चनास ।।२।। (ऋग्वेद १०.१२९. १ — २)
अर्थात सृष्टिको सुरुमा न सत् थियो, न असत्, न अन्तरीक्ष थियो न त्यसभन्दा पर आकाश, जब त्यहाँ केही थिएन त कसले केले ढाकेको थियो ? के त्यहाँ जल थियो, अथाह जल, थियो भने कसका आधारमा ? त्यहाँ न मृत्यु थियो न अमरत्व नै, त्यहांँ न त दिन न रात, त्यो एक इकाइले बहिरी श्वासविना आफ्नै प्रकृतिभित्रको श्वास फेरिरहेथ्यो । त्योभन्दा पर अरू केही थिएन, आदिकालमा त्यहाँ अन्धकार थियो, निख्खर अन्धकार । यो सारा दृश्य संसार एउटा बीज रूपमा अवस्थित थियो, त्यो लुप्त ब्रह्माण्ड, जो कि सर्वव्यापी इकाइको शक्तिद्वारा ढाकिएको थियो । तब सबैभन्दा पहिले कामना उत्पन्न भयो, जुन सृष्टिकर्ताको मनको पहिलो बीज थियो ।

दूरदर्शी ऋषिहरूले अनस्तित्वमा अस्त्विको सम्बन्ध देख्यो, जस्तो कि अनस्तित्व अस्तित्वद्वारा अस्तित्वमा आउँदैथ्यो । ती ईश्वरीय इच्छाका किरणहरू सारा ब्रह्माण्डभरि फैलिए, जसको नतिजास्वरूप साना र ठूला बीज भएका जीवहरू उत्पन्न भए, पृथ्वीको अस्तित्व सृष्टिकर्ताको दैविक इच्छामा निर्भर गर्ने हुनाले चेतनाको स्थिति पदार्थभन्दा उच्च थियोे, जसले ईश्वरीय इच्छाद्वारा क्रियाशीलता हासिल गर्दछ । वास्तवमा कसलाई थाहा होला र कसले यो घोषणा गर्न सक्ला कि यो कहिले घटित भयो ? र, कसरी विलय भयो ? देवताहरू पनि सृष्टि उत्पन्न भएर धेरै पछि जन्मिए, त्यसैले कसलाई थाहा कि यो कहिले अस्तित्वमा आयो, यो सृष्टि कहिले घटित भयो ? सर्वोच्च स्वर्गबाट यी सबैको निरीक्षण गरिरहने ती ईश्वरलाई मात्र थाहा होला अथवा तिनलाई पनि थाहा न होला ।

ऋग्वेदका श्लोकमा भारतवर्षको पवित्र ऐतिहासिक सरस्वती नदीबारे वर्णन गरिएको छ, जुन नदी आजभन्दा चार हजार वर्षपूर्व नै मृत भइसकेको थियो । यसबाट के प्रमाणित हुन्छ भने वेद कम्तीमा चार÷पाँच हजार वर्ष पुरानो रहेछ । त्यस्तै पाणिनीले इशापूर्व चौथो शताब्दीमा संस्कृतको प्रसिद्ध व्याकरणको रचना गर्नुपूर्व पनि संस्कृत भाषाको पुरानो व्याकरण विद्यमान रहेको तथ्यले पनि संस्कृत भाषा इशाभन्दा हजारौँ वर्षअघि देखि नै विद्यमान रहेको बुझिन्छ, यद्यपि पश्चिमी विद्वान्हरू यसलाई इशापूर्व १५ सय वा दुई हजार वर्षभन्दा पुरानो मान्न तयार छैनन् । तर, अहिले पनि यस भाषाको महŒव, गरीमा र सान्दर्भिकतामा केही कमी आएको छैन ।

संस्कृतभन्दा धेरै पछि जन्मेका कतिपय भाषाहरू लोप भइसकेका छन् । संस्कृतमा रचिएका असङ्ख्य ग्रन्थहरूमा अहिले आधुनिक जमानाका मानिसको मनमस्तिष्कले सोच्नै नसकिने ज्ञान तथा रहस्यहरूको खानी विद्यमान रहेकाले पनि हिजोआज पश्चिमेलीहरूको संस्कृत भाषाप्रति आकर्षण बढ्दो छ र संस्कृत सिक्न चाहनेहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । संस्कृत भाषाको विस्तार अब एसियाका केही देशहरूमा मात्र सीमित छैन । विश्वका कुनाकाप्चामा यसको विस्तार हुन थालेको पाइन्छ ।

हालै क्यानडामा सम्पन्न १७औँ विश्व संस्कृत सम्मेलनमा ११० देशका करिब १२ सयजति प्रतिनिधिहरू सहभागी रहेको र सो साताव्यापी सम्मेलनमा करिब ६ सयवटा संस्कृतसँग सम्बन्धित विभिन्न विषयहरूमा कार्यपत्रहरू पेश भएको तथ्यले पनि यो भाषाको लोकप्रियताको सहजै अनुमान गर्न सकिन्छ । आगामी सन् २०२१ मा अस्ट्रेलियामा १८औँ विश्व संस्कृत सम्मेलन हुँदै छ भने १९औँ विश्व संस्कृत सम्मेलनको आयोजना २०२४ मा नेपालमा गरिँदै छ । यसरी विश्वव्यापी रूपमै संस्कृत सम्मेलनको आयोजनाले पनि यो भाषाको विश्वव्यापी महŒवलाई बुझन सकिन्छ ।

मिश्रका वादशाह अलेक्जेन्डरले ईशापूर्व चौथो शताब्दीताका भारतको पाटलीपुत्रसम्म विजय हासिल गरेपछि पश्चिमाहरूलाई भारतीय उपमहाद्वीपका भाषा, संस्कृति, धर्म आदिबारे जानकारी भएकोे अनुमान गर्न सकिन्छ । भारतीय उपमहाद्वीप प्राचीन सभ्यताको उद्गमस्थल तथा सांस्कृतिक सम्पदाको केन्द्रबिन्दु रहेको कुरा थाहा पाएर नै १३औँ शताब्दीतिर कोलम्बसले जहाज यात्रा गरी भारत पत्ता लगाउन हिँडेको ऐतिहासिक तथ्य हो तर उनी भारतको सट्टा उत्तर अमेरिकामा पुगेकै फलस्वरूप त्यहाँका बासिन्दालाई रेड इन्डियन भनिन्छ । कोलम्बसपछि पनि थुप्रै साहसिक यात्रीहरू भारतको खोजीमा निस्केका थिए, जसमध्ये भास्को डे गामा भन्ने यात्रीलाई सफलता मिल्यो । उनले भारतको प्रसिद्ध बन्दरगाह सहर गोवा भेट्टाए, जसकारण गोवाको एउटा बन्दरगाहको नाम नै भास्को डे गामा रहन गयो ।

दिल्लीका मुसलमान शासक शाहजहाँका ज्येष्ठपुत्रद्वारा सिकोह उपनिषद्का जानकार थिए । दारा संस्कृतमा रचिएका वेद र उपनिषद्का ज्ञानबारे जानकारमात्र थिएनन्, उनले ती महŒवपूर्ण ग्रन्थहरूको पहिलोपटक फारसी भाषामा अनुवाद पनि गरेका थिए । सन् १६५७ मा उनले ती उपनिषद्का ग्रन्थहरूको अनुवाद गरिएका पुस्तक प्रकाशित गरे तर त्यसको दुई वर्षपछि उनका भाइ औरङजेवले उनको हत्या गरे,

सम्भवतः मुस्लिम भएर पनि हिन्दु धर्मको प्रचार गरेको निहुँमा । उपनिषद्का ती अनुवाद नै पछि गएर युरोपेली विद्वान्हरूका निम्ति पूर्वीय दर्शनबारे जानकारी लिने माध्यम बन्न पुग्यो । फ्रान्सेली यात्रु एन्क्वेटिल डुपेरोँले उक्त गन्थकोे फ्रेन्च र ल्याटिन भाषामा अनुवाद गरे । यसरी युरोपका विद्वान्हरूको ध्यान उपनिषद्तर्फ खिचियो र पछि त्यसको जर्मनी तथा अङ्ग्रेजी भाषामा पनि अनुवाद गरियो । जर्मनीका प्रसिद्ध दार्शनिक आर्थर सुपेनहेयरले ती उपनिषद्का अनुवादहरूको अध्ययनमात्र गरेनन् उनको आफ्नो दर्शनसमेत उपनिषद्का

सिद्धान्तहरूबाट प्रशस्त प्रभावित भएका छन् भनी अर्का विद्वान् फ्रेडरिक मैक्समुलरले लेखेका छन् ।
मेरो संस्कृत भाषाप्रतिको प्रेम सर्वप्रथम ती उपनिषद्हरूद्वारा प्रकाशित हुन गएको हो, मैक्समुलर आफ्नो पुस्तक उपनिषद्सः दि होली स्पीरिट आफ दि वेद नामक पुस्तकको भूमिकामा लेख्छन् । मेरो ध्यान त्यसबखत ती प्राचीन ग्रन्थहरूमा तानियो, जब म बर्लिनमा जर्मनीका दार्शनिक एफ डब्लु जोसेफ सिलिङका (उपनिषद्बारे) व्याख्या सुन्दै थिएँ, मैक्समुलर भन्छन् ।

संस्कृत भाषालाई नासाका वैज्ञानिकहरूले समेत तारिफ गरेका छन् । नासाका वैज्ञानिकहरूका अनुसार संस्कृत कम्प्युटर प्रयोगका लागि र अन्तरीक्षमा तथ्याङ्क आदान–प्रदान गर्नका लागि सर्वोत्कृष्ट भाषा हो । त्यसैले हिजोआज विकसित देशहरूका युवा संस्कृत अध्ययनतर्फ आकर्षित हुन थालेको पाइन्छ ।
संस्कृतलाई हिन्दु धर्मसँग मात्र जोडेर हेर्नु गलत हुनेछ । बौद्ध धर्मका कतिपय महŒवपूर्ण ग्रन्थजस्तै प्रज्ञापरमिता आदि पनि संस्कृत भाषामा रचिएका छन् । कतिपय युरोपेली भाषाको पनि जननी संस्कृतलाई मानिएको छ ।

अङ्ग्रेजी, जर्मनी र संस्कृतका कतिपय शब्दहरू उस्तै छन् । जस्तै संस्कृत शब्द मातालाई अङ्ग्रेजीमा मदर र जर्मनीमा मटर भनिन्छ भने संस्कृत शब्द मिश्रणलाई अङ्ग्रेजीमा मिक्स्चर र जर्मनीमा मिस्चेन भनिन्छ । त्यस्तै संस्कृत शब्द चरित्रको अङ्ग्रेजीमा क्यारेक्टर र जर्मनीमा च्यारेक्टर हुन्छ । संस्कृतमा नामको अङ्ग्रेजीमा नेम र जर्मनीमा पनि नेम हुन्छ । त्यस्तै संस्कृतमा मन्त्री हुन्छ भने अङ्ग्रेजी र जर्मनीमा मिनिस्टर हुन्छ । जर्मनीको प्रमुख हवाई सेवा लुफ्थान्साको संस्कृतमा अर्थ हुन्छ, लुप्तहन्स अर्थात् लोप भएकोे हाँस ।

संस्कृतमा प्राचीनकालमा लेखिएका ज्ञानका विभिन्न विधाहरू अहिले पनि उपलब्ध छन् र कतिपय वैज्ञानिक सिद्धान्तहरूको वर्णन पाश्चात्य वैज्ञानिकहरूले भन्दा हजारौँ वर्षअघि लेखिएका ती ग्रन्थहरूमा पाइन्छन् । आयुर्वेद, ज्योतिष, वास्तुशास्त्र, गणित, कामशास्त्र, नाट्यशास्त्र आदि संस्कृतमा रचिएका अनेकौँ ग्रन्थहरूको ज्ञानको महŒवपूर्ण स्रोतका रूपमा अझै उपलब्ध छन् । यस क्षेत्रमा बोलिने हिन्दी, नेपालीमात्र नभई नेवारी, मैथिली आदि विभिन्न भाषाहरूमा पनि संस्कृतको प्रशस्त प्रभाव भेटिन्छ ।

प्रधानमन्त्री केपी ओलीले हालै एक सार्वजनिक कार्यक्रममा अत्यन्त सान्दर्भिक कुरा भन्नुभएको छ– न्युटनभन्दा ५०० वर्षअघि नै भाष्कराचार्यले गुरुत्वाकर्षणको नियम पत्ता लगाएको थियो भनेर । भारतको कर्णाटकमा १२औँ शताब्दीमा जन्मेका भाष्कराचार्य महान् गणितज्ञ तथा ज्योतिषशास्त्रका ज्ञाता मानिन्छन् । उनका कृतिहरूमध्ये लीलावती (गणित), बीजगणित (अल्जेब्रा), गणिताध्याय (ज्योतिष गणित), गोलाध्याय (भूगोलसम्बन्धी) आदि प्रमुख छन् । ती पुस्तकहरूमा उनले गुरुत्वाकर्षणबारे मात्र उल्लेख नगरेर पृथ्वीले सूर्यलाई ३६५ दिनमा परिक्रमा गर्ने कुरा पनि उल्लेख गरेका छन् ।

गणितमा शून्यको प्रयोग सर्वप्रथम उनैले गरेको बताइन्छ । पृथ्वी चेप्टो छैन, पृथ्वीको कुनै आधारमा अडेको छैन र यसको गुरुत्वाकर्षण शक्ति भन्ने घोषणा सर्वप्रथम उनैले गरे । पृथ्वीमा चुम्बकीय आकर्षण शक्ति भएको कुरा हजारौँ वर्षअघि रचिएका वेदमा पनि उल्लिखित छन् । भाष्कराचार्यले तिनै ग्रन्थहरूको अध्ययनद्वारा गुरुत्वाकर्षणको नियम पत्ता लगाएका हुन् ।

संस्कृत दर्शनअन्तर्गत षड्दर्शनः न्याय, वैशेषिक, साङ्ख्य, योग, पूर्वी मीमांसा, उत्तर मीमांसा आदि महत्त्वपूर्ण दार्शनिक ग्रन्थहरू उपलब्ध छन् भने चार वेद, उपनिषद्, ब्रह्मसूत्र, गीता, रामायण, महाभारत, १८ पुराण, १८ उपपुराण, याज्ञवल्क्य स्मृति, मनुस्मृति आदि अनेकौँ महत्त्वपूर्ण आध्यात्मिक ग्रन्थहरू यसै भाषामा उपलब्ध छन् ।

यसरी संस्कृतमा लेखिएका प्राचीन ग्रन्थहरू हिजोआजका दार्शनिक तथा वैज्ञानिकहरूका निम्ति चासो र खोजीको विषय बन्न पुगेको छ । संस्कृत भाषामा सुरक्षित रहेको अपार ज्ञानको भण्डारबाट लाभ लिने हो भने हाम्रानिम्ति संस्कृत भाषाको अध्ययन, मनन तथा अनुसन्धान अनिवार्य हुन जान्छ । गोरखापत्र अनलाइनबाट

थप जानकारी