राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

अमेरिकन राष्ट्रपति ट्रम्पले अविलम्ब गल्ती सच्याऊन् : फणीन्द्र नेपाल

सोमवार, २१ माघ २०७५ १२:१५

सन्दर्भ १.
कुनै सहरको एउटा मानिस धेरै वर्ष विदेशमा बसेर स्वदेश फर्किएछ । अब चिया पसलमा उसका गफ खालि विदेश भ्रमणका । फलानो देशमा यति वर्ष बसेँ , ढिस्कानोमा यति वर्ष । अनि गफैगफमा भनेछ सिङ्गापुरमा १ वर्ष बसेर ब्रुनाई गएँ , त्यसपछि सिधै सियारालिअोन । त्यहाँ बस्न त्यति मन परेन अनि हानिएँ युएसतिर । युएस त्यति नराम्रो होइन तर बस्न मजा त युकेमै हो । तर मैले मस्तीचाहिँ मस्कोमा गरेँ ।

एकपटक हङकङ पनि पुगेँ तर मलाई मकाअो बढी मन पर्यो । गफको सुरमा उसले अन्टार्कटिकामा एउटी गोरीसँग स्की खेलेँ पनि भनेछ । उसका उरन्ठेउला गफ सुनिरहेको कलेजमा भूगोलमा ब्याचलर गरिरहेको युवकले भनेछ , ` त्यसो भए तपाईंलाई geography को knowledge त पूरै होला हगि ? ´
`किन नहुनु ?´ उसले भनेछ , `म जोग्राफीमा पनि ६ महिना बसेको तर त्यहाँ त्यति मजा अाएन र स्पेनतिर छिरेँ ।´
त्यसपछि त चिया पसलमा हाँसोको फोहरा छुटिहाल्यो । मानिसहरू हाँसेको देखेर उसले गफ छोट्याउँदै भन्यो , अरू कुरा भोलि गरौँला । तर भोलिपल्टैदेखि ऊ त्यहाँ देखापरेन ।

सन्दर्भ २.
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तै खालको गफ गरेछन् । अमेरिकाको चर्चित पत्रिका `टाइम´ का अनुसार दक्षिण एसियाका अफगानिस्तानदेखि बङ्गलादेशसम्मको क्षेत्रका मुलुकबारे जानकारी लिने क्रममा जब नेपाल र भुटानबारे चर्चा सुरु भयो तब ट्रम्पले यी दुवै देेश भारतीय भूभाग हुन् भनिदिएछन् । सन् २०१७ मा पनि यी दुई मुलुकका विषयमा जानकारी लिने क्रममा उनले यस्तै अाशय व्यक्त गरेको ` पोलिटिको ´ पत्रिकाले उल्लेख गरेको थियो ।

सन्दर्भ ३.
जोग्राफीमा ६ महिना बसेको बताउने गफाडीजस्तै नेपाल र भुटान भारतीय भूभाग हुन् भनेर अमेरिकाका महामहिम राष्ट्रपतिले जुन निर्मम ठट्टा गरेका छन् , यो जति संवेदनशील छ त्यति नै हास्यास्पद पनि लाग्छ । जुन मुलुकमा संयुक्त राष्ट्र संघको प्रधान कार्यालय छ , त्यही मुलुकका शक्तिशाली राष्ट्रपतिले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रको सूचीमा नेपाल र भुटान कहिल्यै नरहेको जस्तो अाशय व्यक्त गर्नुलाई सामान्य त्रुटि मात्र मान्न सकिन्न , त्यसैले उनले यो गल्तीलाई अविलम्ब सच्याउनुपर्छ ।

ग्रेटर नेपाल अभियानका अभियान्ता फणीन्द्र नेपालको फेसबुकबाट

थप जानकारी