राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

तिव्र आर्थिक विकासका लागि बाह्य लगानी

शुक्रवार, १५ चैत्र २०७५ ७:५३

काठमाडौं, चैत १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तिव्र आर्थिक विकासका लागि बाह्य लगानी अपरिहार्य रहेको बताउनुभएको छ । आफ्नै स्रोत साधनले विकास निर्माणको काम ढिला हुने भन्दै उहाँले तिव्र गतिको विकासका लागि बाह्य पूँजी र प्रविधिको खाँचो भएको बताउनुभएको हो ।

नेपाल लगानी सम्मेलनको पूर्वसन्ध्यामा गोरखापत्रलाई दिनुभएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भन्नुभयो ‘विकासका लागि पूर्वाधार निर्माण, उद्योगको स्थापना लगायतका काममा पूँजी र प्रविधिको कमी रहेको हाम्रोजस्तो देशले यस्ता कामका लागि अरुको पनि मद्दत लिनुपर्छ ।’

समृद्ध नेपाल, सुखी नेपालीको महान उद्देश्यमा सफलता हासिल गर्न बाह्य पूँजी र प्रविधि समेत आवश्यक पर्ने वताउँदै मित्रराष्ट्रहरुबाट नेपालमा लगानीको अपेक्षा गरिएको प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी राष्ट्र निर्माणको एउटा महान अभियानमा छौं, देशमा अब आर्थिक उन्नतिका लागि हामी लामो समय पर्खिन सक्दैनौं ।’

लगानी सम्मेलनकालागि सरकारले अनुकुल वातावरण बनाउन कुनै कमी नराख्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले लगानी र विकासका काममा देशभित्रका उद्यमी, व्यवसायीलाई पनि अझ बढी महत्व र प्रोत्साहन गरिने वताउनुभयो । प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘आन्तरिक स्रोत र साधनबाट मात्र विकास गर्न खोज्यौं भने ढिलो हन्छ, त्यसैले बाह्य पूँजी र प्रविधि पनि भित्र्याउनु परेको छ ।’

देशलाई दु्रत विकासको गतिमा अगाडि बढाउन हामीले पूँजी र प्रविधि भित्र्याउनुपर्छ भन्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी आफै विकसित र सक्षम भएपछि त्यो समस्या हुँदैन, हिजो चीनले बाहिरबाट पूँजी र प्रविधि भित्र्याउन खोज्थ्यो, आज ऊ बाहिर लगानी गर्ने ठाउँ खोजिरहेको छ, हामी पनि भोलि आत्मनिर्भर हुने मात्रै होइन, बाहिर लगानीका ठाउँहरू खोज्न सक्छौँ । तर आज बाहिरी लगानी खोज्नुपर्ने अवस्था छ । त्यसकारण हामी लगानी सम्मेलन गर्दैछौँ ।’
प्रधानमन्त्री ओलीले ‘विदेशी लगानीकर्ताहरुको लगानी प्रतिफलदायी होस्, सुरक्षित होस, उहाँहरुले लाभ लैजान सक्नुहोस् र पूँजी वा प्रतिफल फिर्ता लैजान सक्नुहोस् भनी हामीले थुप्रै कानूनी, प्राविधिक, व्यावहारिक वा प्रशासनिक व्यवहारहरुलाई पनि सरलीकरण गरेका छौँ’ भन्नुभयो ।

दोहोरो कर प्रणाली अन्त्य गर्नका लागि विभिन्न देशसँग ‘डवल ट्याक्सेसन’ हटाउने विषयसम्बन्धी सम्झौताहरु गरिरहेको र अव त्यसको पनि समस्या नहुने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । ‘विभिन्न बाधा अड्चन जो हिजो थिए, अब ती इतिहासका कुरा हुन्, अब हिजोको विषयमा अल्झिरहनु पर्ने आवश्यकता छैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

अब हिजोकोजस्तो सवाई भन्ने समय पनि यो होइन, फुटेको ऐना हेरेर बस्ने समय पनि होइन प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘हामीले नयाँ भिजन प्रस्तुत गरेका छौं, अगाडि बढ्न आवश्यक पूर्वाधार, पूर्व शर्त सबै पूरा गरेर अगाडि बढ्छौं ।’
हामी ठीक ढङ्गले बुझेर, ठीक दिशामा अगाडि बढेका छौं प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘देशमा समाजवादउन्मुख विकासको खाँचो छ, समाजवाद भनेको समृद्धि मात्रै होइन, समतामूलक समृद्धि हो, सामाजिक न्याय सहितको समृद्धि हो, सामाजिक समानता सहितको समृद्धि हो ।’

जुत्ता चप्पल लगाउन नपाउने, सबै खाली खुट्टा हिड्न पर्ने समानता हामीले खोजेका होइनौं प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो, ‘छोराछोरी पढाउन नसक्ने समानता होइन, सक्ने समानता चाहिएको हो, सबैले जुत्ता चप्पल लगाउन सक्ने समानता हामीलाई चाहिएको हो, जाडोमा कोट लगाउन नपाउने सबै पिठ्यूँ काम्दै हिड्ने समानता होइन, न्यानो कपडा लगाउन पाउने समानता चाहिएको हो ।’

आन्तरिक पूँजी परिचालन बारेको जिज्ञासामा प्रधानमन्त्रीले भन्नुभयो, ‘आन्तरिक पूँजी परिचालनबाट हुने कामलाई संरक्षण नगर्ने भन्ने होइन, तर हाम्रो आन्तरिक पूँजी कति छ भन्ने कुरा त कति विकास भइरहेको छ ? कति लगानी भइरहेको छ ? किन पूर्वाधारहरू बन्दैनन् ? उद्योगहरू किन स्थापना हँुदैनन् ? भन्ने विषयले स्पष्ट गर्छ । त्यो पुँजीको अभावले भएको हो ।’

नेपाल लगानीका निम्ति अति उत्तम ठाउँ रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘अरु ठाउँमा कडा प्रतिस्पर्धा छ, यहाँ त झण्डै झण्डै प्रतिस्पर्धा नै छैन, उद्योग खोलेमा त्यो त्यही मात्रै उद्योग भइरहेको हुन्छ ।’ लगानीको अनुकुल वातावरण रहेकाले हामीले उचित नियमन मात्र गरे पुग्छ ।’

लगानी सम्मेलनमा उत्साहकासाथ लाग्न आव्हान गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ठूला देशहरू पुँजी लगानीको खोजीमा हिँडिरहेका छन्, हाम्रोजस्तो देशले पुँजी र प्रविधि भित्र्याउन खोज्नु, त्यसलाई समुचित ढङ्गले देशको हितमा प्रयोग गर्न खोज्नु एकदमै राम्रो पक्ष हो ।’

विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकार एकाधिकार, एकलौटी गर्ने पक्षमा होइन, हामी निजी क्षेत्रलाई उद्योग स्थापना गर्न, विजनेश स्थापना गर्न र त्यसबाट पारस्परिक लाभ देशलाई पनि प्राप्त होस् भन्ने चाहन्छौं ।’

देशको विकास गर्दा लगानीकर्तालाई पनि लाभ हुनुपर्ने र जनतालाई पनि लाभ हुनुपर्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बाह्य लगानीको सन्दर्भमा सरकारले अनुकुल वातावरण बनाउन कुनै कमी राख्ने छैन, मैले त कानूनको मस्यौदा गर्नुस्, ल्याउनुस् के सुधार गर्नुपर्छ मस्यौदा ल्याउनुस् पारित गर्दिन्छु भनेकै छुँ ।’

यसभन्दा अगाडिका कुनै प्रधानमन्त्रीले यसरी नभनेको प्रसङ्ग उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले ‘अहिले रस्साकस्सी नै छैन, मस्यौदा ल्याउनुस्, के गर्नुपर्छ ? कहाँ सच्याउनुपर्छ ? म तयार छुँ’ भन्नुभयो ।
मुलुक राजनीतिक आन्दोलनबाट राजनीतिक अधिकार प्राप्त गरिसकेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘हामी मोटामोटी रुपमा संक्रमणकाल टुङ्ग्याएका छौं, देशमा द्वन्द्व व्यवस्थापन गरेका छौं, पृथकतावादी प्रवृत्तिलाई पनि टुङ्ग्याएर विकासको गतिमा अघि बढेका छौं ।’

थप जानकारी