विराटनगर । स्थायी राजधानी तोक्ने र नामांकन टुंग्याउने गरी प्रदेश सभाले प्रक्रिया शुरु गरेसंगै एक नम्बर प्रदेशले यसै साता नाम र स्थायी राजधानी पाउने निश्चित भएको छ ।
एक नम्बर प्रदेश सभामुख प्रदीप भण्डारीले बैशाख १९ गते सम्म प्रदेशको स्थायी राजधानी र नामांकन सम्बन्धी प्रस्ताव आह्वान गर्न निर्देशन दिएसंगै प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरेको छ ।
नाम र राजधानीको प्रस्ताव दर्ता भएसंगैं उक्त विषयमा छलफल हुने र छलफलबाट सहमति नभए मतदानको आधारमा विषयको टुंगो लगाउने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा नियमावलीमा एक जना प्रदेश सांसद प्रस्तावक र दुई जना सांसदले समर्थन गरेपछि प्रस्ताव पेश गर्न सकिने प्रावधान रहेको प्रदेश सभा सचिवालयकी प्रवक्ता मञ्जु खड्काले जानकारी दिनुभयो ।
एक नम्बर प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेशको राजधानी र नामांकनको टुङ्गो लगाउने गरी सहमति खोज्ने प्रयास भईरहेको र बढीमा बैशाख २२ गते भित्र निर्णय भईसक्ने जानकारी दिनुभयो । उहाँले प्रदेशका जनताको चित्त बुझने र सवैको सहमतिमा नाम र राजधानी तोकिने धारणा राख्नु भयो ।
एक नम्बर प्रदेशको राजधानीका लागि विराटनगर, इटहरी, गोठगाँउ, धरान र धनकुटाको नाम चर्चामा छ भने प्रदेशको नामका लागि कोशी, सगरमाथा, किराँत, किराँत कोशी चर्चामा रहेको छ । एक नम्बर प्रदेशका विभिन्न पार्टी संगठनहरुले आआप्mनै किसिमका नाम तोक्न प्रदेश सरकारलाई दवाव दिदै आएका छन् ।
९३ सदस्यीय एक नम्बर प्रदेश सभामा नेकपाको ६७ , नेपाली कांग्रेसको २१, संघीय समाजवादी फोरमको ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको एक एक जना सांसद रहेका छन् ।