राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

वीर अस्पतालमा अनियमितता : सामानको मूल्य एक पैसादेखि एक रुपैयाँ

मङ्गलवार, १४ जेठ २०७६ ८:३२

काठमाडौँ, जेठ १४ गते । अहिलेको बजार भाऊ अनुसार एक पैसामा कुन सामान आउँछ? यसको सिधा उत्तर हो केही पनि आउँदैन । तर वीर अस्पतालले सामान खरिद गर्न स्वीकृत गरेको बोलपत्रमा उल्लिखित मूल्य सूचि हेर्ने हो भने जो कोहिले पनि पत्याउनुपर्ने हुन्छ कि एक पैसामा ह्वीलचेयर मात्र होइन अस्पताललाई आवश्यक पर्ने कयौँ समान खरिद गर्नसकिन्छ ।

अस्पतालले वैधानिक बाटो अपनाएर नै बजार मूल्यभन्दा कयौँ गुणा कम मूल्यमा सामान तथा खाद्यान्न आपूर्ति गर्ने प्रस्ताव स्वीकृत गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राष्ट्रिय सतर्कता केन्द्रले छानविन शुरु गरेको छ ।

वीर अस्पतालमा भएको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन परेको थियो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उजुरी परेको जानकारी दिँदै छानविन शुरु भएको पुष्टि गर्नुभयो । उहाँले वीर अस्पताललाई पत्र पठाइ कागजपत्र मगाइएको बताउनुभएको छ । अख्तियारले वीर अस्पताललाई उपकरण तथा खाद्यान्नको लागि गरिएको बोलपत्रको स्पेसिफिकेसन, मूल्याङ्कनलगायत सम्र्पूण कागजात पेश गर्न निर्देशन दिइसकेको छ ।

यसै विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेको छ । केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले वीर अस्पतालबारे केन्द्रमा धेरै उजुरी पर्ने गरेको जानकारी दिँदै छानविन सुरु गरेको बताउनुभयो । लामिछानेले प्रारम्भिक अध्ययनमा अस्पतालको लागि रासन खरिदको बोलपत्रमा स्वीकृत कम्पनीले पेश गरेको राशन परिणामसहितको मूल्यसूची हेर्दा अहिलेको बजारभाउ अनुसार अविश्वसनीय देखिएको जानकारी दिनुभयो । केन्द्रले बिरामीलाई खुवाइने खानाको गुणस्तरमा समेत शंका उब्जाएकोले बोलपत्रसम्बन्धी सम्र्पूण विवरण उपलब्ध गराउन वीर अस्पताललाई पत्र पठाएको थियो ।

वीर अस्पतालले अस्पतालमा आवश्यक खाद्यान्न खरिद गर्दा पत्याउनै नसकिने शुल्कमा खरिद गरेको र त्यस्तो खानाले खाद्यान्नको गुणस्तरमा प्रश्न उब्जाएको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो ।

अस्पतालले खरिदका लागि स्वीकृत दिएको मूल्यसूची

सामग्री एकाइ मूल्य
चना प्रतिकेजी एक रुपियाँ 
कुखुराको अण्डा प्रतिगोटा एक पैसा 
जिरा प्रतिकेजी एक रुपियाँ 
वेसार प्रतिकेजी एक रुपियाँ
लसुन/अदुवा प्रतिकेजी एक रुपियाँ 
नेविको विस्कुट प्रतिपुरिया एक रुपियाँ 
तोरीको तेल प्रतिलिटर एक रुपियाँ
चिनी प्रतिकेजी एक रुपियाँ 
ह्वीलचेयर र ट्रली प्रतिगोटा एक पैसा
भाईभि स्टेन्ड प्रतिगोटा एक पैसा
एक्सरे भ्यू बक्स प्रतिगोटा एक पैसा
तौल मेसिन प्रतिगोटा एक पैसा
साईड पर्दा प्रतिगोटा एक पैसा
रक्तचाप नाप्ने मेसिन प्रतिगोटा एक पैसा
एसपिओटु प्रतिगोटा एक पैसा
ओटुप्लोमिटर प्रतिगोटा एक पैसा

अस्पतालले माग गरे अनुसारको इटेन्डर तोकिएको समयभित्र तीनवटा फर्म न्युआर्के ट्रेडर्स, न्यू सुयोग र महाकाल सप्लायर्सले दर्ता गरेका थिए । तीमध्ये न्यू सुयोगको खाद्यान्नको प्रमाणपत्र पेश गरेको थिएन भने तीन वर्षको अनुभव प्रमाणपत्र पनि पेश गरेको थिएन । न्यु सुयोगको मूल्य सबैभन्दा कम भए पनि बजारभाउ भन्दा अपत्यारिलो रहेको छ ।

गत वैशाख ५ गते अस्पतालले न्यु सुयोगको नाममा बोलपत्र स्वीकृत गरेको सूचना निकालेको थियो । न्यू सुयोगको योग्यता नमिलेको भन्दै बोलपत्रमा दोस्रो भएको न्युआर्के टे«डर्सले सार्वजनिक खरिद ऐन अनुसार कार्यालय प्रमुख समक्ष निवेदन दिएको थियो । सो निवेदनको जानकारी सम्बन्धित पक्षलाई नदिँदा न्युआर्के टे«डर्सले उच्च अदालत पाटनमा समेत रिट दायर गरेको थियो ।

गत वैशाख २३ गते उच्च अदालतले वीर अस्पतालको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । महालेखा प्रतिवेदन २०७४ र २०७५ ले पनि वीर अस्पतालको उपकरण, कोटेशन सामान खरिद गर्दा व्यापक अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

‘‘बोलपत्र पार्नकै लागि हजारौं पर्ने उपकरणलाई एक पैसामा हाल्ने र सामान उपलब्ध नगराउने गरिन्छ’’, अस्पतालमा काम गर्ने एक कर्मचारीले नाम उल्लेख नगर्न आग्रह गर्दै भन्नुभयो, “ठेकदारले सामान ल्याउन छोडेपछि खरिद इकाइका आफन्तको फर्मबाट पाँचलाख भन्दा तलको सामान खरिद गर्ने गरिन्छ ।”

खाद्यान्नको लागि वार्षिक एक करोड ७५ लाख बजेटमा एक करोड २९ लाख रुपियाँको बोलपत्र हाल्ने फर्मलाई अस्पतालले सामान खरिदको लागि स्वीकृत दिएको थियो । वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले प्रक्रिया अनुसार नै उपकरण र खाद्यान्न सामान लिएको बताउनुभयो । उहाँले सबैभन्दा कम मूल्यमा बोलपत्र हाल्ने फर्मलाई काम गर्न दिएको जानकारी दिनुभयो ।

‘‘एक पैसामा एक केजी चिनी आउँछ कि आउँदैन, एक पैसामा ह्वीलचियर आउँछ कि आउँदैन हामीले दर हेर्ने होइन’’, निर्देशक डा. सेन्चुरीले भन्नुभयो, “सबैभन्दा कम कसले सामान दिन्छ त्यसैलाई छनौट गर्ने हो ।” खरिद इकाइ प्रमुख भगवती थपलियाले सबै काम प्रक्रियागत रुपमा भइरहेको बताउनुभयो । सरोज ढुंगेल/गोरखापत्र

थप जानकारी