राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

वीराङ्गना कीर्तिलक्ष्मीको अलिखित इतिहास बन्दी अवस्थामा खुँडा धसेर आत्महत्या

शनिवार, १८ जेठ २०७६ १०:११

कीर्तिपुर, जेठ १८ गते । दुई पटक पराजय भोगेको गोरखाली सेना पूर्ण तयारीका साथ कीर्तिपुरसँगको तेस्रो युद्धमा थियो । गोरखाली सेनासँग एक महिला लडिरहेकी थिइन्, पुरुषको भेषमा । यो लडाइँमा कीर्तिपुर राज्यका ढोकाहरू फोरेर गोरखाली सेना कीर्तिपुर राज्यमा प्रवेश गर्न सफल भयो ।
उनीहरूले हारेका कीर्तिपुरे सेनालाई बन्दी बनाउन थाले । एक सेनाको हाउभाउ महिलाको जस्तो देखे गोरखाली सेनाले । अपमानपूर्वक उनीहरूले कीर्तिलक्ष्मीको पुरुष भेष उतार्न लगाए ।

एक महिला पुरुषको भेषमा खुँडा लिएर लडिरहेको रहस्य पत्ता लाग्यो । गोरखाली सेनाले बन्दी बनाइएकी कीर्तिलक्ष्मीको इज्जत हरण गरे । त्यो सहन नसकी बन्दी अवस्थामा आफैँले आफैँलाई खुँडा धसेर आत्महत्या गरिन्, परम्परागत सङ्कुचित समाजमा अदम्य साहससाथ लडेकी वीराङ्गनाको अवसान भयो ।

यो इतिहासको पानामा लिपिवद्ध गरिएको कुनै इतिहास हैन । यो कीर्तिपुरका वासिन्दामा श्रुति परम्पराअन्तर्गत सुनाइने ऐतिहासिक घटनाको एउटा विवरण हो । यो कथा आज पनि कीर्तिपुरेबीच सुन्ने सुनाउने परम्परा रहेको इतिहासका अध्येता प्रयागमान प्रधान बताउनुहुन्छ ।

त्यही कथामा आधारित रहेर २०२२–२३ सालतिर कीर्तिपुरको तननी टोलमा नाटक प्रदर्शन भएको स्मरण गर्नुहुन्छ उहाँ । ‘सम्भवतः हृदयचन्दसिंह प्रधानले लेखेको हुनुपर्छ त्यो कथा । राष्ट्रिय नाचघरका कलाकारले उक्त लोकनाटक प्रदर्शन गरेका थिए ।’ यसरी लामो समयदेखि कीर्तिपुरबासीले कीर्र्तिलक्ष्मीको कथालाई गौरवसाथ सुनाउने गरेका छन् ।

कीर्तिपुर आक्रमणका क्रममा पृथ्वीनारायण शाहको गोरखाली सेनाले दुईपटक पराजय बेहोर्नुपरेको थियो । तेस्रोपटकको आक्रमणमा मात्र कीर्तिपुरमाथि गोरखा राज्यले विजय प्राप्त गरेको इतिहास छ ।

कीर्तिपुरसँगको युद्धमा गोरखाली सेनाका तर्फबाट क–कसले लडे भन्ने कुरा इतिहासका पानामा जताततै पढ्न पाइन्छ । तर दुई–दुई पटक गोरखाली सेनालाई धपाउने कीर्तिपुरका योद्धा को–को थिए त ? भन्ने कुरा भने लिखित इतिहासमा चर्चा गरिएको पाइँदैन । आखिर इतिहास जित्नेहरूकै लेखिन्छ ।

गोरखाली फौजसँग लडेका ऐतिहासिक योद्धामध्येकी एक हुन्– कीर्तिलक्ष्मी । लिखित इतिहासका किताबमा वीराङ्गना कीर्तिलक्ष्मीबारे प्रस्ट कुरा लेखिएको पाइँदैन । तर कीर्तिपुरबासीको श्रुति परम्परामा भने कीर्तिलक्ष्मीको साहसका कथाहरु आज पनि बहुप्रचलित छन् ।

कीर्तिलक्ष्मीको प्रतिमा बन्ने

इतिहासका पानामा गुमनाम रहेकी त्यही पात्र कीर्तिलक्ष्मी सिंहको इतिहास उजागर गर्न केही कीर्तिपुरे अगुवाहरू लागिपर्दैछन् । अब कीर्तिपुरमा कीर्तिलक्ष्मीको सालिक स्थापना गरिने भएको छ ।
स्थानीय सामाजिक अगुवाहरूको पहलमा कीर्तिलक्ष्मीको ढुङ्गे प्रतिमा स्थापना गर्न लागिएको हो । प्रतिमा स्थापनाका लागि कीर्तिपुरका संस्कृतिविद् तथा सामाजिक अभियन्ता प्रयागमान प्रधानको संयोजकत्वमा कीर्तिलक्ष्मी प्रतिमा निर्माण तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रदेश ३ का सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिका वडा नं. १, २, ३, ९ र १० का वडाअध्यक्ष सम्मिलित निर्देशन समिति पनि गठन भएको छ ।

कीर्तिलक्ष्मीको सालिक स्थापनाको अवधारणा झण्डै एक दशकअघिदेखि नै छलफलमा ल्याइएको समितिका संयोजक प्रधानले बताउनुभयो । ‘कीर्तिपुरको इतिहासमा एक साहसी नारीको रूपमा रहेकी कीर्तिलक्ष्मीको इतिहास खोजिनुपर्छ भन्ने छलफल हुँदै आएको हो ।

‘केही ऐतिहासिक दस्तावेजमा लेखिएको पनि पाइएको छ ।’ उहाँले भन्नुभयो । अहिलेसम्म आफूले ऐतिहासिक दस्तावेजमा कीर्तिलक्ष्मीसम्बन्धी तथ्यहरूको खोज र अध्ययन गरिएको उहाँले बताउनुभयो । कीर्तिलक्ष्मीको प्रतिमा स्थापना गर्ने अभियान कीर्तिपुरको नागरिक स्तरबाट चलाइएको अभियान हो ।

अहिले प्रदेश ३ सरकारले प्रतिमा निर्माणार्थ १५ लाख रुपियाँ बजेट दिने भएपछि कीर्तिलक्ष्मीको प्रतिमा स्थापना गर्ने योजना साकार हुन लागेको हो ।
प्रतिमालाई कहाँ राख्ने भन्ने निर्णय अझै भइसकेको छैन । कीर्तिपुर डाँडामा रहेको उमामहेश्वर मन्दिरपछाडि रहेको क्वाठ (कोतघर) नजिक राख्ने छलफल भइरहेको जानकारी शाक्यले दिनुभयो । लायकू र कोतघर त्यहीँ नजिक भएकाले इतिहाससँग पनि जोडिने भएकाले त्यहीँ राख्नेबारे छलफल भएको संयोजक प्रधानले बताउनुभयो ।

अभिलेखमा कीर्तिलक्ष्मी

शिलालेखहरूमा कीर्तिपुरका क्वाठनायकहरुको नाम उल्लेख गरिएको पाइएको प्रधान बताउनुहुन्छ । काजीहरूको नाम पनि अभिलेखहरूमा पाइन्छ । तर कीर्तिलक्ष्मीको नाम भने स्पष्ट रूपमा अभिलेख पाइएको छैन ।
उहाँ भन्नुहुन्छ, ‘हारेका राज्यका काजी र सेनानायकहरूको नामसमेत नलेखिने इतिहासमा पुरुषको भेषमा लडेकी नारीको नाम उल्लेख गर्ला भन्ने आशा हामी गर्न सक्दैनौँ । त्यसैकारण कीर्तिलक्ष्मी गुमनाम भइन् ।’

यस्ता शिलालेखमध्ये उमामहेश्वर मन्दिरको पछाडि रहेको सरस्वती मन्दिरको शिलालेखले केही तथ्य उजागर गरेको छ । मन्दिरको अभिलेखमा क्वाठनायक लक्ष्मी सिंहले मन्दिरको मर्मत गरेको भनी उल्लेख रहेको प्रधानले बताउनुभयो । त्यसबाट त्यस ठाउँको कोतनायक लक्ष्मी सिंह रहेछन् भन्ने कुरा पत्ता लाग्ने तर्क उहाँ गर्नुहुन्छ ।
प्रधानका अनुसार क्वाठनायक लक्ष्मी सिंहकी छोरी नै कीर्तिलक्ष्मी हुन् । अर्काे कुरा पाटनमा छ प्रधानको जगजगी रहेको बेलाको एक ऐतिहासिक घटनाले पनि कीर्तिलक्ष्मीको इतिहास उजागर गर्ने उहाँ बताउनुहुन्छ ।

इतिहासकार बाबुराम आचार्यले लेख्नुभएको पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी पुस्तकमा कीर्तिलक्ष्मी सिंहको नाम उल्लेख रहेको छ । पाटनमा राजा रन्जीत मल्लको राज्याभिषेक समारोहमा उपस्थित काजीहरुको नाममा कीर्तिलक्ष्मी सिंह पनि उपस्थित रहेको पाइएको प्रधान बताउनुहुन्छ । त्यतिबेला कीर्तिपुर पाटन राज्यको उपराज्य थियो ।

कीर्तिपुरका क्वाठनायक लक्ष्मी सिंहको प्रतिनिधित्व गर्दै उनकी छोरी कीर्तिलक्ष्मी सिंहले राजाको राज्याभिषेकमा उपस्थित भएको हुनसक्ने उहाँ अनुमान गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘त्यसमा कुन ठाउँको काजी भनी उल्लेख नगरेको हुनाले कीर्तिलक्ष्मी सिंह कीर्तिपुरको हो भनी अनुमान लगाउन सकिन्छ ।’ साथै मल्लकालमा ‘कीर्ति’ शब्द असाध्यै मन पराइएको र यो नाम निकै प्रचलित रहेकाले क्वाठनायक लक्ष्मी सिंहले आफ्नी छोरीको नाम कीर्तिलक्ष्मी राखेको हुनसक्छ भन्नुहुन्छ, प्रधान । शान्ति लामा/गोरखापत्र

थप जानकारी