राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राप्रपाको स्वाभिमान यात्रा शुक्रबारदेखि मुक्तिनाथबाट यात्रा शुरु हुँदै

बिहिवार, २३ जेठ २०७६ ९:१०

२३ जेठ काठमाडौं । नेपाल सरकार समक्ष २२ बुँदे माग राखी चरणबद्ध आन्दोलन गरिरहेको राप्रपा सरकारसंग एक चरणको वार्ता गरेर अर्को वार्ता नहुँदै दोश्रो चरणको स्वाभिमान यात्रामा निस्किएको छ ।

राप्रपाले जेठ २४ गते मुस्ताङको मुक्तिनाथबाट दोश्रो चरणको यात्रा शुरु गर्दैछ, पहिलो चरण अन्तर्गत ताप्लेजुङबाट कञ्चनपुर हुँदै काठमाडौसम्म ३६ जिल्लाको यात्रा गरेको राप्रपाले भोलिबाट शुरु गर्ने यात्रा मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, कास्की, लमजुङ हुँदै जेठ २७ गते गोरखा पुगेर समापन हुने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

दोश्रो चरणको यात्रामा साना ठूला बीस वटा सभाहरु हुने र सबै सभालाई राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि श्रेष्ठले जानकारी दिए ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, राष्ट्रिय अखण्डताको रक्षा, मूल्यवृद्धि नियन्त्रण लगायतका २२ बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्ने, आफ्ना मागका सम्बन्धमा जनमत बनाउने, जनतालाई जागरुक उद्देश्यबाट स्वाभिमान यात्रा भइरहेको बताउँदै श्रेष्ठले यात्रा विभिन्न चरण गरि देशका ७७ वटै जिल्लामा गर्ने उल्लेख गरेका छन् ।

पहिलो चरणको राष्ट्रिय स्वाभिमान यात्रा र जनसंघर्षका विविध गतिविधि सम्पन्न गरेको राप्रपालाई सरकारले चासो लिदै औपचारिक वार्ताका लागि बोलाएको थियो ।

सरकार र राप्रपा बीच पहिलो चरणको वार्ता गत बैशाख १० गते सम्पन्न भएको थियो, दुवै तर्फबाट थप गृहकार्य सहित दोश्रो चरणको वार्तामा बस्ने सहमति भएपनि अर्को वार्ता हुन सकिरहेको छैन । प्रचार विभाग प्रमुख श्रेष्ठले भने राप्रपा सरकारसंग सम्पर्कमा रहेको र दुवै तर्फका वार्ता टोलीका सदस्यका बीच अनौपचारिक भेटघाट, छलफल र गृहकार्य भइरहेको र छिट्टै अर्को वार्ताको सम्भावना रहेको बताउँछन् ।

भोलि शुक्रबार शुरु हुने यात्राका लागि राप्रपा अध्यक्ष कमल थापा, पार्टीका नेताहरू र यात्राका टोली हिजै त्यसतर्फ जाने क्रममा पोखरा पुगिसकेका छन्, यात्राका टोलीहरु आजै जोमसोम पुग्ने कार्यक्रम रहेको छ । शुक्रबार बिहान मुक्तिनाथ मन्दिरमा धार्मिक अनुष्ठान गरि राप्रपाको यात्रा शुरु हुनेछ ।

यात्राको क्रममा हिन्दु र बौद्ध धर्मलाई प्रतिबिम्बित गर्ने पशुपतिनाथ, स्तुपा र फाइबरबाट निर्मित कलात्मक गाइलाई आकर्षक सजावट सहितको रथ बनाइएको छ, पचासौं साना ठूला सवारीका लावालस्करमा भगवानका भजन र राष्ट्रिय गीतको सुमधुर संगीतमय हुनेछ ।

कालीगण्डकी र बुढीगण्डकी लगायत विभिन्न कुण्डका जल संकलन गरि गोरखा लगिने र गोरखामा कलशयात्रा सहित कालिका, गोरखनाथ मन्दिरमा अभिषेक गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए । गोरखामा कलशयात्रा र आमसभा गरि दोश्रो चरणको यात्रा समापन हुने प्रचार विभाग प्रमुख श्रेष्ठले बताएका छन् ।

थप जानकारी