राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

आजको राशिफल, हेर्नुहोस तपाईंको भाग्य

बिहिवार, १२ आषाढ २०७६ ७:२५

आज वि.सं.२०७६ साल असार १२ गते, बिहीबार । इस्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी,५५ घडी ५७ पला,रातको ०३ बजेर ३४ मिनेट उप्रान्त एकादशी । नक्षत्र रेवती,०० घडी ५० पला,बिहान ०५ बजेर ३२ मिनेट उप्रान्त अश्विनी । योग अतिगण्ड,४२ घडी ४९ पला,बेलुकी १० बजेर १९ मिनेट उप्रान्त सुकर्मा । करण वणिज,दिउसो ०३ बजेर ०९ मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर ३४ मिनेट उप्रान्त बव । आनन्दादिमा मित्र योग । चन्द्रराशि मीन,बिहान ०५ बजेर ३२ मिनेट उप्रान्त मेष । विश्व मधुमेह दिवस । पञ्चक समाप्ति । काठमाडौँमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३५ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । विद्यार्थीहरूको आत्मविश्वास जाग्नेछ र मान्यजन तथा अभिभावकको आशीर्वादले काम गर्नसक्ने दिन छ, श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । त्यसैले सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी बन्नेछन् । धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाटको सम्भावना छ । गृहिणीहरूलाई कामधन्दामा सहयोग प्राप्त हुने समय छैन, जेगरे पनि पाखुरी खियाउनै पर्छ, यद्यपि धन, मान र प्रतिष्ठामा कमी हुनेछैन । छात्रछात्राले कर्म गरेअनुरूप भाग्य निर्माण हुने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

प्रेमसम्बन्धमा निरसता छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । स्वास्थ्यप्रति पनि सचेत हुनुहोला । आठौं घरमा रहेको चन्द्रमाको प्रभावले किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, लामो दूरीको यात्रा प्रारम्भ गर्नु हुँदैन । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, बोले/भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । गृहिणीहरूलाई सन्तानपक्षको सहयोग मिल्नेछ । कर्मचारीका लागि पनि समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । परिवारजन र आफन्तजनसँग आत्मीय सम्बन्ध कायम हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । साझेदारीमा गरिएको व्यवसायबाट लाभ लिन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । मनमा शान्तिको अनुभूति हुनेछ । छात्रछात्राको मन सिर्जनात्मकता र व्यवहारिकतातर्फ आकर्षित हुनेछ । गृहिणीहरूले घरायसी समस्या समाधान गर्न सक्नेछन् । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । दूरदराजको यात्राको सम्भावना छ । वैदेशिक प्रयोजनका लागि गरिएको प्रयास सार्थक हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । खासगरी विद्यार्थीहरूले बौद्धिक क्रियाकलापप्रति झुकाव बढाउनु जाति हुन्छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । गृहिणीहरूलाई भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । सन्ततिपक्षबाट पनि खुसीको समाचार प्राप्त हुने छ । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

चौथो घरको चन्द्रमाले मानसिकतामा थोरै विचलन ल्याए पनि प्रणयसम्बन्ध र प्रेमको वातावरण बन्नेछ । सन्तति पक्षको साथसहयोग प्राप्त हुनेछ । घरायसी सुखको अनुकूलता हुनेछ । नातागोता र आफन्तजनसँग भेटघाटको योग छ । दीर्घकालिक प्रतिफल प्राप्त हुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । छात्रछात्राले परिश्रम गरेबमोजिम प्रतिष्ठा प्राप्त गर्नेछन् । कर्मचारीहरूले हाकिम वा विशिष्ट व्यक्तिको सल्लाह र परामर्श प्राप्त गरी रोकिएको काम बनाउने समय छ । सबै जातकको मन बढ्ने योग छ र सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

सामाजिक काममा संलग्न हुनुपर्ला । खासगरी छात्रछात्राले सहकार्यका माध्यमबाट विशेष ज्ञान प्राप्त गर्ने दिन छ । प्रायः सबैले पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सक्नेछन्, आकाङ्क्षा पूर्ण हुनेछन् । आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । धार्मिक/सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मेवामिष्ठान्न र परिकार मिल्नेछ । प्रतिष्ठा बृद्धि गर्ने समय चल्दैछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ । घरायसी परिबन्दले खर्चको मात्रामा बृद्धि हुने सम्भावना छ । गहना, कपडा वा धातुको कुनै वस्तु किन्दै हुनुहुन्छ भने मोलतोल गर्न नबिर्सनु होला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ । आवश्यकता अनुरूप बन्दव्यापारमा समय दिन सकिंदैन । छात्रछात्राले अनावश्यक विवादबाट जोगिने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

मनमा नयाँ आशा जाग्न सक्छ, नयाँ कामको खोजीमा मन लालायित हुनेछ । शिरमा रहेको चन्द्रमाको प्रभाव कमजोर छ, त्यसैले बोलीमा संयमता अपनाउनु होला, किनभने तपाईंको विचार, भावना र इच्छाको कदर हुनेछैन । यद्यपि परिश्रम र आत्मबलले कार्य सफल हुने देखिन्छ तर गरेको काम दीर्घकालसम्म अडिलो नबन्न सक्छ, त्यसैले तुरुन्त पूरा हुने काममा मात्र हात हाल्नु राम्रो हुन्छ । बुद्धि र विवेकको सकेसम्म प्रयोग गर्नु जायज हो, हतारमा गरेको निर्णय फेर्नु पर्ने बाध्यता सिर्जना हुन्छ । सामाजिक र परोपकारी काममा जस पाइँदैन, यद्यपि सहभागी भएमा दीर्घकालिक उपलब्धी हासिल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुपर्छ । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । प्रणयसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । छर–छिमेकमा पनि सानातिना असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु नै ठिक हुनेछ । कल्पना र भावनामा केन्दित भइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक पक्ष सबल बन्नेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीको सहयोगबाट छात्रछात्राले नयाँ ज्ञान प्राप्त गर्ने योग छ ।

थप जानकारी