काठमाडौं, ११ असार । नापी विभागको आयोजनामा भारतीय अधिकारीको बाग्लो उपस्थितिबिच सिमासम्बन्धी छलफल भएको छ।
बुधवार बिहानदेखि जारी छलफल बिहिवार पनि जारी रहने जनाइएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. -३ स्थित पार्कभिलेज रिसोर्टमा नेपालका उच्चपदस्थ अधिकारीसहित ‘दशौं नेपाल-भारत सर्भे अफिसियल बैठक’ चलिरहेको छ।
बैठक परराष्ट्र मन्त्रालयको सहकार्यमा बसेको उक्त बैठकमा नापी विभागका सह-सचिव करुणा केसी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, गृह मन्त्रालयका प्रतिनिधि, शसस्त्र प्रहरीका प्रतिनिधि र भारतीय सीमा सम्बन्धित नापी विभागका चिफ, सहायक-चिफ तथा प्रतिनिधिहरु सहभागी रहेका छन्।
नेपाल सरकारका प्रतिनिधिहरु १७ जना र भारतीय सरकारका प्रतिनिधिहरु १९ जना गरी ३६ जनाको बाग्लो उपस्थितिमा बैठक चलेको स्रोतको दावी छ। उक्त बैठकमा नेपाल-भारत सीमासम्बन्धी छलफल भैइरहेको छ।
स्रोतका अनुसार सीमा गतिविधि बारे बैठकमा समीक्षा हुने र नेपाल-भारत सीमामा रहेको सीमा पील्लर के कति छन् भन्ने बारे छलफल हुने कार्यसूची तय भएको छ।
बैठकमा नेपाल-भारत सीमामा गाडिएका पील्लर मर्मत संभार हुने बारे छलफल भएको तथा अहिलेसम्म कति पील्लर हराए र कहाँ कति सीमा मिचियो भनेर दुवैपक्षले चासो राखेको बताइएको छ। एक सहभागीले बताए, ‘बैठकमा सीमा बारे समग्र समीक्षा हुनेछ।’
बैठकको कार्यसूची अनुरुप नेपाल-भारत सीमामा रहेका २० वटा पील्लर मर्मत भएको बारे गृह मन्त्रालयलाई रिपोर्ट बुझाउने रहेको छ। उक्त कार्यक्रम शुक्रबारसम्म चल्ने छ।