राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

विश्वकप क्रिकेट: पाकिस्तान जितेरपनि बाहिरियो

शनिवार, २१ आषाढ २०७६ ८:३६

एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा पाकिस्तान बंगलादेशलाई ९४ रनले पराजित गरेको हो ।

लिग चरणको अन्तिम खेलमा जित निकालेपनि पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ । बंगलादेश यस अघि नै विश्वकपबाट बाहिरिसकेको छ ।

पाकिस्तानलाई सेमिफाइनल पुग्न बंगालदेशमाथि ३ सय ८ रनको जित आवश्यक थियो । तर, पाकिस्तानले झिनो अन्तरले जित निकालेसंगै न्युजिल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको छ ।

योसंगै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमको टुङ्गो लागेको छ । साविक विजेता अष्ट्रेलियासहित भारत, ईङल्याण्ड र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् । लर्ड्समा पाकिस्तानले दिएको ३ सय १६ रनको फराकिलो लक्ष्य पछ्याएको बंगलादेश ४४ ओभर १ बलमा अलआउट हुँदै २ सय २१ रनमा समेटियो ।

बंगलादेशका लागि शकिब अल हसनले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । योसंगै शकिब एकै विश्वकपमा ६ सय रन बनाउने तेस्रो खेलाडी बने । उनले जारी विश्वकपमा ११ विकेट समेत लिएका छन् ।

यस्तै बंगलादेशका लागि लिटोन दासले ३२, मोहमदउल्लाहले २९ तथा सौम्य सरकारले २२ रन जोडे । बंगलादेशलाई सस्तैमा समेट्न पाकिस्तानका साहिन साह अफ्रिदीले ६ विकेट लिए । यस्तै शहदब खानले २ विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।

पाकिस्तानका इमाम उल हकले शतकीय इनिङ्स खेले । १०० बल खेलेका उनले ७ चौकाको मद्दतले १०० रन बनाए ।  यस्तै बाबर आजमले ९६, इमाद वासिमले ४३, मोहमद हाफिज २७ तथा फखर जमानले १३ रन बनाए ।

बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट लिए ।  यस्तै मोहमद सैफुदीनले ३ विकेट लिए । जितसंगै पाकिस्तान लिग चरणमा पाँचौ स्थानमा रह्यो । पाकिस्तानले ९ खेलबाट ११ अंक जोड्यो । ११ अंक जोडेपनि न्युजिल्याण्ड नेट रन रेटको आधारमा सेमिफाइनलमा पुग्यो ।

बंगलादेश ९ खेलबाट ७ अंक जोड्दै सातौं स्थानमा रह्यो ।

थप जानकारी