राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

नेपाली तरकारी भारत लैजान कति मुश्किल ? यसरी नाकामै कुहिन्छन् नेपाली जडिबुटी र तरकारी

आइतवार, २२ आषाढ २०७६ ८:५२

भारतले वेला–वेला विषादी तथा गुणस्तर परीक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडीबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ ।

नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको छ । अहिले पनि नेपालका ७९ जडीबुटी निकासीमा रोक लगाएको छ ।

नेपालबाट निकासी हुने कृषि, खाद्य र पशुपक्षीलगायतको जीवाणु तथा विषादी जाँच गर्ने प्रयोगशाला भारतीय नाकामा पनि छैन । त्यसैले नमुना बोकेर कोलकाता, पटना र लखनउ लैजानुपर्ने बाध्यता छ । ती ठाउँमा लगेर परीक्षण गर्दा रिपोर्ट आउन एक सातासम्म लाग्ने भएकाले कैयौँपटक नेपालका कृषिवस्तुहरू नाकामै कुहिने र बिग्रने गरेका छन् ।

त्यस्तै, भारतीय प्रहरी तथा कर्मचारीले नेपाली निकासीकर्तासँग अवैध रूपमा प्रतिट्रक ५० हजार रुपैयाँसम्म लिन्छन् । विभिन्न बहानमा भारतीय प्रहरी र भन्सार कर्मचारीले प्रतिट्रक ४०–५० हजार रुपैयाँसम्म अतिरिक्त पैसा लिने गरेको नेपाली निकासीकर्ताहरू बताउँछन् ।

भारतले विभिन्न प्रकारका कर लगाएरसमेत नेपालको निकासीलाई प्रभावित पार्दै आएको छ । डिसेम्बर २०१६ देखि नेपालको जुटमा काउन्टर भ्यालु ड्युटी (प्रतिकारात्मक कर) लगाएको कर नेपाल सरकार र निजी क्षेत्रको पटक–पटकको आग्रहपछि अप्रिल २०१७ देखि लागू हुने गरी हटायो । तर, एन्टीडम्पिङ ड्युटी भने अझै कायम नै राखेको छ ।

भारतले वनस्पति घिउ, एक्रिलिक यार्न (धागो), कपर र जिन्कअक्साइड निर्यातमा समेत कोटामा आधारित भन्सार दर निर्धारण गरेको छ ।

भारतले ३० प्रतिशतभन्दा कम मूल्य वृद्धि भएको नेपाली वस्तुमा समेत भन्सार लगाउने गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा बुटवलमा विष्णु घिमिरे, काठमाडौंमा कृष्ण रिजाल र अजित अधिकारीले लेखेका छन् ।

थप जानकारी