राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

नेपाली विश्वविद्यालयको सर्टिफिकेट अफ्रिकामा पनि बिक्री

शुक्रवार, २७ आषाढ २०७६ १०:३५

काठमाडाै‌ । एक अफ्रिकी नागरिकले पूर्वाञ्चल विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) लिएको भेटिएको छ। दक्षिण अफ्रिकाका तिलाहुन गन मुलुसेवाले बिई-सिई (ब्याचलर इन इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ) को नक्कली सर्टिफिकेट लिएको फेला परेको हो।

मुलुसेवाको सर्टिफिकेटमा उनले काठमाडौंको सीतापाइलास्थित एक्मी इन्जिनियरिङ कलेजमा अध्ययन गरेको उल्लेख छ। एक्मी पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो।

सर्टिफिकेटमा विश्वविद्यालयको रजिस्टर नम्बर ०१८–३–२–०११०१–२००४ उल्लेख छ भने विश्वविद्यालयका चान्सलरको हस्ताक्षर छ । तर, नाम भने उल्लेख छैन । उनी सन् २००४ मा कलेज भर्ना भएको सर्टिफिकेटमा उल्लेख छ । बिईको आठ सेमेस्टर अध्ययन गरेका उनी ३ अक्टोबर ००८ मा बिई उत्तीर्ण भएको सर्टिफिकेटमा देखिन्छ ।

प्रहरीको अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी केदार ढकालले शैक्षिक प्रमाणपत्रको सम्बन्धमा अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने बताए । उनले भने, ‘प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

अनुसन्धान जटिल भएकाले यस सम्बन्धमा थप नबोलौँ ।’ एक्मी इन्जिनियरिङ कलेजका प्रधानाध्यापक प्रदीप पौडेलले भने तिलाहुन गन मुलुसेवा नाम गरेको विद्यार्थीले आफ्नो कलेजमा अध्ययन नगरेको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

थप जानकारी