राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

निको हुन्छ हेपाटाइटिस बी

बुधवार, १५ साउन २०७६ १०:४९

काठमाडौँ, साउन १५ गते । हेपाटाइटिस भन्नासाथ तर्सने गरिन्छ । हुन पनि नेपालमा हेपाटाइटिस बीका बिरामी दुई लाख ५० हजार छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वको कुल जनसङ्ख्याको शून्य दशमलब आठ प्रतिशतलाई हेपाटाइटिस बी रहेको अनुमान छ । मानिसलाई अत्याउने खालको रोग भए पनि उपचारबाट निको हुने रोग हो हेपाटाइटिस बी ।

वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्मा औषधि खाएपछि यो रोग निको हुने बताउनुहुन्छ । उहाँका अनुसार हेपाटाइटिस बी भाइरसबाट सर्ने रोग हो र हेपाटाइटिस लागिसकेपछि त्यसको सङ्क्रमण बढ्न नदिनलाई नियमित औषधि सेवन गर्नुपर्छ ।

वीर अस्पतालमा कार्यरत कलेजो रोग विशेषज्ञ डा. विकास जैशीले हेपाटाइटिस बी लाग्दैमा आतिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले हेपाटाइटिसको उपचार सम्भव भएको भन्दै औषधि भने कम्तीमा १० देखि १२ वर्षसम्म सेवन गर्नुपर्ने बताउनुभयो ।

विश्वमा हाल ४० करोड मानिसमा हेपाटाइटिस बी रहेको अनुमान छ । तीमध्ये ९० प्रतिशतलाई हेपाटाइटिस लागेको थाहै हुँदैन । डा. जैशीका अनुसार हेपाटाइटिस बीको सङ्क्रमण बढ्दै जाँदा लिभर सिरोसिक र कलेजो ‘फेल’ हुने सम्भावना रहेको बताउनुभयो । उहाँले १० प्रतिशतले मात्र हेपाटाइटिस लागेको थाहा पाउने गरेको जानकारी दिँदै १० प्रतिशतमध्ये दुई प्रतिशतको कलेजो फेल हुने तथा कलेजोमा क्यान्सर हुने बताउनुभयो ।

अर्का वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. अनन्त श्रेष्ठका अनुसार सन् १९८० को सुरुबाट हेपाटाइटिस बी विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यस रोगको महामारीमा कमी आएको छ । यसैबीच नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व हेपाटाइटिस दिवस मनाइएको छ ।

थप जानकारी