राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

साउने सोमबार ब्रतको आज समापन

सोमवार, २७ साउन २०७६ १८:२६

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् ।

काठमाडौंको पशुपति, सानो पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ ।

विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोते लगाउने गर्दछन् ।

थप जानकारी