राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

गौ हत्या पाप हो

बिहिवार, ३० साउन २०७६ १६:०९

राधिका जोशी

अवस्य पनि गौ हत्या पाप हो । हिन्दुधर्ममा गौ लाई माताको रुपमा लिइन्छ । पुजा गरिन्छ । गाईको दुध दहि मात्रै होइन पिसाव र गोबर पनि शुभ कार्यमा प्रयोग गरिन्छ । त्यसैले त कसैले गाई काटेर खाएको सुन्ने बितिक्कै हामीहरु तीन बित्ता माथि बुरुक्क बुरुक्क उफ्रिदै फेसबुक अर्थात, सामाजीक संजालमा कराउन थाल्छौ– गाई काट्नेलाई काट्नुपर्छ । मृत्यु दण्ड दिनु पर्छ । हो अवस्य पनि गाई काट्ने लाई दण्ड दिनै पर्छ । तर माहुरीले फूलको रस चुसे झै गरी गाई पालेर त्यो गाईले दुध दिँदा सम्म दुध खाने अनि बुढेसकालमा बेवारिसे छोड्नेलाई के गर्ने ? गाईहरू सडकमा भोकै, प्यासै, जाडोले, बर्षाले तड्पीएर, छट्पटाएर मरिरहेका छन् ।

अझ कतिपय ठाउँमा त गाई लाई व्यवस्थीत गर्छाै भन्दै जंगलमा तारबार लगाएर राखिएको छ । तर,उनिहरुकालागि दाना पानीको र गोठको व्यवस्था किन गरिदैन । के तिनलाई पेट भरी खान नदिनु पाप होइन ? के उनिहरुले ओत लागेर बस्न नपाउनु पाप होइन ? के रात दिन भोकै प्यासै तड्पिएर मार्नु पाप होइन ? म आज तपाईहरु सम्पुर्ण गाई मार्नु हुन्न भनेर उफ्रिने र गौ रक्षा गर्छौ भन्दै हिड्ने गौभक्तहरुबाट यि सबै प्रश्नको उत्तर चाहन्छु । यसको पाप कसले बोक्छ ?

विश्वमै एकमात्र हिन्दु राष्ट्र थियो नेपाल । धर्मका लागि झै झगडा र मनमुटाव थिएन । सवै धर्मले ठाउ पाएको थियो थियो । कसैलदे कसैलाई हेप्ने र हप्काउने प्रवृत्ति थिएन । यो फलानो धर्मको उ फलानो धर्मको मान्छे भन्ने खासै कुरा उठ्थेन । किनकी यो राष्ट्र हिन्दु राष्ट्र थियो । अरु धर्म मान्नेहरु पनि मान मर्यादामा बसेका थिए । अहिले जस्तो खलेआम पैसाको धर्मनीति भएको देखिन्थेन । तर, अहिले ति सब हराइ सकेका छन् । एउटै घरमा फरक फरक धर्म मान्नेहरु छन् । पैसामा धर्म बिकिरहेको छ । आफ्नो संष्कृति परम्परा हराउँदै गएको छ भने बिदेशी संष्कृति हावी भएको छ । यस्तो अवस्थामा यो मुलुकमा कसरी गाई संरक्षण हुन सक्ला ? अझ हरेक गोठभित्र होलेस्टन गाईहरु संरक्षण हुदै छन् । लोकल गाईलाई गोठबाट हटाएर सडकमा, जंगलमा पु¥याइएको छ । पुर्खौ देखी पालीएका गाईहरुको नामो निसान मेटाएर जर्सि भन्दै बिकासे गाईहरु पालिएका छन् । मैले ति गाई नपाल्नुस भनेको होइन तर पहिले आफ्नो गोठमा भएका गाईहरुको संरक्षण गरेर मात्र बाहिरको गाई भित्रेयाउनु पर्छ भन्ने मेरो मान्याता हो ।

सक्छौ आफु संग भएका गाईहरुको पालन पोषण गर हैन भने सडकमा छाडा छाड्ने कार्य पनि नगर । अझ, यस्तो अवस्थामा गौमाताको संरक्षण गर्ने भन्दै ठूला भाषण दिनेहरु तिम्रो गोठमा छिरेर कसैले जबरजस्ती गौहत्या गर्दैन ? गोठमा होलेस्टन बाँधेका छौ । लोकल गाईलाई सडकमा मिल्काएकाछौ अनि फेसबुकमा गौमाताकी जय भनिरहेका छौँ । गौ तस्करी रोके भनेर नाक फुलाईरहेका छौ तर त्यही गाई खाना र पानीको अभावमा छट्पटाई छट्पटाई मरेको देखिरहेका छैनौ । यो कस्तो मुढता हो ? र यो कस्तो गौभक्ति हो ?

गौ तस्करी रोक्नु मात्रै हाम्रो दायित्व हो ? सडकमा छाडीएका गाई र तिनका बाच्छाहरूको व्यवस्थापन, हेरचाह र सेवासुसार हाम्रो दायित्व होईन ? तिनीहरूको जीवन हाम्रो नजरमा अमूल्य छ भने भोक र प्यासको श्रापले ग्रस्त किन बनाइरहेका छौ ? यसलाई हाम्रो शास्त्रले पाप मानेको छ कि छैन ? गोठमा बाँधेको गाईलाई सडकमा खेदाएर आश्रयहिन बनाउनु पाप हो कि होईन ?
गौमाताप्रति गहिरो श्रद्धा राख्छौ भन्दै हिड्नेहरु हो सक्छौ खाना र पानीको अभावमा जाडो र वर्षाले चुटिएर मर्न बाध्य पारिएका गाईलाई फेरि लगेर आफ्नो गोठमा बाँध्ने आँट गर । अनि चोरी छिपी भइरहेको गाई तस्कर रोक ।

सोमबार मात्रै सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका हुदै लगेका ८ वटा गाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा वुझाईएको छ । आईतवार मध्यान्हको समयमा वराहक्षेत्र नगरपालिकाका विभिन्न स्थानमा खरिद गरि रक्ताम्य अवस्थामा म्याजीक पीकअप भेनमा इनरुवा तर्फ लैजादै गरेका ती गाईहरुलाई सन्त श्रीनिवासाचार्यको पहलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगियो । यसरी खुलेआम गाई तस्कर गर्दा समेत प्रशासन मौन छ ।

प्रहरी कार्यालय महेन्द्रनगरका ईन्चार्ज शरण कुमार दाहालले गाई ओसार पसार कानुनि रुपमा वर्जित नगरिएको भन्दै किनवेचकै आधारमा दण्डित गर्न नमिल्ने वताए । यसरी गार्यको हरेक दिन हाम्रै आँखा अगाडी तस्कर भइरहेको छ । छाडा छाडिएका गाईहरु जतिवेला जुन ठाउँबाट पनि तस्कर गर्न सहज भएको छ ।
उसो त यि र्गाइहरु तिमी हामीमा पलाएको पैसाको लालचको शिकार भएका हुन् । सडकमा जति पनि स्थानीय गाई देखिएका छन् ती सबै तपाई हाम्रै गोठबाट धपाईएका हुन् ।

कारण स्पष्ट छ– स्थानीय गौमाताको भक्ति गर्दा हामीलाई आर्थिक लाभ भएन । पश्चिमाहरूले माशु र दुधको मात्रा बढाउन प्रविधिको प्रयोग गरेर उत्पन्न गरेको विकासे गाईको सेवा गर्छौ । त्यसैले मलाई लाग्दैन, यि विकासे गाईको हाम्रो धार्मिक आस्थासँग कुनै सरोकार छ । त्यसैले म भन्न चाहन्छु आफ्नो गोठमा भएका स्थानीय गाईको बिचल्ली नपार । आर्थिक लालच र बिकासे गाईको प्रलोभनले हाम्रो शास्त्रले मान्दै आएको गाईको नामो निसान नमेटाउ ।

भगवान श्रीकृष्ण गोठालो भएर हिडेका पनि तिनै स्थानीय गाईकै जाती हो नकि विकासे गाई । र हाम्रो शास्त्रले मान्यता दिएको पनि तिनै स्थानीय जातका गाईको गहत र गोबरलाई हो नकि गोठमा पालेर दानापानी खुवाएर पालेका गाईले दिएको त्यो गन्हाउने गहत र गोवरको । मैले भन्न खोजेको बिकासे गाई पाल तर स्थानीय गाइलाई हेला नगर । स्थानीय गाईको महत्व बुझ्ने प्रयास गर । जस्को पिसावमा मात्रै हामीमा भएका अनेक रोग संग लड्ने क्षमता छ । जसको दुधमा आमाको दुधमा पाइने तागत छ । त्यस्तो गाईको हेला हैन संरक्षण गर । तस्कर होइन जोगाएर राख ।

थप जानकारी