राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

रवि पत्नी निकिताले दिइन् चितवन प्रहरी प्रमुखसहित तीन जनाविरूद्ध जाहेरी

बुधवार, ४ भाद्र २०७६ १५:०५

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पुडासैनीको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी छिन्।

पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिएकी हुन्।

उनले कीर्ते गरेकोमा हदैसम्मको सजाय माग्दै तीन जनाविरुद्ध जाहेरी दिएको परिसरले जनायो।

‘जाहेरीमा उल्लेख भएका विषय हेरिरहेका छौं, के कसो गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं,’ परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने।

पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ।

पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए।

थप जानकारी