राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

मेस्सी बिना नै बार्सिलोनाकाे शानदार जित

सोमवार, ९ भाद्र २०७६ ८:२२

एजेन्सी । आफ्नो मुख्य खेलाडी कप्तान लियोनल मेस्सी र लुइस स्वारेज बिना नै बार्सिलोनाले शानदार जित निकालेको छ ।

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा साविक विजेता बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । लिगको पहिलो खेलमा बार्सिलोना एथ्लेटिक बिल्वाओसँग १-० ले पराजित भएको थियो ‌।

आफ्नै घरेलु मैदानमा बार्सिलोनालाई शानदार जित दिलाउनका लागि नयाँ खेलाडी एन्टोनी ग्रीजम्यान नायक बने । उनले खेलमा २ गोल गरे भने बाँकी ३ गोल कार्लेस पेरेज, जोर्डी अल्बाले र अर्टुरो भिडालले समान एक/एक गोल गरे ।

बार्सिलोना सुरुमा पछि परे पनि खेल उल्ट्याउँदै सहज जित निकाल्यो । खेलको १५ औँ मिनेटमा नै बेटिसले गोल गर्दै अग्रता लिएको थियो । उसका लागि नयाँ खेलाडी नविल फकिरले दर्शनीय गोल गरेका थिए ।

खेलको ४१औं मिनेटमा बार्सिलोनाका लागि ग्रीजम्यानले गोल गर्दै खेल १–१ बनाए ।

पहिलो हाफमा एक/एक गाेलकाे बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल थप्यो । दोस्रो हाफ सुरु भएको ११ मिनेटभित्र बार्सिलोनाले ३ गोल गरेसिकेको थियो ।

दोस्रो हाफ सुरु भएको ५ मिनेटमै ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै २-१ गोलको अग्रता बनाए । ५६औं मिनेटमा पेरेजले र ६० औं मिनेटमा अल्बाले गोल गरेपछि बार्सिलोनाले ४–१ गोल अन्तरको अग्रता बनायो ।

खेलको ७७औं मिनेटमा भिडालले दर्शनीय गोल गर्दै बार्सिलोनालाई ५-१ गोल अन्तरको अग्रता दिलाए । तर, भिडालले गोल गरेको २ मिनेटमै बेटिसले एक गोल फर्कायो । ७९औं मिनेटमा लोरेन्जोले गोल गर्दै गोलअन्तर छोट्ट्याए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल भएन ।

यो जितपछि बार्सिलोनाले ३ अंकसहित नवौं स्थानमा उक्लिएको छ ।

कप्तान मेस्सी प्रशिक्षणको क्रममा घाइते भएका थिए भने स्वारेज लिगको पहिलोमा चोट लागरे मैदानबाट बाहिरिएका थिए।

थप जानकारी