काठमाडौँ । आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालत चितवनबाट पाँच लाख धरौटी बुझाएर छुटेका सञ्चारकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखे ।
सभामा हजारौँ उपस्थित त थिए नै, राजनीतिक दलले गर्ने आमसभाकै झल्को दिने उक्त सभाका सहभागी भने फरक फरक सामाजिक र राजनीतिक पृष्ठभूमिका देखिन्थे ।
बुधबार काठमाडौँ फर्केका सञ्चारकर्मी लामिछानेलाई पछ्याउनेको भिड पनि उस्तै थियो । फौजदारी अभियोगमा मुद्दा खेपिरहेका सञ्चारकर्मीलाई पछ्याउने यति ठूलो संख्या कसरी निर्माण भयो ? रविलाई पछ्याउनेहरु सामान्य प्रशंसक मात्रै हुन् वा राजनीति, विधि र व्यवस्थाबाट दिक्क भएकाहरुको जनमत हो ?
राजनीतिकशास्त्री कृष्ण खनालको बुझाइमा सामाजिक सञ्जालको माध्यमबाट जोडिएका र त्यसैबाट रविलाई पछ्याइरहेको समूहलाई सामान्य ठानेर नजरअन्दाज गर्न मिल्दैन ।
‘रविलाई पछ्याइरहेको र यही मुद्दामा जोडिएर आफ्नो मत राखिरहेको ठूलो समूहलाई परम्परागत राजनीतिबाट वितृष्णा भइरहेको जनमतको रुपमा पनि बुझ्न सकिन्छ,’ उनले भने ।
खनालको बुझाइमा राजनीतिक दलहरु परम्परागत सोचाइका छन्, जबकि नयाँ पुस्ता प्रविधि, सञ्चार र सामाजिक सञ्जाल सम्पर्कले बदलिइसकेका छन् । धेरैजसो नेताहरु बदलिँदो दुनियाँबारे जानकार छैनन्, नयाँ प्रविधिबारे ख्याल छैन ।
केही-केही सामाजिक सञ्जालमा छिरेका त छन्, तर त्यो पनि अरुको सहयोगमा । उनीहरुमा समयअनुसार बललिने सोच र सिक्ने चाहना दुबै देखिँदैन,’ उनले भने । यस्तो पृष्ठभूमिमा टेलिभिजन, सामाजिक सञ्जाल र युट्युबमार्फत् लामिछाने जबर्जस्त रुपमा उदायका हुन् भनेर यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।